२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अरुण तेस्रो जलविद्युत् : सुरुङमार्ग निर्माण धमाधम

दीपेन्द्र शाक्य

संखुवासभा — अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मार्गको काम धमाधम भइरहेको छ । भारतीय सतलज कम्पनीका अनुसार डयाम साइटबाट विद्युत् गृहसम्म पुग्ने सुरुङको काम भइरहेको हो ।

पाँच वर्षमा जलविद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रोको हालसम्म १ सय ९६ मिटर सुरुङ बनिसकेको छ । सुरुङ ११ दशमलव ७४ किलोमिटर निर्माण गर्नुपर्नेछ । कम्पनीका सीईओ सतीशकुमार शर्माले अब ४ स्थानबाट सुरुङ निर्माणको काम अघि बढाउने बताए ।


छयाँङकुटीबाट पावरहाउससम्म महिनाअघि कच्ची सडक पुगिसकेको छ । खाँदबारीबाट डयामसाइटसम्मको सडक स्तरोन्नति भइसकेको छ । पावर हाउस निर्माणको पनि शिलन्यास गरिएको छ । शर्माले तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने बताए ।


डयामसाइडमा पनि धमाधम काम भइरहेको उनले जनाए । ‘सन् २०२२ मा बिजुली उत्पादन गरेरै छाडछौं, हाम्रो लक्ष्य भनेको सन् २०२२ मा बिजुली बाल्ने हो,’ सीईओ शर्माले भने, ‘जसरी पनि काम सम्पन्न गरेर बिजुली निकालिसक्छौं ।’


प्रसारण लाइन संखुवासभा, भोजपुर र खोटाङ हुँदै टान्समिसन लाइन लगिनेछ । टान्समिसन लाइनमा ५ सय १ वटा टावर निर्माण हुनेछन् । यसको पनि काम सुरु भइसकेको छ । ‘आयोजनाको सडक निर्माणको काम अन्तिम चरणमा छ, कच्ची टयाक पावरहाउस स्थल पुगिसकेको छ, त्यसलाई चौडा बनाउने काम भइरहेको छ,’ उनले भने, ‘पूर्वाधार निर्माणका काम पनि अघि बढाएका छौं ।’


आयोजनास्थलमा भौतिक संरचना निर्माण थाल्नुअघिको सम्पूर्ण प्रक्रिया पनि पूरा भइसकेको छ । भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रोका लागि जग्गा अधिग्रहणको काम सकिएको जिल्ला प्रशासनले जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार छयाङकुटी पुखुवा सडकमा पनि स्थानीयको मागअनुसार मुआब्जा वितरण गरिसकिएको छ । यो क्षेत्रका साढे ४ किलोमिटर सडक आसपासका स्थानीयलाई करिब ७ करोड मुआब्जा वितरण गरेको उनले बताए । १९ परिवारलाई मुआब्जा वितरण गरिएको हो ।


‘छिटफुट बाँकी रहेकालाई पनि दिने तयारीमा छौं,’ उनले भने, ‘बाँकी रहेकाहरूका लागि मुआब्जा वितरणको प्रक्रियामा छौं ।’ यसअघि पनि जिल्ला प्रशासनले २ सय ५८ परिवारलाई मुआब्जा वितरण गरिसकेको छ । उनीहरूलाई १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १ सय ५ रुपैयाँ वितरण गरिसकेको छ । ११ परिवारलाई ४ करोड ८५ लाख वितरण गर्न बाँकी छ । ११ परिवार मुआब्जा लिन आएका छैनन्, उनीहरू प्रक्रियामा छन् । बिदेसिएका, जग्गा रोक्का भएका र जग्गा दर्ता नगरेका कारण उनीहरूले मुआब्जा नपाएको उनले बताए ।

प्रकाशित : मंसिर २६, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?