कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विशाखापट्टनम्मा अड्किएको मल आयात

शंकर आचार्य

पर्सा — रेल्वे र्‍याक नपाएर भारतको विशाखापट्टनम् बन्दरगाहमा लामो समयदेखि अड्किएको कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज आउन थालेको छ ।

विशाखापट्टनम्मा अड्किएको मल आयात

त्यहाँ अड्किएको ३० हजार टन युरिया मलमध्ये १ रेल्वे र्‍याक मल आइतबार सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख अजयकुमार श्रीवास्तवले जानकारी दिए । उक्त र्‍याकमा २ हजार ५ सय ५० टन रहेकामा सोमबारबाट मल परिचालनसमेत गर्न सुरु गरिसकिएको उनले बताए ।


कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालयलाई यो लटमा करिब ८ सय टन मल पाएको र बाँकी अत्यधिक माग रहेको विराटनगर क्षेत्रीय कार्यालयलाई पठाइएको उनले बताए ।
भारतको इन्डियन पोटास लिमिटेडले ग्लोबल टेन्डरबाट नेपालसम्म ल्याउन लागेको मल वीरगन्ज ल्याउन रेल्वे र्‍याक नपाएर ढिलाइ भइरहेको थियो । बाँकी रहेको मल पनि क्रमश: आउने जानकारी पाएको श्रीवास्तवले बताए । ती मलले पनि धमाधम र्‍याक पाउन थालेकाले क्रमश: मल वीरगन्ज आइपुग्ने उनले बताए । २ र ३ नम्बर प्रदेशका जिल्लाहरूमा रासायनिक मलको वितरण गर्दै आएको कम्पनी क्षेत्रीय कार्यालयमा युरिया मलको मौज्दात झन्डै सकिएको थियो । कार्यालयसँग करिब ५० टन मल मात्र मौज्दात रहन गएको थियो ।


हाल धानबालीको सिजन भएकाले यो मलको अत्यधिक माग रहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा अहिले धानबालीमा यो मल छरिँदै छ । भदौ महिनाभरि पनि यो क्रम जारी रहन्छ । हाल रौतहट, सर्लाही, महोत्तरी, धनुषा आदि जिल्लामा युरिया मलको माग बढी रहेको छ ।


आईपीएलको सम्झौताको मल आइपुगेपछि त्यसपछि पनि युरिया मल आउने श्रीवास्तवले बताए । विल्सन इन्टरनेसनल र देश ट्ेरडिङले ग्लोबल टेन्डरबाट युरिया मल ल्याउन लागेको उनले बताए । तर, तिनले ल्याउने मल के कति हो भनि यकिन जानकारी भने आइनसकेको उनले बताए ।


डीएपीको पर्याप्त मौज्दात
हाल उतिसारो माग नरहेको अर्को मल डीएपीको मौज्दात भने कम्पनी क्षेत्रीय कार्यालयसँग पर्याप्त रहेको छ । हाल कार्यालयसँग ७ हजार ५ सय टन डीएपी मौज्दात रहेको उनले बताए ।


यता साल्ट ट्ेरडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय वीरगन्जको एक र्‍याक डीएपी मल आइतबार सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए । गत आर्थिक वर्षकै कोटाअनुसारको बाँकी रहेको ५ हजार टन डीएपीमध्ये आधा आइतबार आइपुगेको उनले बताए । बाँकी मल पनि केही दिनभित्रै आइपुग्ने उनले बताए ।


भारतकै आईपीएलले ग्लोबल टेन्डरबाट उक्त मल ल्याइरहेको उनले बताए । हाल डीएपी मलको माग कम रहेकाले आउँदो गहुँ सिजनका लागि उक्त मल उपयोगी हुने लामिछाने बताउँछन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?