३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सूर्यमुखी कच्चा तेलको आयात बढ्यो

शंकर आचार्य

पर्सा — आईसपी/वीरगन्ज भन्सार नाका हुँदै पाम र सूर्यमुखीको कच्चा तेलको आयात बढेको छ । भटमासको कच्चा तेलको आयात भने घटेको छ । यो वर्षको पुस महिनासम्ममा कच्चा पाम र सूर्यमुखीको कच्चा तेलको आयात बढेको र भटमासको कच्चा तेलको आयात घटेको हो । 

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार यो अवधिमा ५ अर्ब ७१ करोड २६ लाख मूल्यबराबरको ७ करोड ६१ लाख २६ हजार किलो कच्चा पाम आयल आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यो नाका हँुदै ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको ४ करोड ४९ लाख किलो कच्चा पाम तेल आयात भएको थियो ।


त्यसैगरी, यो वर्ष पुससम्म ४ अर्ब ९ करोड रुपैयाँ बराबरको ४ करोड १३ लाख किलो सूर्यमुखीको कच्चा तेल आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड ४१ लाख किलो सूर्यमुखीको कच्चा तेल आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले चालू आर्थिक वर्षको सुरुदेखि नै भारततर्फ पाम आयल र सूर्यमुखीको तेल निकासी हुन थालेकाले यिनको कच्चा तेलको आयात बढेको बताए । भारतले वितगमा नेपालबाट यो तेलको आयातमा रोक लगाएको थियो । यस वर्ष उसले आयात खोलेकाले नेपालमा उत्पादित तयारी पाम आयल र सूर्यमुखीको तेल भारतीय बजारसम्म पुग्न थालेको हो ।


स्वदेशी उत्पादनको निकासीलाई प्रोत्साहित गर्न यस्तो वस्तुको निर्यातमा शून्य भन्सार शुल्क लाग्नेछ । ब्राजिल, अर्जेन्टिना, युक्रेन, इन्डोनेसियालगायतका मुलुकबाट नेपाली उद्योगले पामको क्रुड आयल (कच्चा तेल) आयात गरेर त्यसलाई प्रशोधन गरी खाद्यान्न तेल उत्पादन गर्ने गर्छन् । यसको आयात गर्दा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गर्छ । सूर्यमुखीको कच्चा तेल खाडी मुलुकहरूबाट आयात गरिन्छ ।


भटमासको कच्चा तेलको आयात भने घटेको तथ्यांकले देखाएको छ । यो वर्षको पुससम्म यो नाका हँुदै ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको १० करोड ६६ लाख किलो भटमासको कच्चा तेल आयात भएको छ ।


गत आवको यसै अवधिमा यो नाका हँुदै ११ अर्ब ९६ करोड रुपैयाँ बराबरको १३ करोड २३ लाख किलो भटमासको कच्चा तेल आयात भएको थियो । तुलनात्मक रूपमा ३ करोड किलो बढी यो तेलको आयात घटेको छ ।

प्रकाशित : माघ १४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?