१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हिल्साबाट १० हजार मानसरोवर

जयबहादुर रोकाया

हुम्ला — हिल्सा नाका हुँदै यस वर्ष ९ हजार ९ सय १५ भारतीय तीर्थयात्री मानसरोवर–कैलाशतर्फ गएका छन् । हिल्सा नाका भएर चीनको तिब्बतस्थित कैलाश र मानसरोवर तीर्थ गर्ने भारतीयको संख्या यस वर्ष घटेको छ ।

चिसो मौसम सुरु भएसँगै तीर्थयात्राको सिजन सकिएको व्यवसायीले जनाएका छन् । नेपालस्थित भारतीय दूतावासका हुम्ला प्रतिनिधि जनकबहादुर शाहीका अनुसार चार हजार पाँच सय १८ महिला र पाँच हजार तीन सय ९७ पुरुषले हिल्सा नाका हुँदै तीर्थयात्रा गरेका छन् । उनका अनुसार तीर्थयात्रा गर्न आएका १२ जनाले लेक लागेर र अन्य कारणले यस वर्ष ज्यान गुमाएका छन् ।


हुम्लाको मार्ग हँुदै गत वर्ष १२ हजार ९ सय भारतीयले तीर्थयात्रा गरेका थिए । भारतीय तीर्थयात्रीले वैशाखदेखि असोजसम्म तीर्थयात्रा गर्ने गरेका छन् ।


भारतीय तीर्थयात्रीले सन् २००६ देखि हिल्सा मार्ग प्रयोग गर्न थालेका थिए । २०७२ सालको भूकम्पपछि तातोपानी नाका बन्द हुँदा हुम्लाको हिल्सा नाका भएर तीर्थयात्रा गर्नेको संख्या ह्वात्तै बढेको थियो । मानसरोवर कैलाश तीर्थयात्रा गर्ने ५४ भारतीयले २००६ मा पहिलोपटक हिल्सा मार्ग प्रयोग गरेका थिए । यस वर्ष चीनले केरुङ नाका पनि खोलेका कारण हुम्ला भएर यात्रा गर्नेको संख्या घटेको शाहीको भनाइ छ ।


भारतीय पर्यटकले केरुङ भएर आवतजावत गर्नुभन्दा हिल्सा भएर आवतजावत गर्न छोटो र सहज भएको जनाएका छन् । तर यो नाका महँगो भएको तीर्थयात्रीको गुनासो छ । केरुङभन्दा हुम्लाको हिल्सा नाका महँगो भए पनि सजिलो भएको भारतको मम्बै घाटकोयाबाट आएका कैलाश पटेलले बताएका थिए ।


उनले यात्राको अवधिमा नेपालभन्दा तिब्बतमा सास्ती खेप्नुपरेको गुनासो गरे । पटेलका अनुसार तिब्बतमा अक्सिजनका कारण श्वासप्रश्वासमा समस्या हुने गरेको छ । भारतीय तीर्थयात्रीले हुम्ला भएर यात्रा सुरु गर्न थालेपछि स्थानीयले होटलमा लगानी बढाउँदै लगेका छन् ।


सिमकोट र हिल्सामा एकपछि अर्काे गर्दै सुविधासम्पन्न होटल निर्माण भइरहेका छन् । अहिले सिमकोटमा एक दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । साना होटलको संख्या पनि पर्याप्त छ । होटल व्यवसायीले भारतीयलाई एक रातको बसाइ र खानासहित प्रतियात्रु दुई हजार पाँच सय रुपैयाँको प्याकेज बनाएका छन् ।


तीर्थयात्रीका कारण स्थानीय तहको आयस्रोत पनि बढेको छ । सिमकोट गाउँपालिकाले भारतीयबाट प्रतियात्रु एक हजार एक सय र अन्य विदेशीबाट १५ डलर सेवा शुल्क लिने गरेको जनाएको छ । उक्त रकममध्ये सिमकोट गाउँपालिकाले ६० र नाम्खा गाउँपालिकाले ४० प्रतिशत भागबन्डा गर्ने गरेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?