कामीरिता २३ औं पटक सगरमाथा चढ्दै

सुरज कुँवर

काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सोलुखुम्बुका कामीरिता शेर्पा आउँदो वसन्तकालमा फेरि आरोहणमा जाने भएका छन् । शेर्पाले फागुनपछि सुरु हुने वसन्तकालीन सिजनमा आफू सगरमाथाको २३ औं आरोहण गर्न तयार रहेको बताए । ‘यसपालि २३ औं पल्ट सगरमाथा चढदै छु,’ उनले भने, ‘सबै तयारी करिब–करिब सकिइसकेको छ । मार्च अप्रिलमा सगरमाथातिर लाग्छु होला ।’ 

तस्बिरः एपी

गत वर्ष जेठमा २२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका शेर्पाले आफू काठमाडौंस्थित सेभेन समिट ट्ेरक्स कम्पनीसँग अनुबन्धित भएको बताए । ‘सेभेन समिटले मलाई वार्षिक ३० हजार डलरमा अनुबन्ध गरेको छ,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘यो रकममध्ये २० हजार डलर सगरमाथाका लागि हो भने १० हजार डलर मनास्लु हिमाल आरोहणका लागि हो । सेभन समिटसँग कामीरिताको दुई वर्षको अनुबन्ध छ । यो सम्झौता अबको हिउँद याममा सकिनेछ ।

सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढ्नेछन् । कामीरिता यसअघि अमेरिकन कम्पनी अल्पाइन एसेन्टमा थिए । सेभेन समिट ट्रेक्सले ३० हजार डलरको अफर गरेपछि उनले कम्पनी बदलेका हुन् । आरोहण गराउने ट्रेकिङ कम्पनीहरू शेर्पाहरूलाई ७ लाखदेखि माथि अफर गर्छन् ।

केही वर्ष अघिसम्म शेर्पाहरूले एउटा आरोहणका लागि २/३ लाख रुपैयाँ मात्रै कमाउँथे । ‘सगरमाथा चढेर फर्केपछि अमेरिका जाने कार्यक्रम छ,’ कामीरिताले भने, ‘तलतिर (अमेरिका) को नागरिकता लिन मन छैन तर भिजिट भिसामा हरेक वर्ष गइरहन्छु होला ।’ ४९ वर्षीय कामीरिताले आफू नेपाल छाडेर बिदेसिने मुडमा नभएको बताए । गत वर्ष २२ औं पटक सगरमाथा आरोहणपछि उनी एक महिना अमेरिका घुमेर फर्केका थिए ।

गत वर्षसम्मको सरकारी तथ्यांकअनुसार ५ हजार हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन् । पछिल्ला वर्ष ४ सय हाराहारी आरोही सगरमाथा उक्लिन्छन् ।

२०७३ सम्म २१ औं पटक सगरमाथा आरोहण गर्नेमा आप्पा शेर्पा र फुर्बा तासी शेर्पा थिए । सबैभन्दा पहिले आप्पा शेर्पाले २०६८ मा र फुर्बा तासीले २०७० मा २१ औं पटक आरोहणको रेकर्ड बनाएका थिए । यी दुईकै हाराहारीमा कामीरिताले ०७४ मा २१ औं पटकको रेकर्ड राखेका थिए भने ०७५ जेठमा आफ्नै गाउँका दाजुभाइ आप्पा र फुर्बा तासीको रेकर्ड ब्रेक गर्दै उनी विश्वकै अग्लो चुचुरोमा सर्वाधिक पुग्ने आरोही बनेका थिए ।

२४ वर्षको उमेरमा २०५१ देखि हिमाल उक्लिन थालेका उनले पाकिस्तान र भारतको सीमामा रहेको केटु हिमाल पनि आरोहण गरिसकेका छन् । उनले ल्होत्से एक पटक, मनास्लु २ पटक र छोयु ८ पटक आरोहण गरिसकेका छन् । उनी दुई सन्तान, पत्नीसहित काठमाडौंको चाबहिलस्थित भृकुटीचोकमा डेरामा बस्दै आएका छन् ।

प्रकाशित : माघ २२, २०७५ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

३३ किलो सुन प्रकरण : दुबई बसेर नेपाल सुन पठाउने हरि खड्का पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्।

उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।

को हुन हरिशरण?
२१ पौषमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल बाहिर बरामद गरेको थियो।

सुन तस्करीमा संग्लन देखिएका १२ जनालाई ब्युरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो भने तस्करीमा सामेल रहेको १९ जनालाई ब्युरोले फरार अभियुक्तको सुचीमा राखेको थियो। तिनै मध्येका एक हुन्, हरिशरण खड्का।

दुबईबाट अवैध रुपमा नेपाल सुन पठाउने मध्ये ५ जना नेपाली सक्रिय रहेको र त्यसमध्ये एक जना हरिशरण नै रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ। ब्युरोको अनुसार काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का पछिल्ला केही वर्षयता दुबईमा बसेर कारोबार गरिरहेका छन्। ३३ केजी सुन तस्करीका मुख्य मालिकमध्ये हरिशरण पनि एक रहेको ब्युरोको निष्कर्ष छ।

सामान्य किसान परिवारका खड्काको पछिल्लो समयमा उक्लिदो आर्थिक ग्राफ उनका छिमेकी र नातेदार समेत जिब्रो काट्छन्। ब्युरोले गरेको अनुसन्धानले खड्काको एभरेष्ट बैंकको खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात देखाएका छ।

दुबईमा बसेर सुन तस्करीमा संग्लन रहेको खड्काले चलाल गणेस्थानका कैयन युवालाई कामका निम्ती दुबई पठाएका देखिन्छन्। खड्काका छिमेकीका अनुसार नेपाल आउने तयारीमा रहेको खड्का सुन बरामदीको घटनापछि पक्राउ परिने डरले नेपाल आएनन्। यही बिचमा आमाको मृत्यु भएपनि खड्का नेपाल नआई दुबई नै बसे।

प्रकाशित : माघ २२, २०७५ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्