१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अर्बपतिका आँखा अन्तरिक्षतिर

व्यावसायिक अन्तरिक्ष यात्रा निर्माणको दौडमा सामेल हुने व्यवसायीको संख्या बढ्दो
एजेन्सी

काठमाडौँ — संसारका धनाढ्यहरू अन्तरिक्ष यात्रालाई सस्तो र व्यावसायिक रूपमा साकार बनाउने अभियानमा सामेल हुने क्रम बढ्दो छ । यिनैमध्येका हुन् अमेरिकी अर्बपति इलन मस्क, जेफ बेजोस् र बेलायती टाइकुन रिचर्ड ब्रानसन ।

अर्बपतिका आँखा अन्तरिक्षतिर

यी सबै व्यवसायीले अन्तरिक्ष यात्रा सस्तो बनाउने अभियानमा आफूलाई सामेल गर्न लगानी गरिसकेका छन् ।

अन्तरिक्ष उद्योगमा आफूलाई स्थापित गर्न यी सबै व्यवसायीहरूले एकअर्कालाई चुनौती दिइरहेका छन् । अन्तरिक्ष पर्यटनको विकास तथा चन्द्रमा र मंगल ग्रहमा मानवको स्थायी बसोबासको चाँजोपाँजो मिलाउनु यी सबैको उद्देश्य हो, समान उद्देश्यका कारण आफूलाई अब्बल सावित गर्न यी व्यवसायीबीच नै चर्को प्रतिस्पर्धा छ । यी व्यवसायीहरूले सरकारी तवरबाट अन्तरिक्ष यात्राको विकासमा भएका कमजोरीलाई आफ्नो बलियो पक्ष बनाएका छन् ।

नतिजास्वरूप, स्पेसएक्स र ब्लु ओरिजिनजस्ता कम्पनीहरू अमेरिकी सरकारको अन्तरिक्षमा हुने सैनिक अभ्यासको सारथी बनिरहेका छन् । केही अध्ययनहरूका अनुसार अन्तरिक्ष उद्योग सन् २०४० सम्ममा १० खर्ब डलरको व्यवसाय बन्ने अनुमान छ । मानव भविष्य परिवर्तन गर्दै पैसा कमाउन खोज्न कम्पनी र त्यसका नेतृत्व गर्नेहरू को हुन् ?

जेफ बेजोस् : ब्लु ओरिजिन
अमेजनका संस्थापक तथा अहिले विश्वका सर्वाधिक धनाढ्य जेफ बेजोस् अन्तरिक्ष उद्योग स्थापना गर्ने पहिलो अर्बपति हुन् । उनले सन् २००० मा अन्तरिक्ष यात्रालाई सस्तो र व्यावसायिक रूपमा सम्भव बनाउने उद्देश्यसहित ब्लु ओरिजन कम्पनी स्थापना गरेका थिए ।

अन्तरिक्ष उद्योगको दौडमा सामेल अन्य कम्पनीको तुलनामा बेजोसो कम्पनीले आफू बढी सुरक्षित रहेको पहिचान बनाएको छ । कम्पनीले पटकपटकको परीक्षणमा असफलतापछि केही धक्का नव्यहोरेको होइन ।

कम्पनीको रकेट बीइ फो इन्जिन परीक्षणका क्रममा पटकपटक असफल बनेको थियो । तर, सन् २०१६ यता हरेक वर्ष बेजोसले आफ्नो धेरै आम्दानी गर्ने कम्पनी अमेजनको १ अर्ब डलर बराबरको सेयर बिक्री गर्दै ब्लु ओरिजिनलाई जीवित राख्न लगानी गरिरहेका छन् ।

अन्य प्रतिस्पर्धी कम्पनीको जस्तै यसको उद्देश्य पनि पुनर्प्रयोग गर्न मिल्ने रकेट बनाएर अन्तरिक्ष यात्राको लागत घटाउनु हो । तर, यसअघि गरिएका कम्पनीका रकेट परीक्षणलगत्तै काम नलाग्ने बनेका थिए ।

तर, पछिल्लो समय ब्लु ओरिजिनसँग व्यावसायिकरूपमा सुरक्षित रहने गरी सरकारी कामको सम्झौता गरिसकेको छ । यसले पछिल्लो पटक अमेरिकी सरकारबाट राष्ट्रिय सुरक्षा प्रमाणपत्र समेत पाइसकेको छ ।

यो वर्षको सुरुवाततिर अमेरिकी हवाई फोर्सले ब्लु ओरिजिनलाई आफ्नो रकेट बनाउने कम्पनीका रूपमा छनौट गरेको छ । यो सम्झौताबाट कम्पनीले एक अर्ब ९ करोड डलर पाउनेछ ।

बेजोसो कम्पनीले अन्तरिक्षको तल्लो तहमा मानव पर्यटक पठाउन अन्तिम तयारी पनि गरिसकेको छ । कम्पनीले अर्को वर्षदेखि यसका लागि टिकट बिक्री गर्ने घोषणा पनि गरेको छ । कम्पनीका अनुसार एक यात्रुले एकपटक यात्रा गरेको करिब तीन लाख डलर तिर्नुपर्नेछ ।

