क्षतिग्रस्त विद्युत् आयोजनाको मर्मत तीव्र

अनिश तिवारी

सिन्धुपाल्चाेक — भूकम्प, भोटेकोसी बाढी र पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको मर्मतले तीव्रता पाएको छ । भोटेकोसीदेखि सुनकोसी क्षेत्रमा रहेका साना ठूला आयोजनाहरू छिटोभन्दाछिटो सञ्चालनका लागि मर्मत भइरहेको हो ।

भूकम्पका कारण जिल्लाभरका अनुमानित ७२ मेगावाट क्षमताका जलविद्युतको उत्पादन बन्द हुन पुगेको थियो ।

त्यसबेला जलविद्युतको करोडौको संरचना तहनहस भएको थियो । अहिले पहिरो थामिँदै अवरुद्ध सडक सहज हुन थालेपछि जलविद्युत्को कार्यले गति लिन थालिसकेको छ ।

भोटेकोसी गाउँपालिकाको मार्मिङ हयाङ्लेमा छयादी खोलाको तटमा रहेको ६ दशमलव ७ मेगावाटको लाफिङबुद्ध हाइड्रो पावरले मर्मतकार्य सबै सकेर उत्पादन थालिसकेको छ । ‘मार्मिङ जोड्ने सडक बनाएर आयोजनाको कामलाई तीव्र बनाइरहेका छौं,’ कम्पनीका कार्यकारी निर्देशक खुमा अर्यालले भने, ‘अहिले आयोजनाबाट ६ दशमलव ५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अप्पर, मिडिल र लोअर गरी लाफिङले तीन शाखाबाट विद्युत् उत्पादन गरिरहेको छ ।

पहिराको अवरोध झेल्दै आएको ३ मेगावाट क्षमताको भोटेकोसी गापा लार्चास्थित भैरवकुण्ड हाइड्रो पावर कम्पनीले तयारी अवस्थामा फर्किसकेको छ । ४८ करोडको लागतमा सम्पन्न गरिने लक्ष्य राखिएको भैरवकुण्ड हाइड्रोको प्राकृतिक विपत्तिपछि रोकिने अवस्थामा पुगेको थियो । मुख्य इन्टेक र टनेलको मर्मतको कामलाई गति दिइरहेको आयोजनाका सञ्चालक रामकाजी पौडेलले बताए । ‘अब चाँडै विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ तयारीमा जुटेका छौं,’ उनले भने ।

त्यसैगरी बलेफी गाउँपालिकाको माखा लामोसाँघुमा रहेको सुनकोसी जलविद्युत् वितरण केन्द्र पुरानै अवस्थामा फर्केको छ । भोटेकोसीको कटानमा परेको केन्द्रले दुई मेगावट विद्युत् उत्पादन गरिरहेको थियो । भोटेकोसी र सुनकोसी करिडोरमा रहेका मात्रै नभई जिल्लाभरका जलविद्युत् आयोजना तंग्रिने क्रममा देखिन्छन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु 

शिव पुरी

रौतहट — गत भदौ २६ गते राति एसिड प्रहारमा गम्भीर घाइते चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झनाकुमारी दासको मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा अाइतबार राति मृत्यु भएको हो । 

एसिड आक्रमणमा परेकी सम्झना दासको कीर्तिपुरमा उपचार हुँदै ।

घरमा सुतिरहेका बेला राति सम्झना र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारी माथि एसिड प्रहार गरिएको थियो। घटनाको६ दिन पछि छिमेकी रामबाबु पासवानलाई पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले सम्झनाको बिहान मृत्यु भएको पुष्टि गरेका छन्।

एसिड प्रहारबाट घाइते सुस्मिताको उपचार भइरहेको छ। उनको अवस्था ठीक रहेको बुवा जादोलाल दासले बताए। सम्झना शरीरका धेरै ठाउँमा र अनुहारमाबढीएसिड परेर गम्भीर घाइते भएकी थिइन् । उनको२ पटक शल्यक्रिया गरिएको थियो।

प्रकाशित : आश्विन ८, २०७५ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्