टिकट बेच्ने नायक बने

धनीका कुरा
ती कहाली लाग्दा दिनहरू सम्झँदा पनि मेरो जीउ सिरिंग हुने गर्छ । आज भने मेरो अवस्था परिवर्तन भएको छ । यो परिवर्तन रातारात भएको भने हैन । संघर्षले मानिसलाई परिपक्व मात्रै बनाउँदैन, नेम र फेम पनि प्राप्त हुने रहेछ
दिनेश यादव

काठमाडौँ — पैसा कमाउन सेल्सम्यानसम्मको काम गरेका थिए– अमेरिकी नायक क्रिस्टोफर माइकल प्राट । अहिले अर्बपति छन् । स्कुलमा पढ्दाताका खेलमा उनको औधि रुचि थियो, खासगरी रेसलिङमा ।

टिकट बेच्ने नायक बने

रेसलिङमा स्टेट लेभलको प्रतियोगितामा उनी पाँचौं पनि बन्न सफल भएका थिए । नायक बन्ने त सोचेकै थिएनन् । बिनाप्रशिक्षण उनी यो क्षेत्रमा आए, नाम र दाम दुवै कमाएका छन् । ‘सेलिब्रेटी नेट वल्र्थ’ का अनुसार उनको कुल सम्पत्ति ४ अर्ब ४८ करोड ५० लाख रुपैयाँ छ ।


‘क्रिस प्राट’ को नामले समेत चर्चित हलिउड स्टार उनले अभिनय गरेका ‘गार्डियन्स अफ द ग्यालेक्सी’, ‘जुरासिक वल्र्ड’, प्यासेन्जर्स’, एभेन्जर्स : इन्फिनिटी वार’ लगायतका चलचित्रले अझै पनि धेरैको मनमस्तिष्कमा छाप छाडेकै छन् । अझै पनि ती चलचित्र हेर्नेहरू उस्तै भेटिन्छन् ।


सन् १९७९ मा अमेरिकाको भर्जिनिया मिनेसोटामा जन्मेका उनी तीन वर्षको छँदा उनको परिवार वासिङटनस्थित लेक स्टिभन्समा बसाइ सर्‍यो । उनले स्कुले विद्यार्थी हुँदै रेसलिङमा चासो देखाएका थिए ।


त्यसैक्रममा हाई स्कुल स्टेट रेसलिङ टुर्नामेन्टमा उनी पाँचौं स्थान कब्जा जमाउन सफल भएका थिए । यो उपाधि हात पारेपछि रेसलिङ प्रशिक्षकले उनलाई सोधे, ‘जीवनमा तिमी के बन्न चाहन्छौ ?’ ‘त्यो त मलाई थाहा छैन तर म लोकप्रिय बन्ने चाहिँ पक्का छ, यति मात्रै हैन मसँग प्रसस्तै पैसा पनि हुनेछ,’ उनले जवाफ फर्काए । क्रिस प्राटको यो भनाइ आज चरितार्थ भएको छ ।


उनी सफलताको जुन उचाइमा पुगेका छन्, धेरैका लागि कल्पना बाहिरको कुरा हुन सक्छ । सुरुमा केही समयका लागि एउटा सामुदायिक कलेजमा पनि उनी भर्ना भएका थिए । आर्थिक अवस्थाकै कारण आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । ‘बिजनेस इन्साइडर’ का अनुसार एक सेमेस्टर पढेपछि १७ वर्षको उमेरमा प्राटले कलेज छाडेर कुपन बेच्न थाले । १९ वर्षमा पुगेपछि त्यो कार्य छाडिदिए ।


चलचित्र क्षेत्रमा आउनुअघि उनले सहुलियत दरको टिकट बेच्ने काम गर्थे । आफ्नो रुचिविपरीत सार्वजनिक स्थलमा वयष्कहरूलाई मनोरञ्जन प्रदान गर्ने ‘स्ट्रिपर’ का रूपमा काम गरी पैसा कमाउने प्रयास पनि उनले गरेका थिए । यो पेसाप्रति आकर्षण हुनुमा दयनीय आर्थिक अवस्था नै हो । गोजीमा पर्याप्त पैसा नभएका कारण उनले कयौं दिन सडकमै बिताए ।


खासगरी अमेरिकाको हवाईस्थित माउमा कयौं रात घरविहीन भएर बस्नुपरेको थियो । सवारी साधन र टेन्टमा समेत उनले रात बिताएका थिए । एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘ती कहाली लाग्दा दिनहरू सम्झँदा पनि मेरो जीउ सिरिंग हुने गर्छ । आज भने मेरो अवस्था परिवर्तन भएको छ । यो परिवर्तन रातारात भएको भने हैन । संघर्षले मानिसलाई परिपक्व मात्रै बनाउँदैन, नेम र फेम पनि प्राप्त हुने रहेछ ।’


एउटा भनाइ छ– कुनै पनि व्यक्ति एक्लै चुचुरोमा पुग्न सक्तैन, उसलाई कसै न कसैको साथ र सहयोग अवश्य चाहिन्छ । हो, क्रिस प्राटलाई पनि एक जनाको सहयोग प्राप्त भएको थियो । अत्यन्तै मनमोहक दृश्यहरूले भरिएको माउस्थित बुब्बा गम्प स्रिम्प कम्पनीको रेस्टोरेन्टमा टेबलमा प्रतीक्षा गरिरहेका बेला उनलाई अभिनेत्री एवं निर्देशक रे डउन चोङले देखेकी रहिछन् ।


