१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

किसानका उत्पादन पैंचोमा

घनश्याम गौतम

हुँगा (गुल्मी) — छत्रकोट ४ तिलडाँडाका डिल्लीराज कँडेलले झन्डै ५० वर्षसम्म बारीको कान्लामा फलेका ‘भुटुक’ त्यसै खेर फाले । रूखको डाले घाँस प्रयोग भए पनि बर्सेनि फल्ने ती फल उपयोगबिनै कुहेर गए । तर, चार वर्षयता अवस्था फेरिएको छ ।

किसानका उत्पादन पैंचोमा

यस वर्ष मात्र उनले ७० किलो भुटुक प्रतिकिलो २० रुपैयाँका दरमा बिक्री गरे । त्यही रकमले उनको ६ महिनाको चियामसला चल्यो ।


भुटुकसँगै ४० रुपैयाँ किलोमा एक क्विन्टल गिठाभ्याकुर, ३० रुपैयाँ किलोमा एक क्विन्टल अमला, १८ रुपैयाँ किलोमा पाँच क्विन्टल भक्कु अमिलो र ५० रुपैयाँ किलोमा ३० किलो भकिम्लो पनि उनले बिक्री गरे । यी खाद्यवस्तु वर्षौंदेखि जंगलमा त्यसै खेर गएका थिए । तर, गाउँमा वस्तु साटासाट गर्ने पैंचो पसल पुगेपछि घरमा उत्पादन हुनेबाहेक जंगलमा पाइने खाद्यवस्तु टिपेर बिक्री गर्दै गाउँले किसान वर्षभरिको खर्च जोहो गर्दै छन् ।


‘मैले यी सबै सामान लगेर पैंचो पसललाई दिन्छु,’ कँडेलले भने, ‘पैसा लिन्न, वर्षभरि जे चाहिन्छ, त्यही पसलबाटै ल्याउँछु ।’ यसबाहेक उनले घरमा उत्पादन हुने घिउदेखि जंगलमा पलाएका बाँसका तामासम्म पैंचो पसलमै बिक्री गर्छन् ।


घर, खेतबारी र जंगलमा उत्पादन हुने र आफैं फल्ने अनि खानयोग्य सामग्री किसानबाट संकलन गर्न स्थानीयकै पहलमा गाउँमा पैंचो पसल खुलेपछि किसानले आम्दानी बढाउन थालेका छन् । परम्परागत खेती गर्ने किसानलाई पैंचो पसलले उत्पादनमुखी र व्यावसायिक बन्न सिकाएको छ । घरबारीमा फलेका फलफूलदेखि उत्पादित वस्तु एकापसमा बाँडेर खाने छिमेकी पनि अहिले हरेक वस्तु बिक्री गर्न र आम्दानी लिन पल्केका छन् । आम्दानी बढेसँगै किसानको आकर्षण उपभोक्ताभन्दा पैंचो पसलमा बढ्दो छ ।


किसानका सामग्री खरिद गर्ने र त्यसबापत किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउने गरी चार वर्षअघि रुरु ४ बलेटक्सारमा पैंचो पसल खुलेको हो । यसले जंगलमा फल्ने भुटुक, तामा र सिस्नोसम्म किसानबाट खरिद गर्छ । त्यसबापत किसानलाई खाद्यवस्तुका साथै नगद पनि उपलब्ध गराउँछ ।


‘मैले घरमा त्यसै खेर जाने गरेका तरकारीजन्य सामग्री बिक्री गरेर गत वर्ष झन्डै ८५ हजार रुपैयाँ आम्दानी गरें,’ रुरु ५ बम्घाका हिमलाल ज्ञवालीले भने, ‘बारीमै कुहिएर जाने फर्सी बिक्रीबाट मात्र यस वर्ष २६ हजार आम्दानी भयो ।’ फर्सीसँगै कुभिन्डो, गिठा, भ्याकुर पनि पैंचोले खरिद गर्न थालेपछि आम्दानी बढेको उनले सुनाए ।


कृषिजन्य वस्तु साटासाट गर्ने गरी खुलेको पैंचोले घर र बारीमै पुगेर किसानका सबै उत्पादन खरिद गर्छ । किसानको सहयोगका लागि कृषि प्राविधिक गाउँमै खटाउँछ । उनीहरूले किसानलाई नि:शुल्क सेवा दिन्छन् । त्यसले किसानलाई उत्पादन बढाउन सहयोग पुगेको छ । कुन गाउँमा कति किसानले कति जग्गामा के के खेती लगाएका छन्, त्यसको विवरण पैंचोले राख्छ ।


प्रकाशित : भाद्र ६, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?