लाङटाङ पदमार्गमा पर्यटकको लर्को

बलराम घिमिरे

रसुवा — काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्येमा लाङटाङ पनि एक हो । यही कारणले लाङटाङमा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्छन् ।

त्यसैले लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको होटल व्यवसायीहरु बताउँछन् ।

लाङटाङ जाने पर्यटक चेरर्कोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । ५ हजार मिटर अग्लो चेरर्कोरीबाट एक दर्जन हिमाल देखिने भएकाले क्यान्जिन पुगेका ८५ प्रतिशत पर्यटक त्यहाँ जाने गरेका छन् । अंग्रेजी पात्रोअनुसार सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटक घुम्ने सिजन हो । मौसम सफा भएकाले लाङटाङ पदमार्गमा पर्यटहरुको बाक्लो उपस्थिति रहेको छ ।

अचेल स्याफ्रुबेंसीदेखि क्याङजिनसम्म बाटैभरी पर्यटक देख्न सकिन्छ । दैनिक ६० देखि ७० जना विदेशी पर्यटक लाङटाङ घुम्न गइरहेका छन् । पर्यटकलाई सेवा दिन अहिले होटल व्यावसायीहरुलाई भ्याइनभ्याइ छ । स्याफ्रुबाट करिब दुई दिनको पैदल यात्रामा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्नका लागि पर्यटकहरु पुग्छन् । भोलिपल्ट बिहानै खाजा खाएर हिंड्दा रिभरसाइड, उडल्याण्ड, घोडा तबेला थाङस्याब, गुम्बाडाँडा हुँदै लाङटाङ पुगिन्छ । केही पर्यटक त्यहाँ बस्छन् भने केही मुण्डु, सिन्दुम हुँदै क्याङजिन पुग्छन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले लाङटाङ क्षेत्रको पर्यटनमा ठूलो क्षति पुगेको थियो । सुन्दर पर्यटकीय क्षेत्र लाङटाङ अहिले पुनर्निर्माणसँगै पुरानै अवस्थामा पुगेको छ । लाङटाङ पदमार्गमा पर्यटक बस्न सुरक्षित होटल र घर बनिसकेको होटल व्यवसायी ढिण्डुप तामाङले बताए ।

'लाङटाङ पुनर्निर्माण भएसँगै घुम्न आउने पर्यटकहरुको संख्या बढेर अहिले भूकम्प जानुभन्दा अगाडिकै अवस्थामा पुगेको छ' तामाङले भने । पदमार्गमा आउने पर्यटकले रसुवाकै पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लासियर र बस्ती नजिकैबाट एक दर्जनभन्दा बढी हिमाल अवलोकन गर्न सक्ने होटल व्यावसायी ङेरुप लामाले बताए । उनका अनुसार भूकम्पपछि लाङटाङको अवस्था हेर्न आउने पर्यटकहरु पनि बढेका छन् । लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्ग मानिन्छ ।

प्रकाशित : कार्तिक २८, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्

भूस पोल्ने मेला

कान्तिपुर संवाददाता

बागलुङ — ताराखोलाको अर्गलका मगर समुदायले भूस पोल्ने मेला गरेका छन् । पाल्पाको अर्गलीबाट ताराखोलामा बसाइँ आउँदा खोरिया फाँडेर बस्ती बसेको सम्झनामा यस्तो मेला बर्सेनि कात्तिक अन्तिम साता गर्ने गरिन्छ । 

पाल्पाको अर्गलीबाट आएको हुनाले ताराखोला २ को बस्तीको नाम पनि अर्गल रहेको जनविश्वास छ । अर्गली मगर समुदायका सदस्यले घामको झुल्कोसँगै विधिवत् प्रकृति पूजापछि भूस पोल्न सुरु गर्छन् । पर्वका रूपमा गरिने यो मेलामै वर्षभरी निधन भएकाहरूको सम्झनामा श्राद्ध गर्ने गरिन्छ । यो पूजापछि हिउँदे अन्नबाली लगाउने समय सुरु भएको विश्वास गरिन्छ ।

अर्गली पूजा र भूस पोलेपछि धान काट्ने समय सुरु हुने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । भूस पोल्ने र खेतबारी खन्ने काममा तन्नेरीहरू हानथाप गर्छन् । पर्व मनाउन गाउँभरिका बासिन्दा सहभागी हुन्छन् । खेतबारी खनेर भूस पोलेपछि सबै मिलेर गाउने र नाच्ने पनि गरिन्छ ।

प्रकाशित : कार्तिक २८, २०७५ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्