कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ठूलो परिमाणमा सेतक चिनी अलपत्र

जयबहादुर रोकाया

हुम्ला — किसानले संकलन गरेका ठूलो परिणामको सेतक चिनी (खिरौंला) अलपत्र परेको छ । जिल्लाबाट निकासी गर्न छुटपुर्जी नपाउँदा सेतक चिनी बारीमै सड्ने अवस्थामा पुगेको हो । डिभिजन वन कार्यालयले यस वर्ष पाँच सय क्विन्टल मात्र सेतक चिनीको छुटपुर्जी दिएको छ । 

संकलन गरेअनुसारको छुटपुर्जी नपाउँदा स्थानीय समस्यामा परेका छन् । जिल्लाभर करिब १० हजार क्विन्टलभन्दा बढी खिरौंला संकलन भएको डिभिजन वनको अनुमान छ ।


वन डिभिजन कार्यालयका रेन्जर लोकजंग शाहीले वन मन्त्रालयबाट यो वर्षका लागि पाँच सय क्विन्टल मात्र छुटपुर्जी दिने निर्देशन आएको बताए । उनका अनुसार पाँच सयमध्ये तीन सय राष्ट्रिय वन र दुई सय क्विन्टल सामुदायिक वन उपभोक्ता समूहबाट छुटपुर्जी दिने व्यवस्था छ ।


जिल्लामा जडीबुटी निकासी गर्नका लागि दर्ता भएका १ सय ४७ फर्म छन् । राष्ट्रिय वनबाट छुटपुर्जी पाउने परिमाण भाग लगाउँदा एक फर्मले करिब ४७ किलो मात्रै पाउने भएका छन् । छुटपुर्जीका लागि सबै फर्मले १० हजार क्विन्टलभन्दा बढी माग गरेका छन् ।


सामुदायिक वन उपभोक्ता समूहमार्फत छुटपुर्जी दिन पाउने दुई सय क्विन्टल भएकाले जिल्लाका ८३ वनलाई भाग लगाउनुपर्ने अवस्था छ । ८३ समूहलाई भाग लगाउँदा एक वन समूहको भागमा दुई किलो ४० ग्राम पर्न आउँछ । संकलित खिरौंला बिक्रीका लागि सहर लैजान नपाएपछि स्थानीयको लाखौं रकम डुब्ने भएको छ । अहिले दर्तावाला संकलनकर्ताले स्थानीय किसानबाट प्रतिकिलो ४० रुपैयाँमा सेतक चिनी खरिद गरेका छन् ।


खिरौंलाको माग बढेपछि स्थानीयले आफ्नो खेतबारीमा उम्रेको खिरौंला संकलन गरेर दर्तावाला फर्मलाई बिक्री गरेका थिए ।


खाद्यान्नसँगै खेतबारीमा उम्रने खिरौंला विगतका वर्षमा खेतबारीमै कुहिएर खेर जाने गरेको थियो । केही किसानले माथिल्लो बोटलाई तरकारीका रूपमा उपभोग गर्ने गरेका थिए । सरकारले खिरौंलामा प्रतिकिलो १५ रुपैयाँ राजस्व लिने गरेको डिभिजन वनले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?