२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२ रुपैयाँमा पनि बिकेन बन्दा

रमेशकुमार पौडेल

चितवन — नारायणगढ बजारमा आइतबार उपभोक्ताले तिर्ने बन्दाको मूल्य प्रतिकिलो ३० रुपैयाँसम्म थियो । नारायणगढदेखि पूर्व चैनपुर ज्यामिरेमा त्यही बन्दा प्रतिकिलो १० रुपैयाँमा बिकेको थियो । पर्सा बजारमा उपभोक्ता मूल्य २० रुपैयाँसम्म थियो । ज्यामिरे र पर्साको लभगभ बीचमा छ, खैरहनी नगरपालिका ६ को तुलसीपुर गाउँ । त्यहाँका किसानको खेतको बन्दा दुई रुपैयाँ किलोमा पनि बिक्न गाह्रो भएको छ ।

२ रुपैयाँमा पनि बिकेन बन्दा

तुलसीपुरका पुरन महतोले डेढ बिघामा बन्दा लगाएका थिए । बिक्रीका लागि २० दिनअघि नै बन्दा तयार भएको हो । उनले अघिल्लो वर्ष पनि बन्दा लगाएका थिए । त्यो बेला प्रतिकिलो १४ देखि १७ रुपैयाँसम्म मूल्य आएको थियो । तर यो वर्ष अहिलेसम्म उनले एक किलो बन्दा बेच्न सकेका छैनन् । अब बन्दा बिक्री हुने आशा लगभग सकिएको छ । त्यसैले उनले शुक्रबार दिउँसो एक्साभेटर चलाएरै खेतबाट बन्दा हटाए ।


‘दुई रुपैयाँ किलो लैजाउ भन्दा पनि बिक्री भएन । अब बन्दा नहटाउने हो भने बोडी, करेला, घिरौंला लगाउन अबेला हुन्छ । त्यसैले हटाउनै पर्ने भयो,’ महतोले भने । हटाउन पनि खेताला नै लगाउनुपर्ने हुन्छ । बन्दा हटाउनै तीन/चार हजार रुपैयाँ थप खर्च हुने भएपछि उनी दिक्दार थिए । चाँडो हुन्छ भनेपछि एक्साभेटर चलाए । एक्साभेटरले ४० मिनेटमा हटायो, १५ सय रुपैयाँ खर्च भयो ।


‘एक गाडी बन्दा पाँच हजार रुपैयाँमा दिनुपर्‍यो भनेर फोन आएको थियो । तर काटेर हामी आफंैले गाडीमा लोड गर्दिनुपर्ने रे । त्यसो गर्दा खेताला खर्च हुन्छ । दुई हजार खेतालालाई दिनुपर्छ । एक गाडीमा तीन टन बन्दा अट्छ । हजार रुपैयाँ टन पर्न आयो,’ पुरनले भने । पाँच हजार रुपैयाँ देऊ, आफैं काटेर लैजाऊ भन्दा बन्दा बिक्री नै नभएको उनले बताए । बन्दाको बजार र भाउ बुझ्न उनी काठमाडौं कालिमाटीसम्म पुगे ।


‘माघ ४ गते म कालिमाटी पुगेँ । त्यहाँका व्यापारीले बन्दा, काउली, भ्यानन्टा त ल्याउँदै नल्याऊ भने,’ पुरनले सुनाए । कालिमाटी थोक बजार बाहिर प्रतिकिलो ३० रुपैयाँका दरले धमाधम बन्दा बिक्री भएको थियो । आफूले दुई रुपैयाँमा पठाउन खोज्दा पनि बिक्री नभएको देख्दा रुन मात्र नसकेको पुरनले सुनाए । डेढ लाख रुपैयाँ खर्च गरेर उनले डेढ बिघामा लगाएको बन्दा यो वर्ष त्यसै नोक्सान भयो ।


‘नहटाईकन बन्दामाथि नै ट्रयाक्टर लगाउँदा पछि कुहिएर अरू बालीलाई नोक्सान गर्छ । त्यसैले हटाउनै पर्छ । यो हटाउन पनि खर्च नै लाग्छ,’ पुरनले भने । गाईवस्तुलाई धेरै ख्वाए चिसो हुने हुँदा हटाउनुको विकल्प नभएको उनी बताउँछन् । बन्दा मात्रै किन यो पटक केराउको हालत पनि उस्तै छ । बजारमा प्रतिकिलो ८० रुपैयाँका दरले केराउ कोसा बिक्री हुन्छ । तुलसीपुरका किसान सोहरा महतोले प्रतिकिलो २० रुपैयाँ पाउने भएका छन् ।


‘टिप्ने बेलामा ज्याला नै प्रतिकिलो १० रुपैयाँ खर्च हुन्छ । अरू खर्च अनगिन्ती छ, मूल्य २० रुपैयाँ पर्ने भयो,’ सोहराले भने । त्यहाँका तरकारी किसान चैनपुर ज्यामिरेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारीमा आबद्ध छन् । यो सहकारी चितवनकै प्रमुख तरकारी सहकारी हो ।


यसमा आबद्ध किसानको संख्या ३ सय ६५ घर रहेको अध्यक्ष पूर्णदत्त भुसालले बताए । यहाँको मुख्य उत्पादन नै बन्दा हो । भुसालका अनुसार अघिल्लो वर्ष एक करोड रुपैयाँको बन्दा बिक्री भएको थियो । किसानले सरदर प्रतिकिलो १३ रुपैयाँ मूल्य पाएका थिए । तर यो वर्ष बन्दा मात्रै नभएर सबै खाले तरकारीको मूल्य आएन । बजारमा उपभोक्ताले महँगो तिरे पनि किसानले मूल्य नपाएको भुसालले बताए । ‘हाम्रो केराउ पोटिलो हुन्छ, कोसामा ८/१० वटा दाना हुन्छन् । भारतीय केराउ हाम्रो भन्दा निकै सस्तो छ । तर ४/५ दाना पनि हुँदैन । बजारमा भारतीय केराउ बिक्री भइरहेको छ,’ किसान सोहराले भने ।


बिक्री नहुने भएका कारण व्यापारीले तरकारी नै नउठाउने उनले बताए । ‘रोग आए, पानी परे, हुरी आए, असिना आए हामीलाई नै मार हो । मूल्यको मार पनि हामीलाई नै हो । व्यापारीले त फाइदा भए मात्र उठाउँछ,’ उनले भने ।

कुनै बेला दुई बिघामा तरकारी खेती गर्ने उनी अहिले २५ कठ्ठामा खुम्चेका छन् । यस्तो नोक्सान हरेक वर्ष हुने गरेको सोहरा सुनाउँछन् । ‘बन्दा यो पटक मात्रै हैन यसअघि पाँच पटक मैले जोतिसकेँ । बन्दा घटाउँदै लगेर अरू लगाएको त्यसको पनि हालत उस्तै भयो,’ सोहराले भने ।


किसानले मूल्य नपाए पनि बजारमा भारतबाट तरकारीहरू नआएको नारायणगढको थोक तरकारी बजारका सञ्चालक थिरप्रसाद भुसाल बताउँछन् । ‘यही उत्पादन धेरै छ । भारतबाट बन्दा, काउली, केराउ ल्याउनु पर्दैन । अहिले बिहेको सिजनको चाप पनि छैन । चिसो पनि छ । त्यसैले बजारमा खपत नभएका कारण मूल्य नआएको हो,’ भुसालले भने ।

प्रकाशित : माघ १४, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?