काठमाडौंमा हुने उडानमा चीन भारतलाई उछिन्दै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा हुने उडानमा चीन भारतलाई उछिन्दै

सुरज कुँवर

काठमाडौँ — दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजनीतिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् । यसैको सूचीमा पर्छ, ‘एयर–कनेक्टीभीटी । पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय उडानको संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको छ ।

शनिबारदेखि चाइन साउर्दनले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । तीन वर्षअघि चीनको व्यापारीक सहर ग्वानजाव (क्वाङचाउ)–काठमाडौं–ग्वानजाव सातामा दुइटामात्रै उडान गर्दै आएको यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यावसायिक उडान गर्दै आएको छ । यसले १ सय १५ सिट क्षमताको न्यारोबडी एयरबसलाई शनिबारदेखि हटाउँदै ४ वटा फस्ट क्लास, २४ बिजनेश क्लास र १ सय ९० इकोनोमी क्लाससहित २ सय १८ सिट क्षमताको एयरबस वाइडबडी ३३० बाट उडान थालेको छ ।


विदेशी वायुसेवाहरुको छाता संगठन एयरलाइन अपरेटर्स कमिटी नेपाल (एओसीएन) का अनुसार, यो सहित चीनबाट काठमाडौंका लागि वाइडबडी विमान उडाउने एयरलाइन्सको संख्या दुई पुगेको छ । चाइना साउर्दनअघि एयर चाइनाले पनि वाइडबडी विमानबाट सेवा दिँदै आएको छ । तर, उसले यात्रुको संख्याका आधारमा वाइडबडी विमान ल्याउने गरेको छ ।

एओसीएनका अध्यक्ष सान्तनु सेन गुप्ताका अनुसार, आधा दर्जन चिनियाँ सहरबाट नेपाल आउने ६ वटा एयरलाइन्स पुगेका छन । यो भारतबाट काठमाडौंका लागि उडान गर्ने भारतीय एयरलाइन्सको तुलनामा दोब्बर हो । भारतबाट काठमाडौंका लागि उडान गर्ने एयरलाइन्सहरुले न्यारोबडी विमानबाट सेवा दिइरहेका छन् । त्यहाका एयरलाइन्सहरुले वाइडबडी विमान ल्याउने गरेका छैनन् ।


एओसीएनका महासचिव बासु लामिछानेका अनुसार, चीनको कुनमिङ्गबाट चाइना इर्स्टन, ल्हासा र छेन्दुबाट एयर चाइना र सिचुवान, सीयान र छेन्दुबाट तिब्बत एयरलाइन्स ग्वानजावबाट चाइना साउर्दन तथा हङकङबाट ड्रयागन एयरसहित ६ वटा एयरलाइन्सले सातामा बढीमा ६१ वटा उडान गर्छन् । भारतको भने जेट, एयर इन्डिया र इन्डिगोले सातामा काठमाडौंका लागी ६० वटा उडान गर्दै आएका छन् । जसमा एयर इन्डियाले दिल्लीबाट सातामा १४, जेटले २१ र इन्डिगोले ७ वटा उडान गर्छन् । त्यस्तै, मुम्बईदेखि जेटले सातामा १४ र एयर इन्डियाले कोलकोत्ताबाट सातामा चारवटा उडान काठमाडौंका लागि गर्छन् । यी सबैले बोइङ्ग र एयरबसको न्यारोबडी विमान प्रयोग गर्छन् । वाइडबडी उडाउँदैनन् ।


यसैबीच भुटानको निजी वायुयान कम्पनी ‘भुटान एयर’ले ‘फिफ्थ फ्रिडम ट्राफिक राइट’को अधिकार प्रयोग गर्दै भुटानबाट काठमाडौं हुँदै दिल्लीका लागि सातामा दुइटा उडान गर्छ । यो एकमात्र एयरलाइन्स हो जसले काठमााडौंलाई ट्रान्जिट हब बनाएको छ ।


