लार्चा बन्दरगाह निर्माण अन्तिम चरणमा

अनिश तिवारी

लार्चा (सिन्धुपाल्चोक) — चीनको आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तर सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ । २०६९ सालमा सुरु भएको बन्दरगाहको निर्माण भूकम्पपछि रोकिएको थियो ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको वडा ३ को लार्चास्थित सुक्खा बन्दरगाहको संरचना । तस्बिर : अनिश/कान्तिपुर 

चिनियाँ रेलवे कन्ट्रक्सन कम्पनी (सीआरसीसी) ले बढीमा आउँदो चार महिनामा निर्माण पूरा गर्ने जानकारी दिएको छ । चिनियाँ प्राविधिक हु जी गोका अनुसार बन्दरगाहको काम ९० प्रतिशत सकिएको छ ।

मितेरीपुलदेखि करिब ५ किमि पश्चिम भाटेकोसी गाउँपालिकाको लार्चामा निर्माण भइरहेको बन्दरगाहमा १ सय ५८ वटा ठूला मालबाहक कन्टेनर जाँच गर्न सकिनेछ । बन्दरगाहमा ६० देखि सय मेट्रिकटन बोकेको मालबाहक कन्टेनर एकैपल्ट तौलिने यन्त्र जडान गरिनेछ । ‘अहिले भन्सार परिसरको कर्भड हल, बगैँचा, घेराबन्दी पर्खाल, जाँचपास कक्षको भइरहेको जानकारी उनले दिए । अरनिको राजमार्गकबाट बन्दरगाह जोड्ने भोटेकोसीमा करिब ३५ मिटर लामो मोटरेवल पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । यो पल बनेपछि सीमावर्ती गाउँ दुगुनागढी आउजाउ गर्न स्थानयीलाई समेत सहज बन्नेछ ।

७ स्क्साभेटर, १० वटा टिपर र अन्य अत्याधुनिक उपरकण प्रयोग गरेर चिनियाँले निर्माणलाई तीव्र बनाएका छन् । सीआरसीसीका नेपाली भाषा अनुवादक राजेश अधिकारीका अनुसार ‘नदी नियन्त्रणको संरचनासमेत निर्माण भइरहेको छ । कामलाई सुरुवात गर्दै नेपाली र चीनका ४५ कामदार दैनिक खटिरहेका छन्, अधिकारीले भने ।

चीनको झन्डै १ अर्ब २० करोडको सहयोगमा बन्दरगाह निर्माण भइरहेको हो । यो बन्दरगाह निर्माणपछि तातोपानी भन्सारले गर्दै आएको काम यहीबाट हुनेछ । जुरेपहिरो, भूकम्प र बाढीका कारण रोकिएको बन्दरगाह तातोपानी नाकाको व्यवस्थापनमा सहयोग पुग्ने आशा स्थानीयले गरेका छन् । भौगोलिक अवस्थाका कारण समस्या भोग्दै आएको भन्सारको कारोबारमा यसले सहजता ल्याउने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ बताउँछन् । बन्दरगाहमा भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेक पोस्ट, बैंक र कर्मचारी आवासको सुविधा हुनेछ । बन्दरगाह बनेपछि चीनबाट आएका व्यापरिक सामान बोकेका कन्टेनर सिधै यही पुर्‍याउने योजना छ ।

प्रकाशित : माघ १४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

सूर्यमुखी कच्चा तेलको आयात बढ्यो

शंकर आचार्य

पर्सा — आईसपी/वीरगन्ज भन्सार नाका हुँदै पाम र सूर्यमुखीको कच्चा तेलको आयात बढेको छ । भटमासको कच्चा तेलको आयात भने घटेको छ । यो वर्षको पुस महिनासम्ममा कच्चा पाम र सूर्यमुखीको कच्चा तेलको आयात बढेको र भटमासको कच्चा तेलको आयात घटेको हो । 

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार यो अवधिमा ५ अर्ब ७१ करोड २६ लाख मूल्यबराबरको ७ करोड ६१ लाख २६ हजार किलो कच्चा पाम आयल आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यो नाका हँुदै ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको ४ करोड ४९ लाख किलो कच्चा पाम तेल आयात भएको थियो ।

त्यसैगरी, यो वर्ष पुससम्म ४ अर्ब ९ करोड रुपैयाँ बराबरको ४ करोड १३ लाख किलो सूर्यमुखीको कच्चा तेल आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड ४१ लाख किलो सूर्यमुखीको कच्चा तेल आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले चालू आर्थिक वर्षको सुरुदेखि नै भारततर्फ पाम आयल र सूर्यमुखीको तेल निकासी हुन थालेकाले यिनको कच्चा तेलको आयात बढेको बताए । भारतले वितगमा नेपालबाट यो तेलको आयातमा रोक लगाएको थियो । यस वर्ष उसले आयात खोलेकाले नेपालमा उत्पादित तयारी पाम आयल र सूर्यमुखीको तेल भारतीय बजारसम्म पुग्न थालेको हो ।

स्वदेशी उत्पादनको निकासीलाई प्रोत्साहित गर्न यस्तो वस्तुको निर्यातमा शून्य भन्सार शुल्क लाग्नेछ । ब्राजिल, अर्जेन्टिना, युक्रेन, इन्डोनेसियालगायतका मुलुकबाट नेपाली उद्योगले पामको क्रुड आयल (कच्चा तेल) आयात गरेर त्यसलाई प्रशोधन गरी खाद्यान्न तेल उत्पादन गर्ने गर्छन् । यसको आयात गर्दा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गर्छ । सूर्यमुखीको कच्चा तेल खाडी मुलुकहरूबाट आयात गरिन्छ ।

भटमासको कच्चा तेलको आयात भने घटेको तथ्यांकले देखाएको छ । यो वर्षको पुससम्म यो नाका हँुदै ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको १० करोड ६६ लाख किलो भटमासको कच्चा तेल आयात भएको छ ।

गत आवको यसै अवधिमा यो नाका हँुदै ११ अर्ब ९६ करोड रुपैयाँ बराबरको १३ करोड २३ लाख किलो भटमासको कच्चा तेल आयात भएको थियो । तुलनात्मक रूपमा ३ करोड किलो बढी यो तेलको आयात घटेको छ ।

प्रकाशित : माघ १४, २०७५ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्