कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आम्दानीको स्रोत बन्यो जंगलको डिमुर

डिस्टिलरीले अहिलेसम्म २६ लाख रुपैयाँको डिमुर खरिद गरिसकेको छ 
हरि गौतम

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका १० का प्रेमबहादुर शाहले ५ क्विन्टल डिमुर बिक्री गरे । जंगलमा खेर गइरहेको डिमुर टिपेर उनले दुई दिनमा साढे १२ हजार रुपैयाँ आम्दानी गरे ।

सोही नगरपालिका ८ का वीरबहादुुर सार्कीले पनि दुई दिनमै १० हजार आम्दानी गरे । उनले घर नजिकैको जंगलबाट चार क्विन्टल डिमुर टिपेर बेचे ।


शाह र सार्की मात्रै होइन त्यस क्षेत्रका साथै डोल्पा, जाजरकोट, रुकुमपूर्व र रोल्पाका समेत पाँच सय बढी स्थानीयले डिमुर टिपेर आम्दानी गरेका छन् । ‘घर वरिपरिको जंगलमा रहेको डिमुर बिक्यो, हामीले आम्दानी र काम दुवै पाएका छौं,’ शाहले भने । यसअघि पाकेर खेर जाने र जंगली जनावरले खाने डिमुर बिक्री होला भन्ने आफूले कहिल्यै नसोचेको वीरबहादुरले बताए ।


आठबिसकोट नगरपालिकाले स्थानीयसँग मिलेर कोट किङ डिस्टिलरी उद्योग स्थापना गरेपछि त्यसको मुख्य कच्चा पदार्थका रूपमा उद्योगले डिमुर खरिद गरेको छ । अहिलेसम्म उद्योगले २६ लाख रुपैयाँको डिमुर खरिद गरिसकेको छ । उद्योगको ४० लाख रुपैयाँको डिमुर खरिद गर्ने योजना छ ।


उद्योग सञ्चालक समिति अध्यक्ष दलबहादुर शाहले स्थानीयले टिपेकै ठाउँबाट डिमुर खरिद गरेको बताए । सुरुमा प्रतिकिलो १५ रुपैयाँमा खरिद गरिएको डिमुर अहिले प्रतिकिलो ३० रुपैयाँ पुगेको छ । जंगलमा पाइने डिमुरबाट अर्गानिक वाइन उत्पादन गर्न लागेको अध्यक्ष शाहले बताए । उनले १४ लाख रुपैयाँको थप डिमुर किन्ने क्रममा रहेको जानकारी दिए ।


डिमुर समुद्री सतहदेखि १ हजार ५ सयदेखि ४ हजार मिटरको उचाइमा पाइन्छ । रोल्पा, रुकुमपूर्व, रुकुम–पश्चिम, जाजरकोट, डोल्पा र दैलेख जिल्लामा मात्रै डिमुर पाइने गरेको बताइन्छ । असोजदेखि पाक्न सुरु गरेर मंसिर अन्तिमसम्म रहन्छ ।


जंगलबाट स्थानीयबासीले टिपेर ल्याएको डिमुर उद्योगमा पुर्‍याइसकेपछि थप महिलाले ग्रेडिङको काम गर्छन् । उद्योगले पहिलो चरणमा डिमुरको ५० हजार लिटर वाइन उत्पादन गर्ने शाहले बताए । अबको ९ महिनाभित्र उद्योगले आफ्नो उत्पादन बजार पठाउने गरी काम भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।


डिमुरको वाइन उत्पादनपछि उद्योगले जंगलमै पाइने च्युरीको वाइन उत्पादन गर्ने जनाएको छ । च्युरीको रसबाट वाइन उत्पादन गर्ने गरी च्युरी संकलन गर्न स्थानीयबासीलाई भनिसकिएको जनाएको छ । अर्गानिक वाइन उत्पादनका लागि जंगली फलफूल मात्रै प्रयोग गरिनेछ ।


आठबिसकोट नगरपालिकाले निजी साझेदारी अवधारणाअनुसार डिस्टिलरी उद्योग स्थापना गरेको छ । उद्योगमा नगरपालिकाको ४० र अन्य युवा, व्यवसायीको ६० प्रतिशत सेयर छ । पहिलो लटको वाइन उत्पादनसम्म ५ करोड बजेट खर्च हुने अनुमान गरिएको छ ।


जसमा नगरपालिकाको २ करोड र सर्वसाधारणको सेयरबापतको ३ करोड लगानी हुने नगर प्रमुख गोर्खबहादुर केसीले बताए । उनले उद्योगले वाइनका साथै जुस पनि उत्पादन गर्ने बताए ।


सुरुको एक वर्ष जंगलमा पाइने डिमुर/च्युरीबाट वाइन र जुस बनाइने जनाइएको छ । त्यसपछिका वर्ष किसानको बारीमा रहेका फलफूलबाट जुस र वाइन उत्पादन गर्ने गरी तयारी भइरहेको नगर प्रमुख केसीले जनाए । जसका लागि नगरभित्र ४० हजार किबीका बोट लगाइँदै छ ।


नगरपालिकाले किसानबाट किबीका बेर्नाको माग संकलन गरी किबी खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । उद्योगमा हरेक वर्ष नगरपालिका र स्थानीयबाट समेत लगानी थप्दै लगिनेछ । अन्तर्राष्ट्रिय स्तरकै जुस र वाइन तयार गर्ने गरी प्रविधि स्थापना गरिएको दाबी उद्योग सञ्चालक समितिले गरेको छ ।

प्रकाशित : मंसिर २७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?