नेपाल र चीनबीच ५ वर्षअघि सातामा १४ वटा मात्रै उडान भर्ने सहमति थियो । सन् २०१४ पछि दुई देशले यो संख्या चार गुनाले बढाउदै सातामा ५६ पुर्‍याए । त्यस सम्झौताअनुसार, सन २०१६ बाट चीनले सातामा ७० वटा उडान गर्ने अनुमती पाएको छ । तर भारतले सातामा कम्तीमा १ सय ५० उडानको अनुमती पाएको छ । यी दुबै मुलुकमा नेपालले पनि समान उडान गर्न पाउछ । तर, नेपालबाट चीनका लागि कुनै पनि उडान हुदैनन ।


ध्वजाबहाक नेपाल वायुसेवा निगमले सन् २०१५ मा चीनका लागि उडान अनुमती प्रक्रिया थालेपनि हालसम्म पाउन सकेको छैन । नागरिक उड्डयन प्राधिकरणका अनुसार, बेइजिङ्गमा निर्माण हुदै गरेको नया विमानस्थल बनेपछी मात्रै नेपाललाई अनुमती दिइने आश्वासन दिइएको छ । भारतको मुम्बई, बैंङलोर र दिल्लीमा नेपाल वायुसेवा निगमले सातामा १६ वटा मात्रै उडान गर्दै आएको छ ।


प्रकाशित : आश्विन १४, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्

हङकङबाट पीडितलाई सहयोग

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका २ नरुवलका दुवै मृगौलापीडित ४६ वर्षीय मनबहादुर थापालाई हङकङबाट सहयोग प्राप्त भएको छ । लमजुङ सेवा समिति हङकङका सचिव सुरेन्द्रमान घले, सल्लाहकार सत्यप्रसाद घले, सम्पर्क समिति लमजुङका संरक्षक जमीन्द्रमान घले लगायतले आइतबार पीडित थापालाई ३ लाख १५ हजार ८ सय ७० रुपैयाँ नगद सहयोग हस्तान्तरण गरे । 

पत्नि शान्ता थापाका साथ बेंसीसहर आएका उनले मृगौला प्रत्यारोपण गर्न ९ लाख रुपैयाँ खर्च लाग्ने बताए । सहयोग लिएपछि उनले भने, ‘हङकङबाट तपाईंले दिनुभएको सहयोगले मेरो उपचारमा सहयोग मिल्नेछ । सहयोग दान गर्नुहुने सबैलाई धन्यवाद’ ।

सम्पर्क समितिमार्फत केही दिनअघि पनि मर्याङ्दी गाउँपालिकामा भदौ २७ गतेको बाढीपहिरोबाट मृत्यु भएका ५ जनाका परिवारलाई १०/१० हजार र गाउँपालिकाको विपद् कोषमा ५० हजार रुपैयाँ प्रदान गरिएको संरक्षक घलेले बताए । उनका अनुसार यसअघि २०७२ वैशाख १२ गतेको भूकम्पपीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा हङकङमा संकलित १० लाख रुपैयाँ प्रदान गरिएको थियो ।

बेंसीसहरको सहजी खेल मैदान निर्माणका लागि ८ लाख र मस्र्याङदी युवा क्लवको एम्बुलेन्स खरिदनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग दिइएको उनले बताए ।

सविच घलेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १८ लाख ७४ हजार २ सय २१ रुपैयाँ रकम मृगौलाबाट पीडित साथै अन्य समस्या भएका लमजुङेलाई सहयोग गरिएको छ ।

हङकङमा विभिन्न कार्यक्रमको आयोजना, ब्यक्तिगत चन्दा संकलन लगायत गरी लमजुङ सेवा समिति हङकङले संस्थागत सहयोग गर्दै आएको छ । यस्तै, लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङको नाममा स्थापना गरिएको ४० लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट गरीब, दलित तथा विपन्न परिवारलाई राहत, उपचार तथा छात्रावृत्ति प्रदान गरिँदै आएको छ । सम्पर्क समितिले हरेक वर्ष उठ्ने करिब साँढे ४ लाख रुपैयाँबाट दलित, गरिब तथा असहायको उपचारका लागि १० हजारदेखि २० हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।

प्रकाशित : आश्विन १४, २०७५ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×