३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पुनर्बिमाबापत ९ अर्ब बाहिरियो

बिमा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बढेको र स्थानीय कम्पनीले पुनर्बिमाको काम सुरु गरेकाले बाहिरिने रकम घट्दो छ 
यज्ञ बञ्जाडे

काठमाडौँ — गत आर्थिक वर्ष पुनर्बिमाबापत मुलुकबाट ९ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ । यो जोखिम सुरक्षणका लागि नेपाली बिमा कम्पनीले विदेशी कम्पनीसँग गरेको पुनर्बिमाबापतको भुक्तानी हो ।

पुनर्बिमाबापत ९ अर्ब बाहिरियो

आर्थिक वर्ष ०७३/७४ को तुलनामा गत वर्षको पुनर्बिमाबापतको भुक्तानी (शुल्क) कम हो । अघिल्लो आर्थिक वर्ष बिमा कम्पनीले पुनर्बिमाबापत भुक्तानी गर्दा कुल ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको थियो ।


उक्त अवधिमा बिमा कम्पनीको पुँजीगत आधार बढ्नुका साथै नेपाल पुनर्बिमा कम्पनीसँगको व्यवसाय बढेकाले बाहिरिने रकम घटेको विज्ञहरूले जनाएका छन् । मुलुकबाट बाहिरिएको रकममध्ये निर्जीवन बिमा कम्पनीले ७ अर्ब ८८ करोड र जीवन बिमा कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।


बिमा जोखिम सुरक्षण गर्ने माध्यम हो । बिमितको जोखिम सुरक्षण गर्न बिमा कम्पनीले बिमा गर्छन् । यसरी बिमितको जोखिम बहन गरेपछि बिमा कम्पनीको पनि जोखिम बढ्छ । यसकारण कम्पनीले पनि आफ्नो जोखिम स्थानान्तरण गर्नुपर्छ । कम्पनीको जोखिम बहन गर्ने काम पुनर्बिमा कम्पनीको हो । यसरी आफूले बहन गरेको जोखिम स्थानान्तरण (सुरक्षण) का लागि कम्पनीले पुनर्बिमा कम्पनीसँग बिमा गर्छन् । यसलाई पुनर्बिमा (रिइन्स्योरेन्स) भनिन्छ ।


हाल नेपालमा एउटा मात्र (नेपाल पुनर्बिमा कम्पनी) पुनर्बिमा कम्पनी छ । यसकारण नेपाली बिमा कम्पनीले विभिन्न राष्ट्रका पुनर्बिमा कम्पनीसँग बिमा गर्दै आएका छन् । उल्लिखित रकम त्यही पुनर्बिमा शुल्कबापत मुलुकबाट बाहिरिएको हो ।


हाल बिमा कम्पनीले आफ्नो पुँजी र सञ्चिति (नेटवर्थ) को ०.५ देखि ५ प्रतिशतसम्मको जोखिम आफैं बहन (रिटेन्सन) गर्न सक्छन् । यसरी पाँच प्रतिशतसम्म जोखिम बहन गर्न कम्पनीले अन्य विविध प्रकारका मापदण्ड पनि पूरा गर्नुपर्छ । सरल भाषामा बुझ्दा कम्पनीले संकलन गरेको कुल बिमांकमध्ये ५ प्रतिशतसम्म जोखिम आफैं बहन गर्न सक्छन् । बाँकी ९५ प्रतिशत स्वदेशी तथा विदेशी पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्नुपर्छ ।


तथ्यांकअनुसार गत आर्थिक वर्ष २० वटा निर्जीवन बिमा कम्पनीले विदेशी पुनर्बिमा कम्पनीलाई ७ अर्ब ८८ करोड रुपैयाँ शुल्क तिरेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्षको यस्तो शुल्क करिब ४२ करोड रुपैयाँले कम हो । आर्थिक वर्ष ०७३/७४ मा निर्जीवन बिमा कम्पनीले विदेशी पुनर्बिमा कम्पनीलाई ८ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेका थिए ।


अघिल्लो वर्षको तुलनामा जीवन बिमाको यस्तो शुल्क भने बढेको छ । गत आर्थिक वर्ष जीवन बिमा कम्पनीले पुनर्बिमाबापत विदेशी कम्पनीलाई १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्ष ती कम्पनीको यस्तो भुक्तानी करिब १ अर्ब रुपैयाँ थियो ।


