२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उद्योग सञ्चालनपछि चहलपहल

पूर्व नवलपरासी — विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत सर्दी बस्ती छ । पूर्वपश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तरको बस्ती ओझेलमा थियो । सुनसान थियो । उर्वर भूमि बाँझै थियो । अहिले बस्तीमा चहलपहल छ । पहिले हिउँदमा समेत ओहोरदोहोर गर्न मुस्किल पर्थ्याे ।

वर्षातमा खहरेका कारण नाकाबन्दी लाग्थ्यो । अहिले पूर्व–पश्चिम राजमार्गदेखि बस्तीसम्म १५ मिटर चौडा सडक निर्माण भएको छ । बाह्रैमास गाडी गुडछन् ।


चितवनका दीप महतोले दुई वर्षअघि यहाँ रेस्टुरेन्ट सञ्चालन गरे । वैदेशिक रोजगारीमा १४ वर्ष बिताएका उनी नारायणगढ बजार छाडेर गाउँमा आए । ‘म यहाँ आउँदा १५ हजार रुपैयाँ कट्ठा जग्गा बिक्थेन,’ उनले भने, ‘अहिले प्रतिकट्ठा ४० लाख रुपैयाँ पुग्यो ।’ सडक दायाँबायाँ जग्गाको भाउ अकासिएको छ । चिनियाँ लगानीमा होङसी शिवम् सिमेन्ट कारखाना निर्माणपछि गाउँ सहर बन्ने

क्रममा छ ।


निर्माणमा चिनियाँ कामदार थिए । तिनलाई लक्षित गरेर रेस्टुरेन्ट सुरु गरेका थिए । महतोका अनुसार काम सुरु गरेको १६ महिनामा कारखाना निर्माण सकियो । त्यसपछि धेरै कामदार फर्किए । यिनको व्यापारले नयाँ मोड लियो । सिमेन्ट कारखानाका लागि चुनढुंगा ओसार्ने चार सय टिपर थपिए । थप पाँच सय हाराहारी सिमेन्ट ढुवानी गर्ने ट्रक छन् । यहाँ दिनमा एक हजार हाराहारी टिपर र ट्रक गुडछन् । ‘अहिले नेपाली भान्सा पनि बनाएको छु,’ महतोले भने, ‘चिनियाँ घटे, नेपाली बढे ।’


बस्तीको छेउमा होङसी शिवम् मुलुककै ठूलो कारखाना हो । ९० बिघा क्षेत्रफलमा फैलिएको ३६ अर्ब लगानीको कारखानालाई एक फेरो लाउन मात्र करिब एक घण्टा लाग्छ । यहाँ प्रवेश गर्नेबित्तिकै ठूला होटलजस्ता तीन घर देखिन्छन् । ती कर्मचारी आवास हुन् । एउटा भवन नेपाली र अर्को चिनियाँ कामदारका लागि हो । नजिकै त्यहाँ कार्यरत अधिकृतस्तरका कर्मचारी र पाहुनाका लागि भवन छ ।


कार्यरत पाँच सय कर्मचारीका लागि क्यान्टिन छ । उद्योगका डेपुटी जनरल म्यानेजर गौरव गोयलका अनुसार यहाँ तीन सयभन्दा बढी नेपाली कामदार छन् । तीमध्ये १ सय २० भन्दा बढी सर्दीकै बासिन्दा हुन् । यीबाहेक ज्यालादारीमा काम गर्ने स्थानीय धेरै रहेका छन् ।


आवास र क्यान्टिनभन्दा ५० मिटर टाढाबाट काखाना क्षेत्र सुरु हुन्छ । लगत्तै सिमेन्ट उत्पादन क्षेत्र र त्यसपछि क्लिंकर उत्पादन र भण्डारण क्षेत्र छ । धूवाँ फयाँकेको देखिँदैन । दिनरात सञ्चालन भइरहेको कारखानाले प्रत्येक दिन छ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ । यसको कुल क्षमता १२ हजार टन हो ।


वैदेशिक लगानीमा सञ्चालित उद्योगका लागि सरकारले सडक निर्माण र विद्युत् आपूर्ति गर्नुपर्ने हो । सञ्चालनमा आइसके पनि यसमा राष्ट्रिय प्रसारण लाइनको बिजुली जोडिएको छैन ।


विद्युत् विस्तारले गति लिएको देखिन्न । यहाँसम्म बिजुली ल्याउन तार बिच्छयाउने काम सुस्त छ । ‘अप्रिल २०१९ सम्म विद्युत् जोडिने अपेच्छा हो,’ डेपुटी जनरल म्यानेजर गोयलले भने, ‘काम भने सुस्त छ ।’ उनका अनुसार अहिले डिजेल जेनेरेटर चलाएर सिमेन्ट उत्पादन भइरहेको छ ।


‘यहाँ आएको सबैभन्दा ठूलो परिवर्तन सडक हो,’ जनसम्पर्क विभागमा कार्यरत चेम चुवान (जेम्स) ले भने, ‘राजमार्गदेखि खानीसम्म ४० किलोमिटर सडक उद्योगले बनायो ।’ अहिले सडक ग्राभेल छ । त्यसमा दिनहुँ पानी हाल्नुपर्छ । राजमार्गदेखि कारखानासम्म १५ र कारखानादेखि खानीस्थलसम्म १० मिटर चौडा सडक बनेको छ । सडक निर्माण भएपछि पाल्पाको रामपुरदेखि चितवनको नारायणगढसम्म बस सञ्चालन भइरहेको छ । पूर्वी पाल्पाको ठूलो संख्या सहरसित जोडिएको छ ।

प्रकाशित : माघ १, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?