कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीबाट मंसिरमा २२ मेगावाट विद्युत्

प्रताप विष्ट

हेटौंडा — भीमफेदी इपापञ्चकन्यामा निर्माणाधीन वाग्मती विद्युत् आयोजनाले आगामी मंसिर अन्तिम साताबाट २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।

वाग्मतीबाट मंसिरमा २२ मेगावाट विद्युत्

मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ सिइच्वाङ हेइच्वाङ कम्पनीको संयुक्त लगानीमा वाग्मतीको पानीबाट विद्युत् उत्पादन गर्न तीव्र गतिमा काम भइरहेको छ । ‘बर्खाले गर्दा केही समय काम रोकिएको थियो,’ आयोजनाका आवासीय इन्जिनियर रत्न बोम्जनले भने, ‘बुधबारदेखि पेनेस्टकको काम सुरु हुन्छ ।’ सिभिल वर्कको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । इलेक्ट्रमेकानिकलको काम पनि ५० प्रतिशतभन्दा बढी भइसकेको छ ।


यहाँ हाल करिब दुई सयजनाले काम गरिरहेका छन् । ‘असारमा काम सम्पन्न गर्ने योजना थियो तर चाँडै नै बर्खा सुरु भएकाले विद्युत् उत्पादन गर्न ६ महिना ढिलाइ हुने भो,’ बोम्जनले भने । वाग्मतीबाट विद्युत् उत्पादन गर्ने यो पहिलो कम्पनी हो । ४ अर्बको लगानीमा आयोजनाको निर्माण कार्य २०७२ जेठबाट सुरु भएको हो । ‘भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य सुरुमा अवरुद्ध हुन पुगे पनि अहिले युद्धस्तरमा काम भइरहेको मान्डु हाइड्रो कम्पनीका प्राविधिक सुरज पन्तले बताए । ‘वाग्मती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइ ५५ लम्बाइको बाँध बनाएर सुरुङमार्फत इपापञ्चकन्याको बगरबेंसीस्थित विद्युत् गृह पुर्‍याएर विद्युत् उत्पादन गरिन्छ,’ पन्तले भने ।


वाग्मतीको बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने गर्छ । वाग्मतीमा निर्माण गरिएको बाँधबाट विद्युत् गृह २ हजार ४ सय ४० मिटरको दूरीमा छ । आयोजनाको सिभिल वर्कको साउथ एशियन इन्फ्रास्ट्रक्चरले गरेको हो । कम्पनीले १ अर्ब २९ करोडमा सिभिल वर्कको निर्माण गर्ने ठेक्का लिएको हो ।

‘विद्युत् गृह निर्माणको कार्य चार महिनाभित्रमा सम्पन्न गरिसक्छौं,’ इन्जिनियर योगेश सुवेदीले भने । इलेक्ट्रो मेकानिकलको कामका निम्ति एक दर्जन चाइनिजसहित ५० जना नेपाली कामदार र प्राविधिकहरू खटिएका छन् । दुईवटा रोटर रहने उक्त पावर हाउसका निम्ति आवश्यक पर्ने उपकरणहरू निर्माणस्थलमा पुगिसकेका छन् । उक्त आयोजनाको ६ सय मिटर लामो पेनेस्टक पाइप रहनेछ । ‘स्थानीयबासी र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत जनप्रतिनिधिहरूको सहयोग भएकाले निर्माण कार्यलाई गति दिन सहज भएको छ,’ बोम्जनले भने, ‘यो विद्युत् आयोजनालाई नेपालको नमुना आयोजना बनाउन चाहिरहेका छौं ।’ तोकिएको समयमा नै विद्युत् उत्पादन गरेर प्राधिकरणलाई बिक्री गर्नेछांै । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।


आयोजनाले विद्युत् उत्पादन गरेर कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङको राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको छ । सबस्टेसनसम्म उत्पादित विद्युत् पुर्‍याउन ४४ वटा टावर निर्माण गरी तार पनि तान्ने काम सम्पन्न भइसकेको छ ।


आयोजनाबाट प्रभावित मकवानपुरको इपापञ्चकन्या, सिस्नेरी, कोगटे र ललितपुरका माल्टा र धुसेल गाविसका बासिन्दालाई कम्पनीले सेयर वितरण गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?