भविष्यमा ब्लु ओरिजिनले अमेरिकी अनुसन्धान संस्था नासासँग मिलेर चन्द्रमा मानव बस्ती बसाउने विषयमा अध्ययन गर्ने योजनासमेत बनाएको छ ।

एलन मस्क : स्पेसएक्स
दक्षिण अफ्रिकामा जन्मिएका व्यवसायी एलन मस्कले सन् २००२ मा स्पेसएक्स स्थापना गरेका हुन् । उनले कम्पनी स्थापनाका लागि सुरुमा १० करोड डलर लगानी गरेका थिए । उनले स्थापना गरेको पेमेन्ट गेटवे पेपलको आम्दानीबाट स्पेसएक्सको स्थापना गरेका हुन् ।

हालसम्म कम्पनीले करिब ७० वटा रकेट परीक्षण गरिसकेको छ । यो कम्पनीले अमेरिकी निकाय नासा, अमेरिकी हवाई फोर्स र अर्जेन्टिनाको स्पेस एजेन्सीसँग कामका लागि सम्झौता गरिसकेको छ । यी निकायका लागि कम्पनीले अन्तरिक्षको वरपर सानासाना स्याटेलाइन पठाउने कामको जिम्मा लिएको हो ।

तर, कम्पनी समस्याविहीन भने छैन । कम्पनीले अमेरिकी सेनाका लागि निर्माण गरेको महँगो स्याटेलाइन परीक्षणका क्रममा केही अघि बेपत्ता भएको थियो ।

मस्क विशेषगरी आफ्नो असफलतालाई हल्का रूपमा लिने र सफलतालाई बढोत्तरी गर्ने गरी सार्वजनिक रूपमा स्टन्ट गर्न माहिर छन् । गत वर्ष उनले आफ्नो कम्पनीको रकेट लञ्च गर्दा व्यहोरेको असफलताको फुटेज पनि सगर्व सार्वजनिक गरे । उनको कम्पनीले केहीअघि आफ्नो फाल्कोन हेभी रकेटसँगै टेस्ला कार पनि पठाएको थियो ।

ब्लु ओरिजिनको जस्तै मस्कको कम्पनीको उद्देश्य पनि कुनै दिन अन्तरिक्षमा मानव पर्यटकलाई उडानमा लैजानु हो । उनले केही महिनाअघि मात्रै आफ्नो कम्पनीले चन्द्रमामा लैजाने पहिलो व्यक्ति जापानी अर्बपति युसाकु मेजावा हुने घोषणा गरेका थिए ।

स्पेसएक्सको योभन्दा ठूलो उद्देश्य भने थुप्रै पर्यटकलाई रकेटमा राखेर मंगल ग्रहमा लैजानु र चन्द्रमामा मानव बस्ती बसाउनु पनि हो । ‘म मंगल ग्रहमा मर्न चाहन्छु,’ मस्कले भनेका छन् ।

रिचर्ड ब्रानसन : भर्जिन ग्यालेक्टिक
बेलायती व्यवसायी रिचर्ड ब्रानसन अन्तरिक्ष उद्योगमा हात हाल्ने पछिल्ला व्यवसायी हुन् । उनको कम्पनी भर्जिन ग्यालेक्टिक सन् २००४ मा स्थापना भएको थियो ।

यो कम्पनीको उद्देश्य पुनर्प्रयोग गर्न मिल्ने अन्तरिक्ष बिमानको निर्माण गर्नु हो । यस्तै बिमानमा राखेर मानव पर्यटकलाई अन्तरिक्षमा डुलाउने कम्पनीको योजना छ ।

यो कम्पनीले अन्तरिक्ष यात्राका लागि अहिलेदेखि नै टिकेट बिक्री सुरु गरिसकेको छ । यात्रामा जान चाहनेले प्रतिव्यक्ति दुई लाख ५० हजार डलर तिर्नुपर्ने हुन्छ । कम्पनीको यो योजनामा पप स्टार जस्टिन बिबरजस्ता सेलिब्रेटीहरूले पनि सहभागी बन्ने सम्झौता गरिसकेका छन् । कम्पनीले अन्य कम्पनी र संयुक्त अरब इमिरेट्सबाट पनि लगानी भित्र्याएको छ ।

सन् २०१४ मा अमेरिकाको क्यालिफोर्नियामा कम्पनीले गरेको परीक्षण उडान असफल भएको थियो । उक्त असफल परीक्षणका क्रममा बिमान चालकको समेत मृत्यु भयो ।

यसैकारण, अन्तरिक्षमा पर्यटक लैजाने पहिलो कम्पनी बन्ने भर्जिन ग्यालेक्टिकको योजना सफल हुन सकेन । तर, यो असफलतापछि भने कम्पनीले धेरै वटा सफल परीक्षण गरिसकेको छ ।

प्रकाशित : कार्तिक ७, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?