२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चिनियाँ विश्वास जित्ने प्रयास

ऊर्जामा लगानी
कान्तिपुर संवाददाता

बेइजिङ — सरकारले नेपालको जलविद्युत क्षेत्र वैदेशिक लगानीमैत्री र उत्पादित विद्युतको अन्तर्राष्ट्रिय बजार सुनिश्चित रहेको भन्दै चिनियाँ लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेको छ  । ऊर्जा मन्त्री वर्षमान पुनसहित नेपाली अधिकारीले चीन भ्रमणका क्रममा लगानीकर्तालाई थप लगानी गर्न समेत आग्रह गरेको छ  ।

चिनियाँ विश्वास जित्ने प्रयास

लगानीकर्तालाई जलविद्युत क्षेत्रमा लगानीका लागि आश्वस्त पार्ने मन्त्री पुन सहितका लगानीकर्ताले भ्रमण गरेको जनाएका छन् । नेपाली अधिकारीले बेइजिङमा आयोजित एक कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको अवस्था र सम्भावना बारे चर्चा गरेका थिए । नेपाली टोलीले सोमबार बेइजिङमा आयोजित एक कार्यक्रमबीच चिनियाँ व्यवसायीसँग नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गरेको थियो ।


उक्त छलफलमा नेपाली टोलीले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा ऊर्जाको माग, उत्पादनको सम्भावना र सम्भावित बजारका बारेमा अवगत गराए । चीनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा ऊर्जा मन्त्री पुनले नेपालमा उत्पादित जलविद्युतको बजार नेपाल बाहिर समेत रहेको भन्दै लगानीका लागि आग्रह गरे । सरकारले १० वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य लिएको भन्दै उनले यसका लागि चिनियाँ लगानी भित्रिनु अपरिहार्य रहेको बताए ।


कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले नेपालमा ऊर्जाको माग, सम्भावित लगानी योग्य आयोजना र जलविद्युतमा वैदेशिक लगानीसम्बन्धी नीतिबारे जानकारी गराए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालसहित एसियाली मुलुकमा नेपालमा उत्पादित ऊर्जाको बजारबारे अवगत गराएका थिए ।


राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले चिनियाँ लगानीकर्ताहरूलाई नेपालको प्रसारण लाइन पूर्वाधारको अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले कम्पनीले अघि सारेका आयोजनाको विषयमा प्रकाश पारे । कार्यक्रममा सहभागी चिनियाँ कम्पनीका प्रतिनिधि र लगानीकर्ताहरूले जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारको योजना, विद्युत् खरिद दर, नाफाको अवस्थालगायत विषयमा विज्ञासा राखे ।

बेइजिङमा आयोजित छलफल कार्यक्रममा सहभागी भएका ऊर्जा मन्त्री पुन चिनियाँ सरकारले वान बेल्ट वान रोड अभियानअन्तर्गत आयोजना गरेको ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोजाउ पुगेका थिए ।


सोजाउमा भएको कार्यक्रममा बोल्दै मन्त्री पुनले चीनको बेल्ट एन्ड रोड इनिसियटिङ ऊर्जा सहकार्यमा सहजता थप्ने विश्वास गरे ।


सोजाऊमा ऊर्जा मन्त्री पुन र चिनियाँ उपमन्त्री लियाङ विलियाङबीच भेटवार्ता भएको थियो । भेटमा चिनियाँ उपमन्त्री विलियाङले नेपालको ऊर्जा क्षेत्रमा चिनियाँ लगानी बृद्धि गर्ने प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।


काठमाडौं–केरुङ प्रसारण लाइन, कोशी करिडोर, कर्णाली करिडोर, भेरी करिडोर, किमाथांका, फुकोट कर्णाली र तमोर जलविद्युत आयोजना सरकारको प्राथमिकतामा रहेको भन्दै मन्त्री पुनले चिनियाँ उपमन्त्रीसँग यी परियोजनामा लगानीका लागि आग्रह गरेका थिए ।


सरकारले यी आयोजनालाई बेल्ट एन्ड रोड इनिसियटिभअन्तर्गत राख्न यसअघि नै चिनियाँ पक्षलाई आग्रह गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा असारमा नेपाल र चीनबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी कार्यान्वयनका लागि दुवै देशका ऊर्जा पदाधिकारी सम्मिलित संयुक्त कार्यदल गठन भइसकेको छ । उक्त कार्यदलको पहिलो बैठक असोज दोस्रो साता काठमाडौंमा बसेको थियो ।


उक्त बैठकमा दुवै देशका ऊर्जा अधिकारीहरूले नेपाल र चीनबीच प्रस्ताव गरिएको रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको विषयमा छलफल गरेका थिए । नेपालले ऊर्जा सहकार्यसम्बन्धी समझदारी बंगलादेशसँग पनि गरेको छ । समझदारी अनुसार दुवै देशबीच ऊर्जासम्बन्धी लगानी र व्यापारको छलफलका लागि संयन्त्र गठन प्रक्रिया समेत अघि बढेको छ । बंगलादेशले सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् किन्ने योजना सार्वजनिक गर्दै संयुक्त लगानीमा जलविद्युत आयोजना बनाउन पनि प्रस्ताव गरेको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?