कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विदेश भ्रमणमा २० अर्ब

यज्ञ बञ्जाडे

काठमाडौँ — घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिंदै गएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ ।

विदेश भ्रमणमा २० अर्ब

यही अवस्थामा भ्रमण (घुम्न) र अध्ययनका लागि पनि अर्बौं रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाइसमेत गरेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष भ्रमण र अध्ययनका लागि मात्र ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशतको वृद्धि हो । यो मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब साढे १ प्रतिशत हो । अघिल्लो वर्ष अध्ययन र घुम्नका लागि करिब साढे ३६ अर्ब रुपैयाँ बाहिरिएको थियो ।


पछिल्ला वर्षमा भ्रमण, तीर्थव्रत, अध्ययन र उपचारका लागि विदेशिने चलन बढेको छ । तीमध्ये अध्ययनका लागि मात्र गत आर्थिक वर्ष विद्यार्थीले करिब २७ अर्ब रुपैयाँ बराबरको डलर सटही गरेका छन् । आर्थिक वर्ष ०७३/७४ मा विद्यार्थीले २१ अर्ब रुपैयाँ बराबर डलर सटही गरेका थिए ।

यसैगरी गत आर्थिक वर्ष विदेश भ्रमणका लागि राहदानीबापत नागरिकले करिब २० अर्ब रुपैयाँ (१९ अर्ब ७० करोड ) बराबर डलर सटही गरेको सरकारी तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यो साढे १५ अर्ब रुपैयाँ थियो । यो राहदानी बापत (अध्ययन बाहेक) सटही भएको विदेशी मुद्राको विवरण हो ।

तथ्यांकमा राहदानी बापतको कुल विदेशी मुद्रा सटही समावेश छ । तथ्यांकमा भ्रमण, उपचार, इष्टमित्र भेटघाटलगायत प्रयोजनका लागि कति नागरिक बाहिरिए भन्ने खुलाइएको छैन । यद्यपि विदेशी मुद्रा सटहीको क्रममा अघिकांशको उद्देश्यमा भ्रमण (घुम्न) उल्लेख रहेको राष्ट्र बैंकले जनाएको छ ।

सामान्य अर्थमा बुझ्दा विदेश घुम्ने नागरिक बढ्नु मुलुकको आर्थिक अवस्था सुधारको संकेत हो । यसको अर्थ नागरिकले आम्दानीको केही भाग घुम्नकै लागि खर्चिन थाले भन्ने हो । समग्रमा हेर्दा यो राम्रो भए पनि नेपाल जस्तो संक्रमणकालीन अर्थतन्त्रका लागि यो राम्रो नभएको विज्ञहरू बताउँछन् ।

यो प्रवृतिले आन्तरिक (घरेलु) पर्यटनलाई प्रवद्र्धन गर्नुको साटो ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने उनीहरूको भनाइ छ । प्रचार प्रसारमा नआएका तर धेरै राम्रा पर्यटकीय स्थलहरू नेपालमा छन् । तीनको प्रवद्र्धन र प्रचार प्रसार गर्नुको साटो थोरधेर बचत पनि विदेश घुम्न जाने प्रवृत्ति बढ्नु राम्रो नभएको उनीहरूको धारणा छ ।

घुम्नकै लागि विदेशिने क्रम बढेपछि धेरै विदेशी मुद्रा पनि बाहिरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुङ्गानाले बताए । यो प्रवृत्ति नियन्त्रण गर्न डलर सटही सुविधामा कडाइ गरिएको उनले दाबी गरे । ‘स्वदेशी पर्यटनलाई प्रवद्र्धन र विदेशी पर्यटनलाई निरुत्साहित गर्न यस्तो नीति ल्याइएको हो,’ उनले भने ।

राष्ट्र बैंकले गत मंगलबारदेखि राहदानी बापत दिइँदै आएको डलर सटही सुविधाको सीमा घटाएर प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर बनाएको छ । बिना प्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको ढुङ्गानाले दाबी गरे ।

तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानी बापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो । यसैगरी राष्ट्र बैंकले विदेश जाँदा प्रयोग गरिने टेलिग्राफिक ट्रान्सफर (टीटी) को सीमा पनि घटाएर एक पटकमा ३० हजार अमेरिकी डलर बनाएको छ । यसअघि यस्तो सीमा प्रतिपटक ४० हजार अमेरिकी डलर थियो ।

मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धन गर्नकै लागि सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने तयारी गरेको छ । उक्त अवसरले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले तय गरेको छ । उक्त लक्ष्य प्राप्तिका लागि पनि स्वदेशी पर्यटकीय स्थलको व्यापक प्रचार प्रसार गर्नुपर्ने छ । यसका लागि सुरुमा आन्तरिक पर्यटनको विकास र विस्तार गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

आयात, भ्रमण, अध्ययन, उपचार लगायत विभिन्न बहानामा निरन्तर रूपमा विदेशी मुद्रा बाहिरिरहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौसम्म ११ खर्ब १७ अर्ब रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ७५ करोड छ । गत असारको तुलनामा यो ३.४ प्रतिशतले कम हो । ०७५ असारमा १० अर्ब ८ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २.२ प्रतिशतले घटेर ९ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । ०७५ असारमा यस्तो सञ्चिति ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ थियो । गत भदौसम्मको मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.६ प्रतिशत रहेको जनाइएको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?