मौलाउँदै रैथाने फापर

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा रैथाने फापर खेती मौलाएको छ । प्राय: सबैजसो गाउँबस्ती छेउका खेतमा फापर लगाइएको छ । तल्लो क्षेत्रको नासों १ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ ९ खाङसारसम्म फापर खेती गरिएको छ ।

हिमालपारीको जिल्ला मनाङमा फुलेको रैथाने फापर । तस्बिर सौजन्य : कैलाशबाबु तिवारी

समुद्री सतहदेखि ३ हजार ७ सय मिटर उचाइमा रहेको खाङसारसम्म फुलेको र झुलेको फापरले स्थानीयलाई आत्मनिर्भर बनाएको छ ।


मनाङमा अन्य ठाउँबाट फापर भित्रिँदैन । बरु मनाङमा लगाइएको फापर अन्य जिल्लामा लाने गरिएको छ । धान, मकै र कोदो नफल्ने मनाङमा फापर खाद्यबालीका रूपमा दरिएको छ । मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फु
बस्तीबाहेक तल्लो क्षेत्रमा फापर खेती हुने स्थानीय बताउँछन् । यी ठाउँमा फापरको रहरलाग्दो खेती हुने गरेको छ । स्थानीयले फापरलाई पर्यटनसँग जोडेका छन् ।


चामे २ थान्चोकका नरेन्द्र घलेका अनुसार गाउँका खेतभरि फापर फस्टाएको छ । फापरको फूलले पर्यटक लोभिएको उनले बताए । ‘फापर हेर्न पर्यटक गाउँमा बास बस्ने गर्छन् । त्यही फापरको परिकार उनीहरूलाई खुवाउँछौं,’ उनले भने । उनका अनुसार फापरको पिठोबाट रोटी, ढिँडोलगायत परिकार बन्छ । मनाङ ङिस्याङ ४ की सोनाम डोल्मा गुरुङका अनुसार माथिल्लो मनाङ क्षेत्रमा अहिले रहरलाग्दो तरिकाले फापर फुलिरहेको छ । ‘मनाङमा आउने पर्यटक फापर खेतीमा रमाउँछन् । फोटो खिच्छन्,’ उनले भनिन् । हुम्डेका छिरिङ गुरुङका अनुसार फापर खेतीले गाउँको रौनक नै फेरिएको छ ।


यसअघिको कृषि कार्यालयका अनुसार मनाङका प्राय: स्थानीयले व्यवसायका रूपमा होटल चलाउँछन् । होटल व्यवसायमा आबद्ध उनीहरूले फापरको खेती गर्ने गरेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटल सञ्चालन गर्दै आएका हुन् । फापरका लागि कम मल चाहिने भएकाले एक वर्ष बिराएर उक्त खेती गरिन्छ । यस वर्ष खेती गरिएको ठाउँमा अर्को वर्ष गहुँ, जौ वा उवा खेती गरिन्छ । अर्को वर्ष भने फापर खेती नै गरिने स्थानीय बताउँछन् । स्थानीयले प्राय: जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् । भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिएको स्थानीय किसान बताउँछन् । माथिल्लो र तल्लो मनाङमा यही मौसममा फापर खेती गरिए पनि समय भने फरक पर्छ ।


कार्यालयका अनुसार पर्यटकले फापरको परिकार मात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् । चक्रीय पदमार्ग घुम्न आउने पर्यटक फापर खेती हेर्न लोभिने गरेका छन् । ०७४/७५ मा २ सय ८६ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएकामा ५ सय ८ टन उत्पादन भएको थियो । ०७३/७४ मा २ सय ८६ हेक्टरमै खेती गरिएकामा ५ सय २ टन उत्पादन भएको थियो । ०७२/७३ मा २ सय ८५ हेक्टरमा खेती गरिएकामा ५ सय १४ टन फापर उत्पादन भएको थियो ।


कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार फापर खेती खासै घटबढ देखिँदैन । तर, किसानले भने पछिल्लो समय फापर खेती घटदै गएको बताएका छन् । कुल खेतीयोग्य २ हजार १ सय ५३ हेक्टर क्षेत्रफलमध्ये २ हजार १७ हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेती भइरहेको कृषिले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ ११:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सात महिनापछि मुलुक बचतमा

