कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हरेक दिन नयाँ रेकर्ड बनाउँदै डलर

काठमाडौँ — सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ ८९ पैसा खर्चिनुपर्ने भएको छ । यो सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न तिर्नुपर्ने रकम हो ।

हरेक दिन नयाँ रेकर्ड बनाउँदै डलर

यो हालसम्मकै उच्च अवस्था हो । यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने देखाउँछ । पछिल्ला केही दिनयता नेपाली मुद्रासँग अमेरिक डलरको विनिमयदर निरन्तर रूपमा उकालो लागिरहेको छ । यही क्रममा सोमबार यो करिब १ सय १४ रुपैयाँ नजिक पुगेको हो । सोमबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ २९ पैसा तोकेको छ । यो पनि हालसम्मकै उच्च हो ।

खासगरी दुई कारणले डलरसँग नेपाली मुद्राको मूल्य (भाउ) घट्छ । पहिलो विश्वबजारमा अमेरिकी डलर बलियो बन्दै जानु र दोस्रो डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु । अहिले दोस्रोभन्दा पनि पहिलो कारणले नेरुसँग डलरको विनिमय दर बढदै गएको हो ।

पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमा डलरको भाउ आकासिएको हो । विज्ञहरूले यसलाई ‘ट्रम्प इफेक्ट’ को संज्ञा दिएका छन् । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातित वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनुलगायत कारणले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको हो ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु पनि नेपाली रुपैयाँ अवमूल्यनको अर्को कारण हो । नेरु र भारतीय रुपैयाँ (भारु) बीच स्थिर विनिमय दर छ । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेरु पनि कमजोर र बलियो हुँदा बलियो हुन्छ ।

पछिल्लो समयमा सबै उदियमान राष्ट्रका (इमर्जिङ कन्ट्री) को अर्थतन्त्रमा समस्या देखिन थालेको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै ती राष्ट्रको आर्थिक गतिविधि प्रभावित हुन पुगेको हो । यही असर भारतिय अर्थतन्त्रमा पनि परेकाले डलरको तुलनामा भारु कमजोर बन्दै गएको विज्ञहरू बताउँछन् पछिल्ला दिनहरूमा भारतीय मुद्रा निरन्तर रूपमा कमजोर बन्दै गएको छ ।

नेरुको तुलनामा डलरको विनिमयदर धेरै हुँदा निर्यात प्रोत्साहित हुनुका साथै रेमिटयान्स आप्रवाहमा फाइदा हुन्छ । प्रत्यक्ष विदेशी लगानीमा सकारात्मक प्रभाव पर्छ । पर्यटनमा सुधार हुन्छ । तर, नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढदा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रूपमा लाभ लिन सक्दैन ।

यसको विपरीत नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । आयात, विदेशमा औषधिउपचार, अध्ययन भ्रमणलगायतको लागत महँगो पर्छ । समग्रमा अमेरिकी डलरको मूल्य बढदा नेपाललाई लाभभन्दा पनि धेरै हानि भएको विज्ञहरू बताउँछन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?