हुलाकी मार्गका पुल अधुरै

१८ मध्ये ५ वटामात्र सकिए
२ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा पनि अपुरो
अर्जुन राजवंशी

दमक — ठेकेदारको ढिलासुस्ती कारण झापा खण्डमा पर्ने हुलाकी राजमार्गअन्तर्गतका अधिकांश पुल निर्माणमा ढिलाइ भएको छ । ठेकेदारले नियमित काम नगर्दा ठेक्का मिति सकिएको वर्षौं बिते पनि पुल निर्माण अनिश्चित बनेको छ ।

हुलाकी मार्गका पुल अधुरै

२ र ४ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलहरू ७ वर्ष बितिसक्दासम्म आधा पनि काम भएको छैन । जिल्लाको मेचीदेखि रतुवा खोलासम्म हुलाकी राजमार्ग सडकखण्ड ४८ किलोमिटर पर्छ । हुलाकी मार्गअन्तर्गत जिल्लामा १८ वटा पुल पर्छन् । यीमध्ये पाँचवटा खोलामा मात्र पुल निर्माण पूरै सकिएको छ ।


देउनिया र गेउरिया खोलाको पुल सञ्चालनमा आइसकेको छ । काजली र भलेसा खोलामा पनि पुल निर्माण सम्पन्न भएको छ । बाँकी रहेकामध्ये अधिकांश पुल निर्माणमा ठेकेदार कम्पनीहरूले चरम लापरबाही गरेका छन् ।


नेपाल–भारत जोड्ने बहुप्रतीक्षित मेची नदीमा पुल निर्माण सम्पन्न भएको छ । तर, बाटो निर्माण नहुँदा पुल सञ्चालनमा आउन सकेको छैन । मेची पुल निर्माण सम्पन्न भएको ६ महिना बितिसके पनि बाटोको कारण बेकामे बनेको छ ।


अनक–सूर्य जेभीले तीन वर्षमा निर्माण सक्ने सम्झौता गरी ०६७ पुसमा ठेक्का लिए पनि गत वैशाखमा मात्र पुल निर्माण पूरा गरेको हो । हुलाकी सडकअन्तर्गत जिल्लामा सबैभन्दा बढी कन्काई र विरिङ नदीको पुलले महत्त्व राख्छ । तर, यी दुवै नदीको पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेका छन् । कन्काईमा वीरगन्जको पप्पु कन्स्ट्रक्सनले पुल निर्माणमा चरम ढिलाइ गरेको हो । ०६८ जेठमा ठेक्का सम्झौता भएको उक्त पुल ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, पप्पुले अहिलेसम्म ४२ प्रतिशत मात्रै काम सकेको छ ।


पुलको ठेक्का ३४ करोड ९ लाखमा लिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीबाट झापाका लागि खटिएका इन्जिनियर नन्दकुमार गुप्ताले जनाए । उनले ठेकेदारले नियमित काम नगर्दा पुल निर्माणमा ढिलाइ भएको बताए । ‘पुल निर्माणमा अन्य कुनै समस्या छैन । ठेकेदारले नियमित काम गर्ने हो भने पुल निर्माणमा यति धेरै ढिलाइ हुँदैन’ उनले भने, ‘ तर, ठेकेदार कम्पनीले राम्ररी काम गर्दैन । ४ बर्षमा सक्नुपर्ने कन्काई पुल अहिलेसम्म आधा पनि सकेको छैन ।’


जिल्लाकै अर्को ठूलो विरिङ नदीको पुल पनि ठेकेदारको ढिलासुस्तीको सिकार बनेको छ । ०६८ मा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त पुलमा अहिलेसम्म ४५ प्रतिशत मात्रै काम भएको छ ।


३ सय १९ मिटर लम्बाइको पुल निर्माणको ठेक्का लामा–मैनाचुली जेभीले लिएको हो । निर्माण कार्य सम्पन्न गर्न पटकपटक लिखित तथा मौखिक आग्रह गर्दासमेत ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको इन्जिनियर गुप्ताले बताए ।


गौरीगन्ज गाउँपालिकामा पर्ने रामचन्द्रे खोलामा ४९ मिटर लम्बाइको पुल ठेक्का लागेको ७ वर्षमा पनि निमाण सकिएको छैन । उक्त पुल निर्माणको ठेक्का बोखिम–शान्ति जेभीले लिएको हो । पुल निर्माणको ठेक्का ०६८ फागुनमा लागेको थियो ।