केनेडेली अभिनेत्री चोङले प्राटको एनर्जेटिक र स्ट्राइकिङ लुकबाट इम्प्रेस्ड भई चलचित्र क्षेत्रमा काम गर्ने सल्लाह दिएकी थिइन् । उनले आफ्नो डाइरेक्टोरियल डेब्यु भेन्सर सर्ट हरर चलचित्र ‘कस्र्ड पार्ट ३’ मा भूमिका निर्वाह गर्ने प्रस्ताव पनि गरिन् । सन् २००१ मा उनले टेलिभिजन शृंखला ‘द हन्टर्स’ मा अतिथिको भूमिका पाएका थिए ।


सन् २००२ मा उनले पहिलो नियमित टेलिभिजन रोल सिरिज ‘इभरउड’ मा आफ्ना बलियो प्रस्तुति दर्शकमाझ प्रदर्शन गरे । उनी मार्बल स्टुडियोजको चलचित्र ‘गार्डियन्स अफ द ग्यालेक्सी’ मा स्टार लर्डका भूमिका पाएर थप चम्किए । त्यसपछि उनलाई कहिले पछाडि फर्केर हेर्नु परेन । ‘टाइम’ अखबारले ‘१००’ अति प्रभावशाली व्यक्तिहरूको सूचीमा पनि उनलाई समावेश गरेको थियो । सञ्चार माध्यमहरूका अनुसार हवाईस्थित सी फुड रेस्टुरेन्टमा काम गर्ने क्रममा उनले ‘डिस्कोभर्ड’ मा आफ्नो भूमिका निर्वाह गरेका थिए ।


सन् २००० मा हरर चलचित्र ‘कस्र्ड : पार्ट थ्री’ मा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै क्रिस प्राटले आफ्नो व्यावसायिक करियर सुरु गरेका हुन् । त्यसपछि उनी मुख्य या सहायक नायकका रूपमा विभिन्न चलचित्र र टेलिभिजनमा आफ्नो कलाको प्रदर्शन गर्ने अवसर पाए । त्यो क्रम आज पनि रोकिएको छैन ।


चलचित्रमा प्रवेश पाएपछि ‘स्ट्रयान्जर्स विथ क्यान्डी’, ‘वान्टेड’, ‘ब्राइड बार्स’, ‘जेनिफर्स बडी’, ‘टेक मि होम टुनाइट’, ‘मनी बल’, ‘द फाइभ–इयर इन्ग्याजमेन्ट’, ‘जिरो डार्क थर्डटी’ र ‘मोभी ४३’ मा राम्रो अभिनय गरेर उनी दर्शकहरूको मन जित्न सफल भए । उनले ‘द हन्ट्रेस’ र ‘द ओसी’ जस्ता टेलिभिजन सोहरूमा अतिथि या सहायक नायकका रूपमा पनि खेलेका छन् । ‘इभरउड’ र ‘पार्क एन्ड रिक्रिएसन’ मा आफ्नो अभिनय देखाएर व्यापक चर्चामा पनि आउन सफल भए ।


विद्यालयमा छँदा उनी निकै लोकप्रिय थिए । हरेक सामाजिक गतिविधिमा उनी सक्रिय भई सहभागी हुन्थे । उनी फुटबल टिममा फुलब्याक खेलाडी पनि बनेका थिए । आफ्ना साथीहरू माझ लोकप्रिय भएकै कारण उनलाई स्कुलको दीक्षान्त समारोहका भाषण दिन आग्रह कक्षामित्रहरूले गरेका रहेछन् ।


भाषण दिन अलिक असजिलो मान्थे । साथीहरूको आग्रहलाई अस्वीकार भने गरेनन् । एउटा स्थानीय कागजका टुक्रामा उनका पूर्व कक्षासाथीले लेखिदिएको भाषण पढेर ताली खान सफल भए । स्कुलमा रेसलिङ टिमले हात पारेको सफलताबारे एउटा डकुमेन्ट्रीसमेत उनले बनाए । त्यसो डकुमेन्ट्री ईएसपीएनको चलचित्र फेस्टिभलमा प्रदर्शित पनि भयो । पछि एमटीभीको ‘ट्रयु लाइफ’ मा समेत देखाइयो ।


क्रिस प्राटसँग जोडिएको अर्को रोचक प्रसंग पनि छ । एक जना साथीले उनको आर्थिक अवस्था हेरेर दया आएपछि विमानको टिकट कटाएर हवाई पठाएका थिए । त्यहाँ उनको भविष्य बन्ने विश्वास ती साथीको थियो । उनी हवाई पुगे तर खान र बस्न चाहिँ केही दिन समस्या भएको थियो ।


उनी कारबाहिर र भित्र बसेरै पनि कयौं रात बिताएका थिए । बुब्बा गुम्पसमा एउटा सर्भरका रूपमा काम गर्नुअघि उनी दैलोदैलोमा सहुलियत दरको कुपनको टिकट बेच्ने गर्थे । उनी टिकट बेच्नका लागि पिरामिड स्किम उपयोगमा ल्याएका थिए । दुई वर्षपछि उनी आफ्नै कार्यालय खोलेर अन्यलाई टिकट बिक्रीमा लगाए ।


(एजेन्सीहरू)

प्रकाशित : मंसिर १५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?