१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौं विमानस्थल अब २२ घण्टा

आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि खुल्ने
सुरज कुँवर

काठमाडौँ — काठमाडौं विमानस्थल शनिबारदेखि २२ घण्टा खुला हुने भएको छ । अब काठमाडौंस्थित विमानस्थल रातिको ३ बजेदेखि ५ बजेसम्मका लागि २ घण्टा मात्रै बन्द हुनेछ ।

काठमाडौं विमानस्थल अब २२ घण्टा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि खुला गर्ने निर्णय गरेको हो । सरकारले जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयमा अढाइ घण्टा थप्दै २१ घण्टा (बिहान ६ देखि राति ३ बजेसम्म) पुर्‍याएको थियो ।


चाडपर्व र पर्यटकीय सिजन सुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न विमानस्थलले ६७ वर्षको इतिहासमा पहिलोपटक आन्तरिक सेवालाई ५ बजेदेखि सुचारु गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । भूकम्प र टर्किस एयरलाइन्सको विमान काठमाडौं धावनमार्गमा दुर्घटनामा परेको अवस्थामा भने काठमाडौं विमानस्थल केही समयका लागि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो ।


‘सुरक्षा जाँच, टिकट, यात्रु बोर्डिङ, पाइलटहरूले वायुयान चेकजाँच गर्दागर्दै आन्तरिक उडान भने साढे ५ बजेदेखि सुरु हुनेछन्,’ क्षेत्रीले भने । यसअघि बिहान ६ बजे विमानस्थल खुला हुन्थ्यो तर उडान साढे ६ बजे हाराहारीबाट सुरु हुन्थे । नयाँ व्यवस्थाले पर्वतीय उडान, लुक्लालगायतका पर्यटकीय सहरमा हुने उडानलाई सजिलो हुनेछ । यसबाट जहाजले ग्राउन्ड र आकाशमा भोग्नुपर्ने अत्यधिक होल्डको समय घट्ने अपेक्षा विमानस्थलले गरेको छ ।


विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सीताराम भण्डारीका अनुसार नागरिक उड्डयन प्राधिकरण र विमानस्थलले आन्तरिक उडानका लागि जाडोयाम (सेप्टेम्बर–अक्टोबर) को स्लट (उडान तालिका) बनाइसकेको छ ।


यो तालिकाअनुसार अब रात्रि उडान सुविधा भएका विराटनगर, सिमरा, धनगढी, भैरहवा, नेपालगन्जलगायत सुगम रुटका लागि हुने आन्तरिक उडान बेलुकी ८ बजेसम्म हुनेछन् । ‘दुई महिनाको समीक्षापछि ट्राफिक चाप, यात्रुको सुविधा, उडान सुरक्षालगायतका विषयलाई टेवा पुग्ने गरी आन्तरिक उडानको अर्को स्लट जारी गर्नेछौं,’ प्रमुख एटीसी भण्डारीले भने ।


यसैबीच नेपालमा सबैभन्दा धेरै (दोहा–काठमाडौं दैनिक ५ वटा उडान) गर्दै आएको कतार एयरले शनिबारदेखि राति १ बजे काठमाडौं आइपुग्ने उडान थपेको छ । दोहाका लागि कतार काठमाडौंबाट राति २ बजे फर्किनेछ । कतारबाहेक अन्य विदेशी चार्टर र नयाँ एयरलाइन्सलाई रातिको उडान समय उपलब्ध गराउने तयारी भइरहेको भण्डारीले बताए ।


नेपाल भ्रमण वर्षलाई मद्दत पुग्ने गरी यहाँको विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्ने योजनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गएको चैत १६ गते सयदिने कार्यक्रममार्फत साढे १८ घण्टासम्म सञ्चालन हुँदै आएको काठमाडौं विमानस्थललाई २१ घण्टा (बिहान ६ बजेदेखि राति ३ बजेसम्म) सञ्चालन गर्ने कार्यक्रम घोषणा गरेको थियो । विमानस्थलको समय बढाएपछि रातिको समयमा नयाँ एयरलाइन्सले उडान भने गरेका थिएनन् । मध्य चैतदेखि मध्य कात्तिकसम्म जारी हुने गर्मीयामको समर सेडयुलअनुसार विदेशी एयरलाइन्सले उडान तालिकाको अनुमति लिएकाले थपिएको समयमा नयाँ एयरलाइन्स नआएका हुन् ।


गर्मीयामको तालिका मध्य कात्तिकदेखि सकिन्छ । यसपछि जाडोयामको विन्टर सेडयुल लागू हुन्छ । अहिले गर्मीयामको तालिका (समर सेडयुल) अनुसार ३१ वटा एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा छन् । नेपालले ३८ वटा मुलुकसँग हवाई सम्झौता गरे पनि १५ वटा मुलुकका विदेशी एयरलाइन्सले नेपाललाई बाँकी विश्वसँग जोडेका छन् । अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमसहित हिमालयन र बुद्ध गरी तीनवटा स्वदेशी एयरलाइन्स छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?