१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाडा अटो सो: विद्युतीय सवारीमा आकर्षण

राजु चौधरी

काठमाडौँ — विश्व अटो बजारमा भविष्यका सवारी (फयुचर कार) को चर्चा गर्दा विद्युतीय कारको नाम आउँछ । सवारी उत्पादक कम्पनीले विद्युतीय कारलाई भविष्य मानेका छन् ।

नाडा अटो सो: विद्युतीय सवारीमा आकर्षण

राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु ‘नाडा अटो सो’ मा पनि यसलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ‘विद्युतीय सवारीको भविष्य राम्रो छ । अटो सोमा पनि धेरै कम्पनीले प्राथमिकता दिएका छन्,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अबको भविष्य विद्युतीय सवारी नै हो ।’ नाडाका अनुसार किया, रेनो, टाटा, हुन्डाईले कन्सेप्ट/फयुचर कार प्रदर्शन गरेका छन् ।


जापानी र चिनियाँ कम्पनीका विद्युतीय स्कुटर पनि मुख्य आकर्षणका रूपमा रहेका छन् । अधिकांश अवलोकनकर्ता यही फयुचर कार र विद्युतीय सवारीका लागि अटो सो अवलोकन गरेको बताउँछन् । किया मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ‘सोल इभी’ विद्युतीय कार राखेको छ ।


कम्पनीका नायब महाप्रबन्धक मन्जितकुमार पोखरेलका अनुसार एक पटक पूरा चार्ज भएपछि १ सय ८० किलोमिटर गुड्ने क्षमता छ । यसमा २७ केडब्लूएचको ब्याट्री छ । उक्त ब्याट्री ३० मिनेटमै चार्ज हुन्छ । यसको पावर ९० किलोवाट छ । जसले गर्दा अवलोकनर्ता आकर्षित भएको उनको भनाइ छ ।


‘दुई दिनको अवधिमा ३ सयले सोधपुछ गरेका छन्, ८ वटा बुकिङ भएको छ,’ उनले भने । उक्त सवारीको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी छ । ग्राहक सुविधाका लागि विभिन्न ठाउँमा चार्जिङ स्टेसन पनि राखेको पोखरेलले बताए । ‘विद्युतीय सवारीको हकमा वार्षिक कर तिर्नु पर्दैन,’ उनले भने, ‘जसले गर्दा ग्राहकले धेरै रुचाएका छन् ।’ सवारीको मूल्य पनि सस्तो भएकाले ग्राहक आकर्षित भएको उनको दाबी छ ।


विद्युतीय सवारीमा १० प्रतिशत मात्रै कर लाग्छ । अन्त:शुल्क पनि धेरै सस्तो छ । सडक मर्मत कर पनि लाग्दैन । जसले गर्दा धेरैको चासो भएको दुलालले बताए । उनीहरूका अनुसार इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय सवारी कमै बिग्रन्छ । यसमा इन्धन फिल्टर, एयर फिल्टर, मोबिल प्रयोग हुँदैन । त्यसैले मर्मतमा धेरै खर्च नहुने व्यवसायी बताउँछन् ।


नाडामा ‘रेनो जोई ४०’ विद्युतीय कार पनि सार्वजनिक गरिएको छ । कम्पनीका सौरभ कार्कीका अनुसार अधिकांश अवलोकनकर्ता इलेक्ट्रिक सवारीका लागि मात्रै आएका छन् । ‘नाडामा मुख्य क्रेज विद्युतीय सवारी नै भएको छ,’ उनले भने, ‘सर्वसाधारणले धेरै रुचाएका छन् ।’ यस कारमा ब्रेक लगाएपश्चात ब्याट्रीमा थप ऊर्जा उत्पन्न हुन्छ । कारको स्पिड प्रतिघण्टा १३५ किलोमिटर रहेको छ । नाडा सोमा राखिएको ‘जोई ४०’ प्रदर्शनीका लागि मात्रै हो । उक्त कार फेब्रुअरी २५ मा नेपालमा भित्रिने कार्कीले बताए । आकर्षक बनावट, उत्कृष्ट क्षमता र प्रदूषण शून्यता कारका मुख्य विशेषता रहेको उनले दाबी गरे ।


