१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पर्यटक बढेपछि होटल थपिँदै

प्रताप विष्ट

थाहा (मकवानपुर) — थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा सुविधायुक्त होटलहरू थपिँदै छन् । आन्तरिक एवं बाहय पर्यटक आउने क्रम बढेसँगै होटलहरू थपिँदै गएका हुन् । इन्द्रसरोवर १ सिम्लाङमा १२ जना स्थानीय युवा मिलेर सुविधायुक्त होटल सञ्चालनमा ल्याएका छन् ।

पर्यटक बढेपछि होटल थपिँदै

कुलेखानी जलाशय इन्द्रसरोवरको काखमा रहेको ‘डी लेक साइड सिमलाङ’ होटल विगत केही महिनादेखि सञ्चालनमा आएको छ । करिब ३ करोडको लागतमा निर्माण गरिएको ‘डी लेक साइड सिमलाङ’ होटलमा स्विमिङ पुलसहित सभाहल पनि छ । सिस्नुको सुप, फापर र कोदोको रोटीसमेत खुवाउने उक्त होटलले स्थानीय अर्गानिक खाद्यान्न वस्तुहरू पर्यटकहरूलाई खुवाउने गरेको छ । इन्द्रसरोवरको डिल र कुलेखानी–कुन्छाल सडकसँग जोडिएको उक्त होटल सञ्चालनमा ल्याएदेखि सधै भरिभराउ रहेको दाबी सञ्चालक प्रमोद जोशीले गरे ।


इन्द्रसरोवर गाउँपालिकाको मार्खु बजारमै इन्द्रसरोवर र परेली होटल पनि सञ्चालनमा छन् । इन्द्रसरोवर जलाशयको किनारामा पर्यटकहरूलाई लक्षित गरेर ससाना होटल सञ्चालनमा छन् । थाहा नगपालिका ६ वज्रवाराहीमा करिब ९ करोडमा लागतमा स्थानीय उद्यमी युवाले ओम अध्याय नाम गरेको होटल सञ्चालन गरेका छन् । १८ रोपनी जग्गामा स्थापना गरेको उक्त होटल १ सय ६० जना अट्ने क्षमताको रहेको होटल सञ्चालक अर्जुनसिंह ठकुरीले बताए । पर्यटकहरूलाई उक्त क्षेत्रको अवलोकन गर्न सहज र रमाइलो अनुभव गरून् भन्ने उद्देश्यले २ वटा घोडा पनि राखिएको छ ।


यसैगरी मकवानपुरकै ऐतिहासिक एवं पर्यटकीय गाउँ चित्लाङमा करिब ३ करोडको लागतमा स्थानीय युवाले निर्माण गरेको चित्लाङ रिसोर्ट सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । ‘रिसोर्टको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेका छ,’ रिसोर्ट सञ्चालक देवेन्द्र नेपालीले भने, ‘असोजको पहिलो सातासम्म रिसोर्ट सञ्चालनमा आउँछ । २० वटा कोठा रहेको उक्त रिसोर्टमा करिब सयजना अट्ने क्षमताको छ ।’ चित्लाङमै बलराम पौडेलले पनि चित्लाङ हट स्पट सञ्चालनमा ल्याइसकेका छन् । आन्तरिक एवं बाहय पर्यटकहरूको रुचिको आधारमा बस्नका लागि पक्की घरको कोठा र टेन्ट दुवैको सुविधा उपलब्ध गराइएको छ ।


थाहा नगरपालिका ९ चित्लाङमा होटल एवं रिसोर्ट सञ्चालन गर्न विभिन्न क्षेत्रका होटल व्यवसायीहरू जग्गा खरिद गरिसकेका छन् । थानकोट–चन्द्रागिरी केबुलकार, थानकोट–चित्लाङको सडक विस्तार र थानकोट–चित्लाङ सुरुङ निर्माण गर्ने सरकारको घोषणाले चित्लाङको जग्गाको मूल्य ह्वात्तै बढेको छ । राजधानी नजिक भएकाले आन्तरिक एवं बाहय पर्यटकहरू व्यापक रूपमा आउने गरेका छन् । चित्लाङ गाउँलाई नेपाल पर्यटन बोर्डले मुलुकमै पहिलो पटक पर्यटकीय गाउँ घोषणा गरेको थियो । चित्लाङमा एक दर्जनभन्दा बढी होमस्टे सञ्चालनमा छन् ।


सरकारले थाहा नगरपालिकालाई पर्यटकीय नगर बनाउने घोषणा गरे अनुरूप थाहा नगरपालिकाको दामन र ओखरगाउँ २ वटा होटलहरू सञ्चालनमा आइसकेका छन् भने दामनमा नै अर्को होटल निर्माणाधीन अवस्थामा छ । ‘आन्तरिक एवं बाहय पर्यटकहरूको चापको कारणले थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा नयाँनयाँ सुविधायुक्त होटल र रिसोर्ट थपिँदै छन्,’ थाहा नपाका मेयर लवशेर विष्टले भने, ‘नगरपालिकाले पनि पर्यटकमैत्री र होटलमैत्री नीति निर्माण गरिरहेको छ ।’


इन्द्रसरोवर गाउँपालिकाले आन्तरिक एवं पर्यटकलाई आकर्षण गर्न इन्द्रसरोवर जलाशयको चारैतिर साइकिलिङ रोड निर्माण गर्न लागेको छ भने तनाव व्यवस्थापन स्थल पनि निर्माण गर्न लागेको छ । ‘गाउँपालिकाले आन्तरिक एवं बाहय पर्यटकहरूलाई आकर्षण गर्न विभिन्न योजनाहरू बनाएका छौं,’ गापा अध्यक्ष जीवन लामाले भने, ‘निजी क्षेत्रसँग मिलेर पर्यटकीय क्षेत्रको विकास गर्छौं ।’ प्रत्येक साताको शुक्रबार चित्लाङ, सिमलाङ, मार्खु, वज्रवाराही, दामन र सिमभन्ज्याङका रिसोर्ट, होटल र होमस्टेहरू भरिभराउ हुने गरेका छन् ।


मकवानपुरको उत्तरी क्षेत्र अर्थात् चित्लाङदेखि सिमभन्ज्याङ पर्यटकीय क्षेत्र हुन स्थानीय तहले आन्तरिक एवं बाहय पर्यटकहरू आकर्षण गर्न पर्यटकमैत्री वातावरण बनाउनुपर्ने पर्यटकविज्ञ नेपाल पर्यटन बोर्डका मणिराज लामिछाने बताए ।

प्रकाशित : भाद्र ६, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?