निगमको अन्तर्राष्ट्रिय उडानमा छुट

रासस

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । 

आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो योजना लागू हुने निगमले जनाएको छ । पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा अन्य गन्तव्यमा पनि यो योजना विस्तार गरने लक्ष्य छ ।


काठमाडौँ–बैंकक उडानका लागि टिकटमा हरेक यात्रुले मूल्य अभिवृद्धि करबाहेक रु १२ हजार तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ । निगमले अहिले विभिन्न आठ गन्तव्यमा भारतको नयाँदिल्ली, बैंगलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ ।


निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

प्रकाशित : माघ १२, २०७५ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

हिमपातले सकस [फोटोफिचर]

हरिहरसिंह राठौर

धादिङ — जिल्लाका उच्च पहाडी भूभागमा वर्षात्‌सँगै बाक्लो हिमपात भएकोले जनजीवन प्रभावित बनेको छ । शुक्रबार साँझदेखि तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्ग, दार्खा, लापा, रीगाउँ, सत्यदेवी, बसेरी, सेम्जोङ्ग र वुढाथुमका अधिकांश गाउँबस्तीहरुमा बाक्लो हिउँ परेको छ । हिउँ तीन फिटसम्म जमेको छ । धेरै वर्षपछि बस्तीमा बाक्लो हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

वर्षासँगै हिमपातले जनजीवनका साथै चौंरीपालक किसान समस्या परेका छन् । 'चौरीलाई घाँसको समस्या परेको छ भने बाटो अवरुद्ध छ' चौरीपालक किसान दिनेश घलेले भने । हिमपातले गहुँ, जौं, कोदो र आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पुर्‍याएको तिप्लिङ्गका चौंरीपालक किसान जस थापाले बताए । तर उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ ।

जनजीवन चिसोले प्रभावित भएको छ । 'मुहानहरु ठण्डीले जमेपछि शुक्रबार बिहानैदेखि धारामा खानेपनी आएकै छेन । घरआँगनकै हिउँ तताएर स्थानीयले पानी प्रयोग गरिरहेका छन्, 'स्थानीय वृद्ध जोमसाई घलेले भने । कृषि ज्ञान केन्द्र धादिङका केशव देवकोटाले उत्तरी भेकको हिमपातले स्थानीय बालीनालीको उत्पादन बढ्ने बताए ।

तस्बिर सौजन्य : जस थापा तामाङ

प्रकाशित : माघ १२, २०७५ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×