सम्झौतामा ०७२ फागुनमा पुल निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ । सानो पुल भए पनि ठेकेदारले केही वर्ष काम नगरेकाले पुल निर्माणमा ढिलाइ भएको गुप्ताले बताए । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जिल्ला जोड्ने रतुवामा निर्माण सम्पन्न भए पनि पुल बेकाम्मे बनेको छ । त्यहा खोलाभन्दा सानो पुल निर्माण भएको छ । उक्त पुल सुनसरी–मोरङ पुल आयोजनाले निर्माण गरेको हो । करिब ४ सय मिटर चौडाइको खोलामा २ सय ५ मिटर लम्बाइको मात्र बनाएपछि पुल बेकामे बनेको हो ।


सानो भएपछि पुल महाशाखाले हाल निर्माण भएको पुलको दुवैतर्फ आवश्यक पुल थप्न निर्देशन दिएको छ । तर, सुनसरी–मोरङ पुल आयोजनाले उक्त निर्देशनअनुसार प्रक्रिया अघि नबढाएको स्रोतको भनाइ छ । थप पुल निर्माणमा सुनसरी–मोरङ पुल आयोजनाले वास्ता नगर्दा जिल्लाका ग्रामीण भेकका जनता रतुवा खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।


राजमार्गअन्तर्गत भुतनी खोलमा पुल निर्माणको काम ६२ प्रतिशत मात्र सकिएको छ । ०७३ असारमा ठेक्का लागेको उक्त पुल ०७५ असारमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ६२.९ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि लामा–बामती जेभीले ५ करोड ७५ लाखमा ठेक्का लिएको हो ।


अन्धुवा खोलामा निर्माणाधीन पुल पनि निर्धारित मितिमा सकिएन । बीटी निर्माण सेवाले ५ करोड ३८ लाखमा ठेक्का लिएको उक्त पुल गत असार मसान्तमा सम्पन्न गर्नुपर्ने थियो । पुलको अहिलेसम्म ७३ प्रतिशत काम सकिएको छ ।


सानोमाई खोलामा निर्माणाधीन पुलमा पनि ठेकेदारले ढिलाइ गरेका छन् । ५१.२२ मिटर लम्बाइको उक्त पुल पनि गत असार मसान्तमै सक्नुपर्ने थियो । तर, अहिलेसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको इन्जिनियर गुप्ताले बताए । पुल निर्माणको काम लामा–बामतीले गरिरहेको छ ।


बीटी एन्ड शिवराम जेभीले बनियानी र कमल खोलाको पुल निर्माणमा ढिलाइ गरेको छ । उसले ती दुवै खोलामा ०७४ माघमै पुल निर्माण सक्नुपर्ने थियो । ६ करोड १४ लाखको लागतमा बनियानीमा ८४ मिटर तथा ४ करोड ९२ लाखमा कमलमा ७४ मिटर लम्बाइको पुल निर्माणको काम गरिरहेको छ । तर, अहिलेसम्म बनियानीमा ६६ र कमलमा ४० प्रतिशत मात्रै काम सकेको छ ।


हुलाकीमै पर्ने किस्ने खोलाको पुल निर्माणमा पनि ठेकेदार कम्पनीले चरम लापरबाही गरिरहेको छ । गत असार मसान्तमै सक्नुपर्ने ४९ मिटरको पुल निर्माणको काम अहिलेसम्म ३९ प्रतिशत मात्रै सकेको छ । नागार्जुन–सपना–देव एन्ड सायर जेभीले ८ करोड १८ लाखमा पुल निर्माणको ठेक्का लिएको हो ।


हुलाकीमै लामा–बामती जेभीले अर्को एउटा पुल निर्माणमा पनि ढिलाइ गरेको छ । उसले २५ मिटरको लेहरा खोलाको पुल गत असार मसान्तमै सक्नुपर्ने थियो । तर, अहिलेसम्म ४५ प्रतिशत मात्रै काम सकेको इन्जिनियर गुप्ताले जानकारी दिए ।


ठेकेदार कम्पनीले नियमित काम गरे कन्काई र विरिङबाहेक हुलाकी राजमार्ग खण्डमा पर्ने जिल्लाका आधाभन्दा बढी पुलको निर्माण चालु वर्षभित्र सम्पन्न हुने गुप्ताले बताए । उनले पुल निर्माणमा आवश्यक सामग्री तथा अन्य कुनै पक्षबाट बाधा–अवरोध नरहेको बताए ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?