नाडाकै अवसर पारेर हुन्डाईले पनि ‘इयोनिक’ विद्युतीय कार सार्वजनिक गरेको छ । यसमा २८ केडब्लूएचको ब्याट्री छ । ब्याट्रीको पावर ८८ किलोवाटको पावर रहेको कम्पनीले जनाएको छ । कम्पनीले यसको बजार मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकेको छ । महिन्द्रा एन्ड महिन्द्राले पनि नाडा अटो सोको पहिलो दिनमा इभेरिटो सार्वजनिक गरेको थियो । पहिलोपटक सार्वजनिक गरिएको अल इलेक्ट्रिक सेडान इभेरिटोको चार्ज तीव्र गतिमा हुने कम्पनीको दाबी छ ।


अटो सोमा दुई दिनको अवधिमा ५ वटा विद्युतीय सवारी बुक भएको कम्पनीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले बताए । इभेरिटोमा ७२ भोल्टको मोटर जोडिएको छ । जसले ४१ बीएचपी पावरका साथमा ९१ एनएम टर्क उत्पादन गर्छ । ब्याट्री पूरा चार्ज गरेपछि १ सय ४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यसको बजार मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ । नाडामा बुकिङ गर्दा भने ५० हजार छुट दिएको भण्डारीले बताए ।


सिप्रदी ट्रेडिङले ‘टिगोर ईभी’ विद्युतीय कार प्रदर्शनीमा राखेको छ । टिगोर इभी फयुचर कार हो । यो पनि नाडामा मुख्य आकर्षणका रूपमा रहेको छ । यो थ्री फेज एसी इन्डक्सन मोटर हो । यसले ३० किलोवाटको इलेक्ट्रिक मोटरमार्फत ४५ सय आरएमपी पावर उत्पादन गर्छ । यसको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम छ । यसमा २ सय १६ एएच र ७२ भोल्टको ब्याट्री रहेको कम्पनीको दाबी । सामान्य ३ सय ६० मिनेटमा चार्ज हुने टिगोर ईभी ९० मिनेटमै पनि फास्ट चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कार करिब ५ महिनापश्चात् नेपालमा भित्रिने हुँदा यसको बुकिङ भने लिइएको छैन ।


इलेक्ट्रिक कन्सेप्टअनुसार टेस्ला, किया, निसान, बीवाईडी, फोर्डलगायत प्रसिद्ध कम्पनीहरूले विद्युतीय सवारी साधनको व्यावसायिक उत्पादन सुरु गरिसकेका छन् । यही योजनासहित गत फागुनमा नयाँदिल्लीको ग्रटर नोयडामा आयोजित अटो एक्स्पोमा अधिकांश कार निर्माता कम्पनीले हाइब्रिड इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेका थिए ।


नाडाका उपाध्यक्ष दुलालका अनुसार विद्युतीय सवारीको भविष्य भए पनि भौगोलिक अवस्थाले समस्या छ । विद्युतीय सवारीको र्चाजिङ स्टेसनको अभाव छ । ब्याट्री तल्लो भागमा हुन्छ । सहज पहुँच र उपलब्धताका लागि सरकारले मुख्यत: पूवाधारमा ध्यान दिनुपर्ने उपाध्यक्ष दुलालले बताए ।


दुईपांग्रेमा उस्तै भीड
अटो सोमा विद्युतीय दुईपांग्रे सवारीमा पनि सर्वसाधारणको भीड लागेको छ । ती सवारी साधनमा छुट दिएकाले पनि अवलोकनकर्ताहरू आकर्षित भएका हुन् । उनीहरूले नाडामा १० हजारसम्म छुट दिएका छन् । ‘नाडा बाहिर खरिद गर्दा ६ हजारसम्म छुट दिएका छौं,’ मियमा मोटर्स प्रालिका म्यानेजर शैलेश श्रेष्ठले भने, ‘अटो सोमा १० हजारसम्म छुट छ ।’ छुट हुँदा भीडभाड बढेको उनले बताए ।


उक्त कम्पनीले जापानी विद्युतीय स्कुटर १ लाख ३९ हजारदेखि १ लाख ९६ हजारसम्ममा बिक्री गरेको बताए । इको इन्फिनेटी प्रालिका सेल्स हेड रूपक भट्टराईले नाडाको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको बताए ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?