१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लुम्बिनी र मुक्तिनाथ जोडिँदै

कालीगण्डकी करिडोर
घनश्याम गौतम

रुपन्देही — गुल्मीको रिडीदेखि रुद्रवेणी सडक खण्डमा यात्रा गर्दा धेरैको मन सिरिङ्ग हुन्थ्यो । कडा चट्टाने पहरो फोडेर बनाइएको सडक साँघुरो थियो । दैनिक सञ्चालन हुने बसका एकातर्फका टायरका आधा भाग सडक किनारमा झुन्डिएका हुन्थे ।

लुम्बिनी र मुक्तिनाथ जोडिँदै

त्यही सडकमा दैनिक एक सयभन्दा बढी सवारी साधन र हजारौं यात्रु ओहोरदोहोर गर्थे ।


गुल्मी र बाग्लुङ जोड्ने सडक राज्यबाटै उपेक्षित थियो । अहिले सडक १० मिटर फराकिलो भएको छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुग्ने गरी ०५९ सालदेखि सरकारले करिडोर निर्माण सुरु गरेको थियो । पाँच वर्षअघि सरकारले साँघुरो सडक हुँदै रूपन्देहीस्थित भारतीय सीमा बेलहियादेखि चीन सिमाना मुस्ताङको कोराला जोड्न कालीगण्डकी करिडोर योजना ल्यायो । सडकअन्तर्गत रिडीदेखि रुद्रवेणी खण्ड सडक नेपाली सेनाको करिडोर निर्माण कार्यदलले १० मिटर चौडा बनाएको हो । सडक चौडा भएपछि त्यस क्षेत्रका तीन गाउँ र एक नगरपालिकासहित बाग्लुङका यात्रुलाई राहत मिलेको छ ।


‘वर्षौंदेखि मुटु कमाउँदै हिँडियो,’ सत्यवती गाउँपालिका १ अस्लेवाका अशोक श्रेष्ठले भने, ‘अब भने ढुक्कले बस चढेर जान सकिने भयो ।’ पहिले उक्त सडकका केही क्षेत्रलाई साँघुरे नामकरण गरिएको थियो । अब त्यही सडक फराकिलो बनेको कालीगण्डकी करिडोर सरोकार समितिका संयोजक टीकाराम ढकालले बताए । राष्ट्रिय गौरवको आयोजना करिडोरमा सेनाले झन्डै चार वर्षदेखि काम गर्दै आएको छ । निर्माण कार्यदल प्रमुख एवं इन्जिनियर रेश्मीराज भट्टराईले सेनाले निर्माण गर्दै आएको सडकको सुरु खण्ड चौडा पार्ने काम सकिएको बताए । ‘रिडीदेखि रुद्रवेणीको सात किलोमिटर खण्ड चौडा गर्ने जिम्मेवारी दिइएको थियो,’ उनले भने, ‘त्यहीअनुसार हामीले रिडीदेखि रुद्रवेणीसम्मको सडक १० मिटर फराकिलो पारेका छौं ।’


सेनाले पहिलो चरणमा सडक ७ र दोस्रो चरणमा १० मिटरको बनाएको हो । अहिले १० मिटर बनाउन झन्डै १० करोड रुपैयाँ लागेको उनले बताए । सेनाले रिडीदेखि बाग्लुङको मालढुंगासम्मकै सडकको ट्रयाक खोल्ने काम सकेर चौडा बनाउन सुरु गरेको हो । निर्माण सम्पन्न भएको खण्डको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १० मिटर चौडा बनाइएको सडकको कालोपत्रे सुरु गर्ने बताए । ‘यो राष्ट्रिय गौरवको आयोजना हो,’ उनले भने, ‘अब सरकारले छिट्टै नै कालोपत्रे पनि सुरु गर्नेछ ।’


मन्त्री ज्ञवालीले हिमालदेखि भारतको त्रिवेणीसम्म कालीगण्डकीको तिरैतिर जोडिएको यो मार्ग प्राचीन महत्त्वको भएको बताए । ‘यो पुर्खाले नुन बोक्ने रेसम मार्गका रूपमा रहेको छ,’ उनले भने, ‘यसले हिन्दुको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्दै छ ।’ करिडोरको पूरै खण्ड निर्माणपछि स्थलमार्ग हुँदै बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने चिनियाँ र मुक्तिनाथ पुग्न खोज्ने भारतीय धार्मिक पर्यटकका लागि सहज र छोटो मार्ग बन्ने उनले बताए । सेनाले सडक चौडा पार्ने काम सुरु गरेसँगै त्यही सडकबाट गुड्ने गरेका सवारी साधन तम्घास र स्याङ्जाको मिर्मी हुँदै गुड्ने गरेका थिए ।


साँघुरो बाटो फराकिलो भएसँगै सवारी सञ्चालन गर्न निकै सहज भएको जिप चालक नारायण खत्रीले बताए । ४ सय ३५ किलोमिटर लामो खण्डमध्ये बाग्लुङको मालढुंगादेखि मुस्ताङसम्म १ सय ९० किलोमिटर सडकको ट्रयाक खुलेर कालोपत्रेको काम भइरहेको छ । रिडीदेखि मालढुंगासम्मको झन्डै ८० किलोमिटरमा नेपाली सेनाले काम गरिरहेको छ । त्यस्तै गैंडाकोटदेखि गुल्मीको रिडीसम्मको १ सय ६५ किलोमिटर खण्डमा सडक विभागले काम गरिरहेको छ ।


पाल्पाको राम्दीदेखि अर्गलीसम्मको खण्डमा ट्रयाक खुल्न नसक्दा पूरै कालीगण्डकी करिडोरमा सवारी चल्न सक्ने अवस्था नरहेको ढकालले बताए । ‘त्यस क्षेत्रमा पनि सकेसम्म छिटो सम्पन्न गर्न दबाब दिएका छौं,’ उनले भने, ‘यस वर्ष करिडोरमा बेलहियादेखि कोरालासम्म बस चढेर जान सक्ने बनाउने गरी काम भइरहेको छ ।’

प्रकाशित : भाद्र २९, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?