हराउँदै रैथाने जातका कुखुरा

विमल खतिवडा

काठमाडौँ — उन्नत जातका कुखुराको उत्पादन बढेसँगै रैथाने कुखुरा हराउँदै गएका छन् । यी जातका कुखुरा बढ्न ढिलो हुने, अण्डा थोरै पार्ने भएकाले किसान छोटो समयमा धेरै आम्दानी हुने उन्नत जातका कुखुरामा आकर्षित भएका हुन् । 

हराउँदै रैथाने जातका कुखुरा

पहिला गाउँघरमा स्थानीय जातका कुखुरा घरायसी प्रयोजनका लागि पाल्ने गरिन्थ्यो । बिस्तारै सबैतिरबाट माग हुन थालेपछि यो आम्दानीको स्रोत बन्न पुग्यो । आम्दानी लिन लामो समय कुर्नुपर्ने भएकाले अझै यो व्यावसायिक बन्न सकेको छैन ।


घाँटी खुइले, प्वाँख उल्टे (दुम्से) र साकिनी जातका कुखुरा रैथाने हुन् । घाँटी खुइले र प्वाँख उल्टे जातका कुखुरा हराउँदै गएका छन् । यी जातका कुखुरा कतैकतै मात्र फेला पार्न सकिन्छ । गाउँघरमा रैथाने जातमध्ये बढी पाइने साकिनी हो । यी जातका कुखुरा लोपोन्मुख अवस्थामा पुगेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक सरोज सापकोटाले अनुसन्धान थालेका छन् ।


‘नेपालमा रैथाने जातका कुखुरा लोपोन्मुख अवस्थामा छन्,’ उनले भने, ‘यसको सरंक्षण गर्न र उत्पादन बढाउन अनुसन्धान थालेका छौं ।’ उनले ०७१ मा तराई, मध्य पहाड र उच्च पहाडबाट रैथाने साकिनी जातका आठदेखि १२ सातासम्मका चल्ला संकलन गरेर ल्याए । रैथाने जातको कुखुरा साकिनीमा अण्डा र मासुका लागि पालिने कालो अस्ट्रालोर्प, न्यु हयाम्पसायर र गिरिराजसँग क्रस गराउन थालेका छन् ।


‘रैथाने जातको कुखुरामा अण्डा र मासुका लागि पालिने कुखुरा क्रस गराएर त्यसको शारीरिक वृद्धिदर र अण्डा उत्पादन बढाउनु छ,’ उनले भने, ‘यसरी क्रस गराएर निस्किएको चल्लाको मूल्यांकन गरिरहेको छु, परिणाम आइसकेको छैन ।’


परिणाम आउन अझै ६/७ वर्ष लाग्नेछ । उनका अनुसार संकलन गरेर ल्याएको साकिनी कुखुराले एक वर्षमा १ सय ११ वटा अण्डा पारेको छ । तर, यही कुखुराले स्थानीयस्तरमा ५०/६० भन्दा बढी पार्न सक्दैन ।


‘यो ढिलो बढ्छ, गाउँमा लामो समय कुरेर कुखुरा पाल्ने छैनन्, बालबालिका र बूढाबूढीको भरमा घर हुन्छ, काम गर्ने युवा विदेश र सहर पलायन भएका छन्,’ उनले भने, ‘त्यही भएर रैथाने जातका कुखुरा पाल्न आकर्षित हुँदैनन्, गाउँगाउँमा ब्रोइलर र लेयर्स कुखुरा पाल्न थालेपछि यस्ता जातका कुखुरा हराउँदै गए ।’ उनले क्रस गराएको कुखुराले एक वर्षमा १ सय ८० वटा अण्डा पार्न सक्ने भएको छ ।


त्यस्तै औसतमा तौल पौने तीन केजी पुगेको छ । ‘अहिले गाउँघरमा हुने कुखुराले वर्षमा ५०/६० भन्दा बढी अण्डा पार्न सक्दैन, तौल एक(डेढ केजीभन्दा हुँदैन,’ उनले भने, ‘क्रस गराएपछि यसको तौल बढ्ने, अण्डा पार्ने क्षमता वृद्धि हुने भएपछि स्थानीय जातका कुखुरापालनमा आकर्षण बढ्नेछ ।’ पशु सेवा विभागको सन् २०१७ को तथ्यांकअनुसार नेपालमा करिब ७ करोड कुखुराको संख्या रहेको छ । तर, यसमा रैथाने जातका कुखुराको संख्या समावेश गरिएको छैन ।


देशको कुल मासु उत्पादनको १७ दशमलव २ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । ‘रैथाने जातको कुखुराको वृद्धिदर कम छ, अण्डाको साइज पनि सानो छ,’ कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका पशु प्रजनन तथा जैविक प्रविधि विभागका प्रमुख डा. निराजन भट्टराईले भने, ‘किसान विकासे जातका कुखुरामा आकर्षित हुन थाले, जसले गर्दा रैथाने जातका कुखुरा हराउँदै गए ।’


उनले थोरै लगानीमा रैथाने कुखुरा पाल्न सकिने भए पनि किसान आकर्षित हुन नसकेको बताए ।

उन्नत जातका कुखुरा रोग प्रतिरोधी छैनन् । आहारा महँगो छ । वातावरण अनुकूल छैन । रैथानेलाई भ्याक्सिनेसन आवश्यक छैन । व्यावसायिक पोल्ट्रीले रफ्तार लिन थालेपछि रैथाने जातका कुखुरा हराउन थालेको विज्ञहरू बताउँछन् ।


‘रैथाने कुखुरा कति छन्, यसको तथ्यांक छैन,’ उनले भने, ‘यसको उचित तथ्यांक राख्न, उत्पादकत्व बढाउन अनुदानको व्यवस्था गर्न जरुरी छ, ग्रामीण कुखुरा पालनलाई कृषि पर्यटनसँग जोडेर आन्तरिक तथा बाहय पर्यटक भित्र्याउनुपर्छ ।’ सरकार लोपन्मुख अवस्थामा पुगेका कुखुरा संरक्षण गर्न लागिपरेको पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले बताए ।


‘३ वटा रैथाने जातका कुखुरामध्ये साकिनी धेरै राम्रो हो,’ उनले भने, ‘यसमा हाई प्रोटिन र कम फयाट हुन्छ ।’ उनका अनुसार यसको संरक्षण गर्ने उद्देश्यले ग्रामीण पर्यटनसँग जोडेर होमस्टे सञ्चालन भएका ठाउँमा हयाचरीको व्यवस्था गरिएको छ ।


यो कार्यक्रम तनहुँ, लमजुङ, कास्कीलगायत ७ जिल्लामा सञ्चालित छ । समूहमार्फत हयाचरी उपलब्ध गराइन्छ । जसमा भाले र पोथी किसान आफ्नै हुनुपर्छ । औषधि उपचारको व्यवस्था किसानलाई गर्ने गरिएको उनले बताए ।

प्रकाशित : भाद्र ६, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?