चालु खातामा भने घाटा थप विस्तार भई २ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — सात महिनायता लगातार घाटामा रहेको मुलुकको शोधनान्तर स्थिति गत असारमा सुध्रिएको छ । मुलुक भित्रिने र बाहिरिने रकमको विवरण देखाउने शोधनान्तर असारमा ९६ करोड रुपैयाँले बचतमा रहेको हो ।

अघिल्लो आर्थिक वर्ष यो ८२ अर्ब ११ करोड रुपैयाँले बचतमा थियो । पछिल्ला महिनामा रेमिटयान्स आप्रवाहमा सुधार भएको, वैदेशिक ऋण बढेको, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा उल्लेख्य सुधार देखिएको लगायत कारण शोधनान्तर बचतमा पुगेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए ।


अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर फराकिलो बन्दै गएकाले अवस्था चुनौतीपूर्ण बनेको अर्थविदहरूले जनाएका छन् ।


शोधनान्तर र चालु खातामा अघिल्लो वर्षदेखि नै चाप पर्न थालेको हो । अघिल्लो आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहिरहयो । यही प्रवृत्ति गत आर्थिक वर्षमा पनि दोहोरियो । गत आर्थिक वर्षको सुरुका दुई महिनामा पनि शोधनान्तर ऋणात्मक रहयो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर स्थिति थोरै बचतमा देखियो । त्यसपछि लगातार सात महिना शोधनान्तर घाटामा रहयो ।


शोधनान्तर बचतमा देखिए पनि चालु खाता घाटा उच्च दरले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । ‘गत आर्थिक वर्षमा चालु खाता घाटा थप विस्तार भई २ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ,’ राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ । गत आर्थिक वर्षको चालु खाता घाटा कुल गार्हस्थ उत्पादन (जीडीपी) ८.२ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो घाटा १० अर्ब रुपैयाँ थियो । यो तत्कालीन जीडीपीको ०.४ प्रतिशत हो । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामग्रीलगायतको उच्च आयातका कारण चालु खाता उल्लेख्य घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।


चालु खाता घाटाले अर्थतन्त्र कमजोर भएको संकेत गर्ने अर्थविद् केशव आचार्यले बताए । आयात उच्च दरले बढेकाले चालु खातामा दबाब परेको उनको भनाइ छ । यद्यपि चालु खाता घाटामा जाँदैमा डराउनुपर्ने अवस्था नहुने जनाउँदै उनले भने, ‘यसका लागि आयातको संरचना हेर्नुपर्छ, पुँजीगत वस्तुको आयात बढेको भए अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । उपभोग्य वस्तुको आयात धेरै भएको भए अर्थतन्त्रका लागि राम्रो हुँदैन ।’


चालु खाता घाटा निरन्तर बढ्नुको अर्थ रेमिटयान्सले व्यापार घाटा थेग्न छोडेको स्पष्ट संकेत भएको पूर्वसचिव रामेश्वर खनालले बताए । मुलुकको शोधनान्तर सकारात्मक रहेको र विनिमय सञ्चिति सीमान्त रूपमा बढिरहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । विदेशी ऋण तथा अनुदान बढेकाले गत वर्षको अन्त्यमा शोधनान्तर स्थितिमा सुधार देखिएको जनाउँदै उनले थपे, ‘उक्त अवधिमा पुननिर्माणका लागि भएको प्रतिबद्धताअनुसार बाहिरबाट पैसा आएको होला । तर, यो दिगो हुँदैन ।’


चालु खाता घाटाको अवस्था हेर्दा तत्काल सुधारको सम्भावना नदेखिएको उनले बताए । विद्यमान अवस्थाको अर्थतन्त्रमा तत्काल (अल्पकालमा) सुधार गर्न एफडीआईलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । ‘करिब एक वर्षका लागि आँखा चिम्लेरै भए पनि धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन लाग्नुपर्छ,’ उनले भने, ‘यसका लागि विदेशी लगानी ल्याउँदा तेस्र्याउने विभिन्न सर्तहरूमा लचकता अपनाउन सकिन्छ ।’ यसैगरी नेपाल एयरलाइन्सलगायत मुलुकमा प्रत्यक्ष रूपमा विदेशी मुद्रा भित्रिन सहयोग पुग्ने व्यवसायहरूको विकास तथा विस्तारमा जोड दिनुपर्ने उनले बताए ।


