१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अप्ठ्यारो भनिएको समयमा बैंकको नाफा उच्च

यज्ञ बञ्जाडे

काठमाडौँ — अप्ठ्यारो भनिएको समयमा पनि वाणिज्य बैंकहरूले उच्च नाफा कमाएका छन् । लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरू आत्तिएको र केही बैंकले ऋण प्रवाह रोकेको समयमा पनि बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको हो ।

अप्ठ्यारो भनिएको समयमा बैंकको नाफा उच्च

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वटा वाणिज्य बैंकले १४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाए । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो करिब ४६ प्रतिशतले बढी हो । ०७४ असोजसम्म ती बैंकको खुद नाफा ९ अर्ब ८१ करोड रुपैयाँ थियो ।

आइतबारसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । उक्त अवधिमा नीतिगत सुविधा र चलाखीका कारण उच्च नाफा आर्जन गर्न सफल भएको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले बताए ।

‘राष्ट्र बैंकले यसअघि दैनिक रूपमा सीसीडी नपुर्‍याए कारबाही गर्दै आएकामा अहिले मासिक रूपमा पुर्‍याए पुग्ने छुट दिएको छ,’ उनले भने । योसँगै बैंकहरूले निक्षेपको ब्याज घटाए तर आक्रमक रूपमा कर्जा प्रवाह गरे । ‘बैंकहरूले भने अनुसार नै लगानीयोग्य रकम नभएको समयमा उच्च नाफा सान्दर्भिक छैन,’ उनले थपे, ‘अहिले पनि नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आय र सञ्चालन आय देखिएको छ ।’ बैंकहरू पारदर्शी भएपछि अप्ठयारो परिस्थितिमा उच्च नाफा कमाउँदै आएको उनको भनाइ छ ।

बैंकहरूले उपभोक्ताबारे नसोच्ने भएकै कारण उच्च नाफा कमाउन सफल भएको एक पूर्वबैंकरले आरोप लगाए । ‘बैंकिङमा नाफामा धेरै ध्यान दिइन्छ, जसरी पनि नाफा बढाउने ध्याउन्नमा बैंक हुन्छन्,’ ती अधिकारीले थपे । पछिल्ला केही महिनामा उपभोक्ताले निक्षेपमा केही बढी ब्याज पाएको देखिए पनि ऋण लिने ग्राहकले सधै मर्कामा पर्ने गरेको उनले बताए ।

बैंकरहरूले भने रकमको आधारमा नाफा बढेको देखिए पनि सेयरधनीको प्रतिफल (आरओई) घटेको बताएका छन् । बजारमा ऋणको माग उच्च रहेको अवस्थामा अपेक्षित रूपमा निक्षेप बढ्न नसक्दा बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव छ ।

दीर्घकालीन निक्षेप (स्रोत) जुटाउन बैंकले राष्ट्र बैंक र सरकार (अर्थ मन्त्रालय) लाई गुहारिरहेको छ । यही कारण बैंकहरूको नाफा घट्ने अनुमान गरिएको थियो । अपेक्षा विपरीत बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ । अर्थतन्त्रका अन्य क्षेत्रहरूको तुलनामा वित्तीय क्षेत्र पारदर्शी र विकसित देखिएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये नेपाल बैंक नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । बाँकी सबै बैंकको मुनाफा बढेको छ । २७ वटा बैंकमध्ये १ अर्ब ५ करोड ४६ लाख रुपैयाँसहित नेपाल इन्भेस्टमेन्ट सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

यसैगरी १ अर्ब ५ करोड २४ लाख रुपैयाँ कमाएर नबिल बैंक धेरै नाफा आर्जन गर्नेको दोस्रो नम्बरमा छ । बाँकी बैंकले १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाएका छन् । मर्जर तथा एक्विजिसनमार्फत पुँजी बढाएका मेगालगायत बैंकको नाफा वृद्धिदर पहिलो तीन महिनामा धेरै उच्च देखिएको छ । यही कारण २७ वटा बैंकको नाफा वृद्धिदर औसत करिब ७० प्रतिशत छ ।

गएको पहिलो तीन महिनामा अधिकांश बैंकको आधार दर (बेस रेट) घटेको छ । गत असारमा वाणिज्य बैंकको औसत आधार दर १०.५७ प्रतिशत रहेकोमा गत असोजमा १०.३६ प्रतिशतमा ओर्लेको छ । उक्त अवधिमा केही बैकको आधार दर सामान्य बढे पछि अधिकांशको घटेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार आधार ब्याजदर घटेपछि बैंकले ऋणको ब्याजदर पनि घटाउनु पर्छ । राष्ट्र बैंकले आधार ब्याजदरका आधारमा त्रैमासिक रूपमा ब्याजदर समायोजन गर्न निर्देशन दिएको छ । यद्यपि केही बैंकले उक्त निर्देशन पालना गरेका छैनन । ‘बैंकको गतिविधि राष्ट्र बैंकले सूक्ष्म रूपले सुपरिवेक्षण गर्नुपर्छ,’ एक बैंकरले भने ।

गत वर्षभरि नै कर्जा विस्तारको तुलनामा निक्षेप संकलन धेरै कम रहयो । यसकारण निक्षेप र कर्जाबीच असन्तुलन भएपछि कर्जा निक्षेप र पुँजी अनुपात (सीसीडी) मा दबाब पुग्यो । यो क्रम यो वर्षको पहिलो त्रैमासमा पनि स्पष्ट रूपमा देखिएको छ ।

गत असोजसम्म ९ वटा बैंकको सीसीडी ७९.५० प्रतिशत भन्दा बढी छ । यस्तै ६ वटाको ७८ प्रतिशतभन्दा बढी, ७ वटाको ७७ प्रतिशतभन्दा धेरै, तीन वटाको ७५ प्रतिशतभन्दा धेरै छ । यसैगरी गत असारमा नेपाल बैंकको सीसीडी अनुपात ७१.०९ र स्टयान्डर्ड चार्टर्ड बैंकको ६८.३४ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

उक्त अवधिमा धेरै बैंकको निक्षेप वृद्धिदर ऋणात्मक छ भने घनात्मक हुनेको पनि वृद्धिदर न्यून छ । सोही अवधिमा सबै बैंकको कर्जा तथा सापटी बढेको छ । कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) पनि धेरै बैंकको बढेको देखिन्छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?