२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सरकारले फेरि लगानी सम्मेलन गर्ने

‘विगतमा भएका लगानी सम्मेलनको समीक्षा पनि गर्दै छौं’

काठमाडौँ — सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाका अनुसार लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘हामी लगानी सम्मेलन गर्दै छौं,’ आर्थिक पत्रकार समाज (सेजन) को बुधबार आयोजित वार्षिक साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले भने । 

सरकारले फेरि लगानी सम्मेलन गर्ने

उक्त सम्मेलन पूर्वाधार तथा औद्योगिकसहित जुनसुकै क्षेत्र केन्द्रित हुने बताए । दुई वर्षअघि पनि सरकारले लगानी सम्मेलन गरेको थियो । सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिबद्धता आए पनि वास्तविक लगानीमा हालसम्म परिणत हुन सकेको छैन । उद्योग मन्त्रालय, लगानी बोर्डले लगानी सम्मेलन गरेको थियो । तर, त्यसको उपलब्धि हालसम्म देखिएको छैन । ‘विगतमा भएका लगानी सम्मेलनको समीक्षा पनि गर्दै छौं,’ उनले भने, ‘र, त्यस आधारबाट लगानी भित्र्याउन लगानी बोर्डको संरचना परिवर्तनदेखि सम्पूर्ण लगानीको स्वीकृतिका लागि छिटो निर्णय गर्ने गरी हामी अघि बढेका छौं ।’


कानुन तर्जुमा अन्तिम चरणमा पुगेको उनले बताए । सरकारले लगानी बोर्ड ऐन २०६८ संशोधनको तयारी गरिरहेको छ । सोही ऐनलाई प्रभावकारी बनाई लगानीको वातावरण बनाउने सरकारको योजना हो । ‘केही दिनमा लगानीसम्बन्धी ऐन पनि मन्त्रिपरिषदमा पुग्छ,’ उनले भने, ‘हामीले चाहेको ८ प्रतिशतको आर्थिक वृद्धि निजी क्षत्रेको सहभागिताबिना परिकल्पना नै गर्न सकिन्न । कानुनबिनाका कुराले मात्रै लगानी सुरक्षित हुँदैन ।’ सुरक्षित रूपमा लगानी भएको छ र त्यसलाई पछि सुरक्षित रूपमा फिर्ता लैजान सकिन्छ भन्ने वातावरण बनाउने उनले बताए । ‘त्यसैको तयारीमा लाग्दै छौं,’ उनले भने ।


प्रकाशित : भाद्र १३, २०७५ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?