कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुक्खा बन्दरगाहमा सेड निर्माण सकिएन

शंकर आचार्य

पर्सा — एक वर्षमा काम सक्ने गरी सिर्सिया सुख्खा बन्दरगाहमा दुई वटा सेड निर्माणको काम थालेको पप्पु कन्स्ट्रक्सनले तीन वर्ष बितिसक्दा पनि सम्पन्न गरेको छैन ।

सुक्खा बन्दरगाहमा सेड निर्माण सकिएन

करिब १७ करोड रुपैयाँ लागतमा बन्दरगाहस्थित बोरा बन्दी माल गोदाम नजिक कार्गो यार्डमा ३ सय मिटर लामो सेड निर्माणको काम पप्पुले ३ वर्ष पुगे पनि पूर्णता दिन सकेको छैन ।


सेड निर्माण भए पनि फ्लोर (भुइँ) को काम दुवैतर्फको गोदाममा सकिएको छैन । त्यसबाहेक सम्झौताअनुसार फायर फाइटिङ र सीसीटीभी क्यामेरा जडानको काम अझै बाँकी छ ।


इन्टरमोडल यातायात विकास समिति स्रोतका अनुसार माल गोदामको उत्तर र दक्षिणतर्फका यार्डमा १ सय ५० मिटर लामा २ वटा सेड निर्माण गर्न लागिएको हो । पप्पु कन्सट्रक्सनले २०७२ को बन्द हडतालको ६ महिनाअघि काम थालेको थियो ।


पछि बन्द हडतालको कारण देखाउँदै काम रोकेको थियो । ‘उति बेला सम्झौताअनुसार १ वर्षभित्र निर्माण कार्य सक्नुपर्ने ठेकेदार कम्पनीले २ पटक म्याद थपिसक्दा पनि काम भने सकेको छैन,’ स्रोतले भन्यो, ‘कम्पनीलाई १ करोड ७० लाख रुपैयाँ जरिवानासमेत तिराइएको छ । अहिले कन्सल्टेन्टले उसलाई ठेक्का समाप्त किन नगर्ने भनी प्रश्नसहितको पत्रसमेत काटिसकेको छ ।’


हाल फ्लोरको काम गरिरहेको ठेकेदार कम्पनीले अत्यन्त थोरै मजदुर खटाएर काम गरिरहेको स्रोतले बतायो । ‘हेर्दा काम भइरहे जस्तो त लाग्छ,’ स्रोतले थप्यो, ‘कामको गति हेर्दा कहिलेसकिन्छ भनेर अनुमानसमेत गर्न सकिँदैन ।’


बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले बन्दरगाहको अत्यन्त महत्त्वपूर्ण स्थानमा ढिलो गतिमा काम भइरहेकाले समस्या भएको बताए । ‘त्यहाँ चिनी, मल, सिमेन्ट आदि बल्क कार्गो सामान रेलबाट सोझै ल्याइन्छ,’ उनले भने, ‘निर्माण कार्यका कारण मालवस्तु अनलोड गर्न निकै समस्या भएको छ, आयातकर्ताले बिनाकारण झन्झट व्यहोर्नुपरेको छ, जति सक्यो चाँडो काम भइदिए हामीलाई धेरै राहत हुने थियो ।’


नयाँ सेड निर्माण भएपछि बन्दरगाहमा पुरानोसमेत गरी ७ सय मिटर सेड उपलब्ध हुनेछ । यति सेड एउटा रेल्वे र्‍याक बराबरको हुनेछ ।


बन्दरगाहमा पर्याप्त सेड नभएको भन्दै आयात निर्यातकर्ताले लामो समय थप सेड निर्माणको माग गर्दै आएका थिए ।


हाल बन्दरगाहमा आउने बीसीएन रेल्वे मालगाडीमा ४० वटा डब्बा हुन्छन् । यसरी आउने डब्बामा तोरी, मकैजस्ता बल्क कार्गो सामान बढी हुन्छन् । रेलको डब्बा बराबर गोदाम या यार्ड नहुँदा त्यस्ता मालवस्तु भण्डारण गर्न ठूलो समस्या भइरहेको छ ।


रेल्वे सुविधा भएको मुलुककै पहिलो र एक मात्र यो सुक्खा बन्दरगाह २०६१ साल साउन १६ बाट सञ्चालनमा आएको हो । भारतको कोलकाता बन्दरगाहसँग सोझो रेल्वे सञ्जाल जोडिएको यो बन्दरगाहमा दैनिक १ हजार ५ सय कन्टेनरको लोड अनलोड क्षमता छ ।


हाल वार्षिक ४० देखि ४५ हजार कन्टेनर लोड अनलोड भइरहेका छन् । नेपालमा तेस्रो मुलुकबाट आउने वार्षिक ७० हजार कन्टेनर यो बन्दरगाह एक्लैले लोड अनलोड गर्ने क्षमता राख्छ । विश्व बैंकको ८ सय २ मिलियन डलर ऋण सहयोगमा यो बन्दरगाह निर्माण गरिएको थियो ।


वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका करिब ६ सय ५० उद्योगले ५० प्रतिशत कच्चा पदार्थ यसै बन्दरगाहबाट आयात गर्छन् । विदेशी मदिरा, फर्निचर, विद्युतीय उपकरण, प्लास्टिकको दाना, फलाम, एमएस बिलेटलगायतका औद्योगिक कच्चा पदार्थसमेत यो बन्दरगाह हुँदै आयात हुने गर्छ ।


कोलकाताबाट ट्रकमा मालसामान आयात गर्दा भारतको बाटोमा चोरी, विभिन्न राज्यहरूले लिने कर, मालसामान टुटफुट हुने लगायतका कारणले आयात निर्यातकर्ताले रेलबाट मालवस्तु आयात गर्दा यस्ता समस्या नहुने भन्दै पछिल्लो केही वर्षयता यसै बन्दरगाहमार्फत आयात निर्यात गर्न रुचाउन थालेका छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?