१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मह किसानलाई बजारको समस्या

मनोज बडु

दार्चुला — जिल्लाका विभिन्न ठाउँमा व्यावसायिक मह उत्पादन सुरु गर्न प्रयत्न गरिरहेका किसानहरू बजारको समस्या खेप्दै आएका छन् । मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला किसानहरूले बजार अभाव हुन थालेको गुनासो गरेका हुन् ।

लेकम, मालिकार्जुन, मार्मा र व्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै छ । परम्परागत रूपमा मौरीपालन गर्दै आएकाहरू बिस्तारै व्यावसायिकतर्फ आकर्षित भए पनि महलाई बजारको समस्या कायमै रहेको उनीहरूको भनाइ छ । ‘उत्पादन भएका मौरी घार तथा मह बिक्रीका लागि बजार अभाव छ,’ लेकम १ का गणेशसिंह कार्कीले भने, ‘गाउँमा उत्पादित महलाई टाढाको बजारसम्म आफैंले पुर्‍याउनुपर्छ ।’ उनका अनुसार अहिले मह र मौरी बिक्री गर्न दार्चुलामा मात्र नभएर बैतडीसम्म पुग्नुपर्ने अवस्था छ । घरमा मौरी स्याहार गर्ने कि उत्पादित मह बिक्री वितरण गर्ने समस्या भएको उनको भनाइ छ ।


सरकारी तथा गैरसरकारी निकायबाट अनुदान पाएपछि मौरीपालन पेसामा लागेका यहाँका किसानहरू सुरुमा राम्रो आम्दानी भए पनि अहिले बजारको समस्या भोग्दै आएका छन् । ‘कमै मिहिनेतमा मनग्गे आम्दानी हुने भएकाले मौरीपालनतिर आकर्षण बढेको हो,’ मालिकार्जुन १ का गौरसिंह बोहराले भने, ‘विगतमा सरकारी र गैरसरकारी संस्थाले मौरीको घार र मौरी खरिद गर्थे । अहिले त्यस्ता संस्थाबाट पनि माग आउन छाडेको छ ।’ घरमै वार्षिक ५०/६० घार मात्रै बिक्री गर्दै आएका उनले अहिले अरुण आधुनिक मौरी घार उद्योग दर्ता गरेर ८२ घारमा मौरीपालन गर्दै आएका छन् । यसमा आम्दानी भए पनि बजार समस्या कायमै रहेको दुखेसो छ ।


लेकमका किसान गणेशसिंहले भने, ‘स्थानीयस्तरमा बजार नहुँदा सदरमुकाम खलंगा र सीमावर्ती भारत बजारमा बिक्री गर्न जानुपर्छ ।’ हालसम्म २ क्विन्टल मह बिक्री भएको र बजार नहुँदा समयमै मह बिक्री गर्न नसकेकाले खेर जाने अवस्था छ । उनले अहिले खेतभरि ७५ मौरीका घार राखेका छन् । यहाँका गाउँमा मह ८ सयदेखि ८ सय ५० रुपैयाँ प्रतिकिलो बिक्री हुने गर्छ । सहजै रूपमा उत्पादित महले बजार पाउन सके मौरीबाटै वार्षिक १० लाखसम्म आम्दानी हुने उनले बताए । यहाँका करिब अढाई सय घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।


घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका अनुसार अहिले जिल्लाभरि १२ मौरी उद्योग दर्ता भएका छन् । योबाहेक अधिकांश कृषकले मौरी व्यवसायका रूपमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेका छन् । व्यवसायबाट राम्रो रोजगारी र आम्दानी हुन थालेपछि किसान व्यावसायिक रूपमै यसतर्फ लागेको वरिष्ठ उद्योग अधिकृत पदम ठकुराठीले बताए । स्थानीय सरकारले तालिम प्रवद्र्धनको साथै बजारीकरणमा ध्यान दिन सके दार्चुलाको महले राम्रो बजार पाउन सक्ने सम्भावना धेरै रहेको उनको भनाइ छ ।

प्रकाशित : माघ ६, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?