पुँजी वृद्धिपछि कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता (रिटेन्सन) बढेकाले पुनर्बिमाबापत बाहिरिने रकम घटेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ‘कम्पनीको पुँजीगत आधार बढेपछि रिटेन्सन क्षमता पनि बढछ,’ उनले भने, ‘गत वर्ष पनि त्यही भएको होला ।’ कम्पनीहरूले नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्ने क्रम बढेकाले पनि मुलुकबाट बाहिरिने रकममा कमी आएको उनको भनाइ छ ।


कम्पनीको ‘रिटेन्सन’ क्षमतामा वृद्धि भएकै कारण गत वर्ष विदेशी पुनर्बिमा कम्पनीसँगको कारोबारमा कमी आएको हुन सक्ने बिमक संघका पूर्वअध्यक्ष विजयबहादुर शाहले बताए । ‘क्षमता पनि बढेको छ,’ उनले थपे, ‘स्वदेशी पुनर्बिमा कम्पनीसँगको पुनर्बिमा कारोबार पनि बढेको छ ।’


आउँदा वर्षमा पुनर्बिमाबापत बाहिरिने रकम घटदै जाने विज्ञहरूको अनुमान छ । कम्पनीले आफ्नो कुल बिमांकको न्यूनतम २० प्रतिशत नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्नुपर्ने सरकारको निर्देशनले आउँदा वर्षमा बाहिरिने रकम स्वदेशमै रोकिने उनीहरूको तर्क छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको थियो ।


यसैगरी गत वर्ष नेपाल पुनर्बिमा कम्पनीले करिब ४ अर्ब रुपैयाँको कुल कारोबार गरेको छ । यो गत वर्षको लक्ष्यभन्दा केही बढी भएको नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । जसमध्ये करिब ६५ करोड रुपैयाँ विदेशी बिमा तथा पुनर्बिमा कारोबारबापत प्राप्त भएको हो । गत वर्ष कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य राखेको थियो ।


चालु आर्थिक वर्ष यो कम्पनीले करिब ७ अर्ब बराबरको कारोबार गर्ने लक्ष्य तय गरेको छ । ‘लक्ष्यमध्ये १ अर्ब विदेशी बिमा तथा पुनर्बिमा कम्पनीबाट र बाँकी ६ अर्ब स्वदेशमै कारोबार विस्तार गरी प्राप्त गरिनेछ,’ भण्डारीले भने, ‘उक्त कारोबारमा रेट्रोसेसनबापत वार्षिक करिब ७६ करोड रुपैयाँ मात्र भुक्तानी हुनेछ ।’


बिमा कम्पनीको जोखिम पुनर्बिमा कम्पनीले सुरक्षण गरे जस्तै पुनर्बिमा कम्पनीको जोखिम पनि अर्का त्यस्तै कम्पनीमा स्थानान्तरण गरिन्छ । यसरी एउटा पुनर्बिमा कम्पनीको जोखिम अर्को त्यस्तै कम्पनीले बहन गर्ने कामलाई ‘रेट्रोसेसन’ भनिन्छ । नेपाल पुनर्बिमा कम्पनीले विदेशी बिमा र पुनर्बिमा कम्पनीसँग ‘रिइन्स्योरेन्स’ तथा ‘रेट्रोसेसन’ बापत प्राप्त गरेको रकम हो । हाल पुनर्बिमा कम्पनीले विभिन्न ३० राष्ट्रका ५५ भन्दा बढी बिमा र पुनर्बिमा कम्पनीसँग कारोबार गर्दै आएको जनाएको छ ।


बिमा विधेयकमा छलफल

संघीय संसदको अर्थ समितिले बुधबारदेखि प्रस्तावित बिमा विधेयकबारे छलफल सुरु गरेको छ ।


छलफलमा राजस्व सचिव शिशिर ढुंगानाले बिमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वासनीय बनाई त्यसको विकास गर्न नयाँ बिमा ऐन विधेयक तयार पारिएको बताए । ‘नयाँ ऐनले बिमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बिमा सेवा उपलब्ध हुनेछ,’ उनले भने, ‘बिमा व्यवसायको प्रभावकारी रूपमा नियमन गरी बिमितको हक हित संरक्षण हुनेछ ।’


बुधबार समितिले प्रस्तावित विधेयकबारे अर्थ मन्त्रालयको धारणा बुझेको छ । आउँदा दिनमा सरोकारवालाहरूलाई डाकेर उनीहरूको राय लिने र त्यसपछि विधेयकबारे दफाबार छलफल गरिने बताइएको छ । उक्त विधेयकमा ८५ वटा संशोधन परेका छन् ।

प्रकाशित : मंसिर १३, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?