‘शोधनान्तर घाटा र चालु खाता घाटा सुधारका लागि मध्यकालमा निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग तथा व्यवसायको द्रुत विकास तथा विस्तारमा लाग्नुपर्छ,’ उनले भने ।


७ खर्ब ५५ अर्ब रेमिटयान्स
गत आर्थिक वर्षमा रेमिटयान्समार्फत ७ खर्ब ५५ अर्ब रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ८.६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर ४.६ प्रतिशत थियो । गत वर्षको रेमिटयान्स आप्रवाह सोही अवधिको जीडीपीसँगको अनुपात २५.१ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो अनुपात २६.३ प्रतिशत थियो ।


कर्जाभन्दा निक्षेप वृद्धिदर कम
तरलतामा उतार चढावको स्थिति रहे पनि गत वर्षमा कर्जा प्रवाह साढे २२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो १८.२ प्रतिशतले बढेको थियो । यस्तै गत वर्ष निक्षेप वृद्धिदर १९.२ प्रतिशत छ ।


‘गत वर्षमा कर्जा प्रवाह २२.५ प्रतिशतले बढेको तुलनामा निक्षेप १९.२ प्रतिशतले मात्र बढ्नुले वित्तीय अवस्था अझै कसिलो रहेको देखाउँछ,’ राष्ट्र बैंकले भनेको छ । तर, रेमिटयान्स आप्रवाहको वृद्धिदर र पुँजीगत खर्चको अवस्थाले आगामी समयमा वित्तीय स्थितिको दिशा निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ ।


साढे १७ अर्ब एफडीआई
गत वर्ष १७ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब साढे २९ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । गत वर्ष वैदेशिक लगानी आप्रवाहको अधिकांश हिस्सा ऊर्जा, सिमेन्ट, होटललगायतका उद्योगमा लगानी भएको राष्ट्र बैंकले जनाएको । यसरी एफडीआईमा सुधार हुनु अर्थतन्त्रका लागि निकै राम्रो संकेत भएको विज्ञहरूले जनाएका छन् ।


बजार भाउ ४.२ प्रतिशतले बढयो
गत आर्थिक वर्ष बजार भाउ औसत ४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यो गत आर्थिक वर्षको वार्षिक औसत मूल्य वृद्धिदर हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर ४.५ प्रतिशत थियो । गत वर्षको औसत मूल्य वृद्धिदर आर्थिक वर्ष ०६१/६२ यताकै सबैभन्दा न्यून हो । आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्य वृद्धि रहेको कारण गत वर्षमा समग्र उपभोक्ता मूल्य वृद्धिदरमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । तर, बजारमा उपभोक्ताले मूल्य वृद्धिदरमा कमी आएको महसुस गर्न पाएका छैनन् । दैनिक रूपमा बजार भाऊ उच्च दरले बढिरहेकाले विगतको भन्दा धेरै खर्चिनुपरेको उपभोक्ताहरूको गुनासो छ ।


विनिमय सञ्चिति ११ खर्ब
गत असारसम्म मुलुकमा ११ खर्ब २ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २.१ प्रतिशतले बढेको हो । ०७४ असारमा यस्तो सञ्चिति १० खर्ब ७९ अर्ब रुपैयाँ थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ९ खर्ब ८९ अर्ब रुपैयाँ छ । ०७४ असारमा यो ९ खर्ब २७ अर्ब रुपैयाँ थियो । मुलुकको कुल सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।


व्यापार घाटा ११ खर्ब ६१ अर्ब
गत आर्थिक वर्ष मुलुकले ११ खर्ब ६१ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यस्तो घाटा २६.७ प्रतिशतले बढेको हो । गत वर्ष कुल ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा यो ११.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले बढेको थियो । यसैगरी गत वर्ष मुलुकमा १२ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष आयात साढे २५.५ प्रतिशतले बढेको हो ।

प्रकाशित : भाद्र ६, २०७५ ११:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT