बैंकले अस्ट्रेलियन डलर सीधै ल्याउन पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य बैंकहरूले सीधै अस्ट्रेलियन डलर पनि आयात गर्न पाउने भएका छन् । बजारमा अस्ट्रेलियन डलर अभाव हुन थालेपछि वाणिज्य बैंकहरूले पनि आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो ।

केही वर्षअघिसम्म बैंकहरूले सीधै विदेशी मुद्रा आयात गर्न पाउने व्यवस्था थिएन । करिब एक वर्षअघि राष्ट्र बैंकले बैंकहरूलाई अमेरिकी डलर आयात गर्न अनुमति दिएको छ । त्यतिबेला पनि बजारमा डलर अभाव भएको समयमा बैंकहरूले यस्तो अनुमति पाएका थिए । अनुमति पाए पनि हालसम्म एनआईसी एसिया बैंकले मात्र अमेरिकी डलर आयात गरेको छ ।

बजारमा डलरको माग बढेअनुसार आपूर्ति हुन नसकेपछि बैंकहरूले अस्ट्रेलियन डलर आयातको सुविधा दिन माग गर्दै आएका थिए । बैंकहरूले आफूहरूको छाता संगठन बैंकर्स संघमार्फत यस्तो माग गरेका हुन् । बैंकहरूको माग र बजारमा डलरको अभावका आधारमा राष्ट्र बैंकले बैंकहरूलाई अस्ट्रेलियन डलर पनि आयात गर्न पाउने सुविधा दिएको हो । पछिल्लो समयमा बजारमा अस्ट्रेलियन डलरको माग अत्यधिक छ । खासगरी अध्ययनका लागि जाने विद्यार्थीहरूबाट माग धेरै हुने गरेको हो । माग बढे पनि बैंकहरूसँग अस्ट्रेलियन डलर छैन ।

अभाव बढ्दै गएपछि केही महिनायता राष्ट्र बैंकले पनि सर्वसाधारणका लागि अस्ट्रेलियन डलर सटही सुविधा दिएको छैन । ‘स्टकमा थोरै मात्र छ, कुनै दिन आवश्यक पर्ला भनेर वितरण गर्ने गरेका छैनौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यो पैसा उच्च तहका सरकारी कर्मचारी र उच्च व्यक्तित्वहरूका लागि राखिएको हो ।’ अभावकै कारण राष्ट्र बैंकले अस्ट्रेलियन डलर माग गर्न आउनेहरूलाई डलर नै दिएर पठाउने गरेको छ ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूले डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेपछि बजारमा नगद अस्ट्रेलियन डलर अभाव भएको राष्ट्र बैंकले जनाएको छ । यस्तो अवस्थामा अस्ट्रेलियन डलरको आपूर्ति सहज बनाउन बैंकहरूलाई पनि आयात सुविधा दिइएको राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । बैंकहरूले आयात गर्दा अमेरिकी डलरका नयाँ नोट (फ्रेस नोट) र अस्ट्रेलियन डलरको सफा नोट (क्लिन नोट) मात्र ल्याउनुपर्ने राष्ट्र बैंकको स्पष्ट निर्देशन छ ।

प्रकाशित : आश्विन १, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

नाडा अटो सोमा ५ अर्बको कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको अटो सोमा करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ । सोमा २ हजार ४ सय सवारी साधन बुकिङ भएको जनाइएको छ । 

६ दिन चलेको सो आइतबार सकिएको छ । आयोजकका अनुसार सोमा ८ सय चारपांग्रे र १ हजार ६ सय दुईपांग्रे सवारी बुकिङ भए । अटो सो ६५ हजारले अवलोकन गरेको नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘सहभागीहरूको हिसाबले नाडा अटो सोबाट अत्यन्त उत्साहित छौं । ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरेका छौं,’ उनले भने । अवलोकनकर्ताको भीड दैनिक बढेको थियो । शनिबार मात्रै करिब १५ हजारले अटो सो अवलोकन गरेका थिए ।

साँघुरो प्रदर्शनी हलका कारण थप अवलोकनकर्ताहरू आउन नसकेको उनले बताए । ‘हरेक जनतामा सवारीको चासो छ । दैनिक औसतमा १० हजारले अवलोकन गरेका छन्,’ उनले भने, ‘तर, सानो ठाउँ भएर धेरै आउन सकेनन् ।’ नयाँ मोडलका सवारीसँगै उपभोक्ता आकर्षित गर्न छुटका नयाँनयाँ घोषणा गरिएका थिए । विभिन्न ब्रान्डले अटो सोको बेला गाडी किने क्यास छुट र लक्की ड्रमार्फत छुटसमेत सार्वजनिक गरेका थिए ।

जसले गर्दा अवलोकनकर्ताको सहभागिता उत्साहजनक भएको जनाएको छ । केही कम्पनीहरूले कन्सेप्ट/फयुचर कारसमेत प्रदर्शन गर्न राखेका थिए । प्रदर्शनीमा १९ ब्रान्डका चारपांग्रे तथा २० ब्रान्डका दुईपांग्रे सवारी साधन राखिएको थियो ।

प्रकाशित : आश्विन १, २०७५ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्