कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बैंक अस्वस्थ प्रतिस्पर्धामा उत्रिए’

नियामक निकाय नीतिगत रूपमा स्थिर हुन सकेन, चलखेल गर्न चाहने केही बैंकहरूले त्यही कमजोरीको फाइदा उठाइरहेका छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा मौलाउँदै गएको विज्ञहरूले आैंल्याएका छन् । नयाँ योजनासहित निक्षेप संकलनको दायरा विस्तार गर्नुको साटो बैंकबीच निक्षेप खोसाखोस, ब्याजदर नियन्त्रण, आक्रामक रूपमा कर्जा विस्तारलगायत प्रवृत्ति बढेकाले वित्तीय असन्तुलनको अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।

नेसनल बैंकिङ इन्स्टिच्युटले बुधबार आयोजना गरेको ‘इथिक्स इन बैंकिङ’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।


नैतिकताको सवालमा बैंक तथा वित्तीय संस्था निकै पछि परेका र पछिल्ला दिनमा यस्तो प्रवृति बढदै गएको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले बताए । ‘बैंकिङ क्षेत्रमा व्यावसायिक नैतिकता नाघ्ने क्रम रोकिएन,’ उनले भने, ‘केही बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी तथा सञ्चालकमा निहित स्वार्थ देखिन्छ ।’ यस्तो अवस्थामा नियामक निकाय राष्ट्र बैंकले प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण बढाउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । ‘नियामक निकाय नीतिगत रूपमा स्थिर हुन सकेन, चलखेल गर्न चाहने केही बैंकहरूले त्यही कमजोरीको फाइदा उठाइरहेका छन्,’ उनले भने ।


आफूले नियमन तथा सुपरिवेक्षण गर्ने संस्थासँग व्यावसायिक सम्बन्ध मात्र कायम गर्नुपर्नेमा बाध्यता र स्वार्थका कारणले बैंकिङ नौतिकता नाघ्ने काम भइरहेको उनले आरोप लगाए । ‘दसंैमा रक्सी, तिहारमा भाइमसलालगायत विभिन्न किसिमका उपहारको प्रवृत्ति मौलाउँदै छ,’ उनले थपे, ‘सुन्दा सामान्य लागे पनि यस्तो प्रवृत्तिले निर्णय प्रक्रिया निकै प्रभावित हुन्छ ।’


राष्ट्र बैंकका कर्मचारीले आफ्ना नातागोतालाई बैंक तथा वित्तीय संस्थामा जागिर दिन दबाब दिने गरेको पनि उनले बताए । ‘यस्तो प्रवृत्तिले राष्ट्र बैंकलाई कमजोर बनाउँछ, नियामक निकाय कमजोर हुँदा वित्तीय अराजकता बढ्छ,’ उनले थपे, ‘वित्तीय अराजकताले अर्थतन्त्रमै जोखिम निम्त्याउँछ ।’


राष्ट्र बैंकले जारी गर्ने नीतिमा स्थिरता हुन नसक्दा वित्तीय अराजकता मौलाउँदै गएको उनको भनाइ छ । नीति निर्देशन जारी गर्नुअघि त्यसको असर तथा प्रभावबारे पूर्वअध्ययन तथा विश्लेषण नगरी हचुवाको भरमा नीति बनाउँदा राष्ट्र बैंकको विश्वासनीयता घट्ने उनले बताए ।


वित्तीय क्षेत्र बैंकिङ नैतिकता (बैंकिङ इथिक्स) अनुसार सञ्चालन हुन नसकेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बताए । ‘बैंकिङ क्षेत्र जसरी सञ्चालन हुनुपर्ने हो, त्यसरी हुन सकेन,’ उनले भने ।


बैंक तथा वित्तीय संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढेको, ब्याजदर नियन्त्रित (बढाउन/घटाउन) अभ्यास चलिरहेको, अनुत्पादक क्षेत्रमा ठूलो लगानी विस्तार भएको लगायत कारण बैंकिङ क्षेत्रले नैतिकता भुलेको ज्ञवालीले दाबी गरे । ‘नीति निर्देशन पूर्ण रूपमा पालना भएन ।’ उनले भने, ‘सरोकारवालाबीच स्वार्थ बाझियो ।’ विगतमा भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) बाट आएको एक टोलीले ५० प्रतिशत नेपाली बैंक समस्यामा रहेकाले खारेजीमा लान सुझाएको स्मरण गर्दै उनले भने, ‘विगतमा लाइसेन्स वितरणमा उदार नीति ल्याएकै कारण अहिलेको अवस्था आएको हो ।’


च्याउसरी बैंक तथा वित्तीय संस्था खुल्न थालेपछि मर्जर र एक्विजिसनमार्फत संख्या घटाउने नीति ल्याइए पनि त्यो प्रभावकारी हुन नसकेको उनको आरोप छ । ‘सुरुमा राम्रो थियो, पुँजी वृद्धिको निर्देशनपछि मर्जरले प्राथमिकता पाएन । बैंकहरू हकप्रद र बोनस सेयरबाटै पुँजी बढाए ।

परिणाम अपेक्षित रूपमा बैंक घट्न सकेन ।’ हाल सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था अर्थतन्त्रका लागि धेरै भएको उनले बताए । धेरै भएकै कारण बैंकहरूले नैतिकता नाघ्दै गएको, वातावरणमैत्री हुन नसकेकोलगायत कारण वित्तीय अराजकता मौलाउँदै गएको उनले बताए ।


विगतमा सञ्चालकले शक्ति दुरुपयोग वा स्वार्थअनुसार निर्णय गरेकाले करिब डेढ दर्जन संस्था समस्याग्रस्त भएको स्मरण गर्दै उनले भने, ‘त्यो प्रवृत्तिमा केही सुधार भए पनि निर्मूल भएको छैन । आफूले भनेको मान्ने प्रमुख कार्यकारी राख्ने र सबै निर्णयमा हस्तक्षेप गर्ने प्रवृत्ति अझै रोकिएन ।’ बैंकिङ इथिक्सले दैनिक व्यवस्थापन र दैकिन कामकाजमा सञ्चालकले कुनै प्रकारको हस्तक्षेप गर्न नहुने भन्दै उनले थपे, ‘यही बाटै नौतिकता तोड्ने काम भएको छ ।’


बैंक तथा वित्तीय संस्थाले थोरै कर्मचारीबाट धेरै काम लिन खोज्दा नोट व्यवस्थापन गर्न अप्ठयारो भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले बताए । कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकहरूले नैतिकता ननाघेको दाबी गरे । ‘अपवादबाहेक सबै बैंक तथा वित्तीय संस्थाले पूर्ण रूपमा नैतिकता पालना गरेका छन्,’ उनले भने ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?