२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अपर तामाकोसीको मात्र ४८ करोडको कारोबार 

काठमाडौँ — यो साता बजारमा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । कुल कारोबारमा करिब ३२ प्रतिशत हिस्सा जलविद्युत् समूहले ओगट्यो ।

अपर तामाकोसीको मात्र ४८ करोडको कारोबार 

सामान्य अवस्थामा कारोबार हिस्सा बढ्नुको अर्थ ती कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढनु नै हो । यद्यपि यो साता कारोबारको प्रकृति हेर्दा सबै जलविद्युत् समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेकाले हिस्सा बढेको होइन । ठूलो संख्यामा अपर तामाकोसीको सेयर कारोबार बढेकै कारण जलविद्युत् समूहको हिस्सा बढेको हो ।


यो साता अपर तामाकोसी जलविद्युत् कम्पनीको मात्र करिब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साताको कुल कारोबारका करिब ३२ प्रतिशत हो । अघिल्ला सातामा कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा ५ देखि ७ प्रतिशतको हाराहारीमा रहँदै आएको थियो ।


त्यसो त अपर तामाकोसीको कारोबारमा आकर्षण बढ्नुको विशेष कारण केही छैन । यो कम्पनीको बारेमा बजारमा विभिन्न किसिमको हल्ला फैलाइएको छ । त्यही हल्लाको भरमा परेर लगानीकर्ताले लगानी बढाएकाले कारोबार हिस्सा धेरै देखिएको एक धितोपत्र ब्रोकरले बताए । ‘पहिलो कारोबार पनि धेरैमा भयो । त्यसपछि नेप्सेको सिस्टममा समस्या आएपछि एकै दिन धेरै कारोबार भयो ।


अनि कम्पनीले लाभांश वितरणका लागि समिति गठन गरेको हल्ला चलाइयो,’ ती अधिकारीले भने, ‘यस्तै हो भने अझै पनि अपर तामाकोसीको सेयरमा धेरै लगानीकर्ता डुब्ने सम्भावना धेरै छ ।’ बजारमा कम्पनीको वास्तविक अवस्था नबुझी हल्लाको भरमा लाग्ने लगानीकर्ताको जमात धेरै भएकाले बेला बेलामा यस्ता घटना देखिंदै आएको उनले दोहोर्‍याए ।


अरूको देखासिखिमै लगानी निर्णय गर्ने लगानीकर्ताकै कारण कुनै कम्पनीको सेयरमा लगानीकर्ता धेरै झुम्मिँदा उक्त कम्पनीको सेयर अपेक्षाभन्दा धेरै माथि जाने अर्का एक ब्रोकरले बताए । ‘अपर तामाकोसीको सेयरमा सुरुदेखि नै लगानीकर्ताको आकर्षण बढेको थियो । त्यही समयमा नेप्सेको कारोबार प्रणालीमा समस्या आएकाले एकै दिन धेरै कारोबार भयो,’ उनले भने, ‘यद्यपि, नेप्सेले त्यो कारोबार रद्द गर्‍यो । तर, पनि लगानीकर्तामा यो कम्पनीको सेयर मूल्य बढो रहेछ भन्ने भ्रमले अझै काम


गरिरहेको छ ।’ कुनै कम्पनी विशेषको सेयर मूल्य बढ्यो भन्दैमा त्यो कम्पनीलाई राम्रो मान्न नसकिने भएकाले लगानीकर्ताले कम्पनीको सबै पक्ष राम्रोसँग बुझेर मात्र लगानी निर्णय गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : माघ १३, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?