१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आलटाले चिनियाँ ठेकेदार

नेपालका जलविद्युत् आयोजनामा चिनियाँ ठेकेदारको लापरबाही सूची लामो छ
विजय तिमल्सिना

काठमाडौँ — पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि ७ वर्षअघि समझदारी गरेको चिनियाँ कम्पनी थ्री गर्जेजले मंगलबार र बुधबार भएको वार्तापछि आयोजनाबाट हात झिक्ने संकेत दिएको छ ।

आलटाले चिनियाँ ठेकेदार

यसले चिनियाँ प्रवद्र्धकप्रति अविश्वास बढाएको छ । नेपालमा चिनियाँ प्रवद्र्धकभन्दा ठेकेदार कम्पनीको छवि नकारात्मक छ ।


यसको एउटा उदाहरण निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजना हो । सन् २०१४ मा सक्ने लक्ष्यसहित २००८ मा सुरु भएको १४ मेगावाटको कुलखानी तेस्रो अहिले नेपाल विद्युत् प्राधिकरणका लागि निल्नु न ओकल्नुको अवस्थामा पुगेको छ । सुरुमा गरिएको निर्माण लागत साढे २ अर्ब रुपैयाँ बढेर अब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ तर आयोजना सकिने छाँटकाँट छैन । यसको ठेक्का पाएको चिनियाँ कम्पनी जेइजियाङ जियालिङले सकाउन तदारुकता देखाएको छैन । अन्तिम अवस्थामा आयोजनाको ठेक्का तोडेर फेरि टेन्डर निकाले प्रक्रिया सुरु गर्ने झन्झट, नगरे अटेरी ठेकेदारको काम नसकाउने मनसाय छ ।
राष्ट्रिय योजना आयोगले यो आयोजनालाई ४ वर्षअघि नै समस्याग्रस्त घोषणा गरेको थियो । सिभिल निर्माणतर्फको ठेक्का पाएको अर्को चिनियाँ ठेकेदार सिनो हाइड्रोले आयोजनामा अनेक बखेडा झिकेपछि आयोजनालाई समस्याग्रस्त घोषणा गरिएको हो । कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन गर्दा सुरुमा प्रतिमेगावाट लागत १७ करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो तर अब लागत महँगिएर करिब दोब्बर (३१ करोड रुपैयाँ) लाग्ने अनुमान छ ।


१४ मेगावाटको यो आयोजना बनाउँदा चिनियाँ ठेकेदारद्वय सिनो हाइड्रो र जेइजियाङ जियालिङले दिएको तनाव मात्रै एक घटना होइन । अन्य आयोजनामा अन्य चिनियाँ कम्पनीले गरेको ढिलासुस्ती पनि उदेकलाग्दो छ ।


रसुवामा निर्माणाधीन आयोजना माथिल्लो त्रिशूली थ्री ‘ए’ को पनि हालत खराब छ । चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले ठेक्का पाएको ६० मेगावाटको उक्त आयोजना ठेकेदार कम्पनीबाट अनेकौं व्यवधान झेलिरहेको छ । चिनियाँ एक्जिम बैंकको ऋण लगानीमा बन्न लागेको आयोजना अहिलेसम्म पूरा भएको छैन । बरु तीन वर्षअघिको भूकम्पपछि लामो समयसम्म ठेकेदार कम्पनीले कामै अघि बढाएन । त्यस अघि ६० लाई ९० मेगावाट क्षमतामा विस्तार गर्नुपर्छ भन्दै लामो समय काम रोकेको थियो । अन्तत: सरकारले मानेन र ६० मै बनाउन बाध्य भयो ।


आयोजनाको पावरहाउस डिजाइनमा पनि धेरै समस्या देखियो । ३५ महिनामा सक्ने गरी सन् २०११ मा ठेक्का सम्झौता भएको आयोजनालाई पछि फेरि २६ महिना म्याद थप गरियो । सुरुमा सन् २०१३ जुनमा सम्पन्न गर्ने लक्ष्य भएको आयोजना म्याद थप गरी सन् २०१६ जुनमा सम्पन्न गर्ने लक्ष्य दिइएको थियो । आयोजना अझै निर्माणाधीन अवस्थामा छ ।
अघिल्लो वर्ष बनिसक्नुपर्ने १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले अहिलेसम्म पूर्णता पाएको छैन । ग्वाङ्छी हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण ठेक्का पाएको उक्त आयोजना निर्माण गर्नुको साटो अवैध रूपमा बालुवा उत्खनन् गरेको आरोपमा ठेकेदारले १३ लाख जरिवाना तिरेको थियो । ठेकेदार कम्पनीले रकम अभाव देखाउँदै निर्माणको काम अघि बढाउन आलटाल गरिरहेको छ ।


सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाट क्षमताको आयोजनाको निर्माण सम्पन्न गर्ने म्याद २०१९ बनाइएको छ । सुरुङ र पावर हाउस निर्माण गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी ग्वाङ्छी हाइड्रो इलेक्ट्रिकले ८ अर्बमा कामको जिम्मा लिए पनि गति भने निकै सुस्त छ । आयोजनाको लागत १४ अर्ब हुने अनुमान छ ।


प्रसारण लाइन र सबस्टेसन निर्माणमा पनि ठेकेदारको लापरबाहीको उदाहरण उस्तै छ । ढल्केबर सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कर्पोरेसन लिमिटेडले नियोजित रूपमा ढिलाइ गरेपछि प्राधिकरणले अघिल्लो अक्टोबरमा ठेक्का सम्झौता रद्द गरेको थियो ।


२०१४ जुनमा प्राधिकरणले चिनियाँ कम्पनीसँग सबस्टेसन निर्माणका लागि सम्झौता गरेको थियो । प्राधिकरणले ढल्केबरसहित हेटौंडा र इनरुवामा पनि सबस्टेसन निर्माण गर्ने गरी सम्झौता गरेको थियो । २०१५ सेप्टेम्बरमा निर्माण गरिसक्नुपर्ने सम्झौता थियो । चिनियाँ कम्पनीले हेटौंडा र इनरुवामा कुनै काम नै सुरु गरेन भने ढल्केबरमा अन्त्यन्तै ढिला काम गर्‍यो । चिनियाँ कम्पनीले विभिन्न बहाना बनाएर काममा ढिलाइ गरेपछि प्राधिकरणले अघिल्लो वर्ष सम्झौता तोडयो र भारतीय कम्पनीलाई बाँकी कामको जिम्मा दियो । ढल्केबर सबस्टेसन केही साताअघि मात्रै सफल परीक्षण भइसकेको छ ।


अघिल्लो माघमा सम्पन्न ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना पनि लामो आरोहअवरोह पार गरेको थियो । चिनियाँ कम्पनी सीजीजीसीले निर्माणको जिम्मा लिएको आयोजना तोकिएको अवधिभन्दा ६ वर्ष ढिलो गरी बनेको हो ।

प्रकाशित : भाद्र १५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?