कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हेलिकप्टरले मनपरी भाडा अशुल्न नपाउने

सुरज कुँवर

काठमाडौँ — वायुसेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीको चार्टर उडानमा भाडा दर तोक्ने भएको छ ।

हेलिकप्टरले मनपरी भाडा अशुल्न नपाउने

सरकारको कुनै मापदण्ड नभएका कारण नेपाली हेलिकप्टर कम्पनीहरुले मनलाग्दी भाडा असुल्दै आएका थिए ।


प्राधिकरणका महानिर्देशक संजिव गौतमले चाँडै हेलिकप्टरले लिन पाउने न्यूनतमदेखी अधिकतम् चार्टर उडान भाडा तोक्ने बताए । ‘फर्जी उद्धार सम्बन्धि सरकारले गरेको अध्ययनको प्रतिवेदन पायौँ,’ महानिर्देशक गौतमले आइतबार बबरमहलस्थित प्राधिकरणमा आयोजित बजेट सार्वजनिक कार्यक्रममा भने, ‘हामी नियमनकारी निकाय भएकाले यो विषयबारे नियमन गर्नुपर्छ भन्ने महशुश भएको छ ।’


भाडादरबारे हेलिकप्टर कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघसँग पनि छलफल गरी तय गरिने महानिर्देशक गौतमले बताए । कार्यदलको प्रतिवेदनले औंल्याएका विषयमा प्राधिकरणले पनि थप छानविन गर्ने जनाएको छ । ‘बिमा दाबी र विमानस्थलको टेक–लग पुस्तिकामा उडान संख्या फरक परे त्यस्ता एयरलाइन्सलाई कारबाही गरिने छ,’ गौतमले भने ।


हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी (एयरलाइन्स) छन् । यीसँग २८ वटा हेलिकप्टर छन् । सरकारले गठन गरेको कार्यदलले उजुरीका आधारमा १० वटै हेलिकप्टर कम्पनीहरुले सन् २०१५ देखी ०१८ मे सम्म गरेका ७ हजार ५ सय ५६ वटा उद्धार उडानका कागजातमाथि अनुसन्धान गरेको थियो ।

यी मध्ये तीनवटा हेलिकप्टर कम्पनी हेलि एभरेष्ट, एयर डाइनेष्टी र मनाङ्ले यो अवधिमा गरेका कारोबारमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार अनुसन्धान गरी कारबाही गर्न राजश्व अनुसन्धान विभागलाई भनिएको छ ।


हेलिकप्टर, रेस्क्यू कम्पनी, अस्पतालसँग मिलेमतो गरी ट्राभल/ट्रेकिङ् एजेन्सीहरु पर्यटकहरुको फर्जी उद्धार गर्ने क्रम वृद्धि भएको गुनासो बढेपछी सरकारले पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा जेठ अन्तिम साता सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको थियो । यसले साउन १४ गते पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो ।


कतिपय बिरामी पर्यटकलाई हेलिकप्टर कम्पनीले घटनास्थलबाट उद्धार गरी अस्पतालमै पुर्‍याएको जनाएपनि अस्पतालको विवरण छानविन गर्दा बिरामी पर्यटक उपचारकालागी भर्ना नै नभएको प्रतिवेदनमा उल्लेख छ । एक हेलिकप्टर कम्पनीका संचालकका अनुसार, संघले पछिल्लोपटक देखापरेको फर्जी उद्धार नियन्त्रण गर्न भाडा तोक्ने तयारी गरेको छ ।


‘हेलिकप्टर उडानको भाडा दर तोक्न हामी व्यवसायीहरु पनि गृहकार्य गरिरहेका छौं,’ ती व्यवसायीले भने, ‘विदेशी नागरिकहरुको उद्धार र नेपालीहरुकालागि हुने चार्टर उडानको भाडा दर एउटै हुने छैन्,’ दुईवटा हेलिकप्टरमार्फत सेवा प्रदान गर्दै आएका उनले थपे,‘नेपाली नागरिकलाई सहुलियत दर लगाउने सोच छ ।’


पछिल्लोपटक पर्यटकहरुको फर्जी उद्धारमा केही बिचौलिया ऐजेन्सीहरुका कारण हेलिकप्टर कम्पनीहरु पनि मुछिएकोमा दुःख मनाउ गर्दै उनले यो विकृतीमा सबै कम्पनीहरु नरहेको जिकिर गरे ।

‘हामीलाई पनि बिल बढाई देऊ, अरु एयरलाइन्सहरुले बढाउछन भनेर केहिले एजेन्सीले मागेका थिए तर हामीले बरु व्यापार गुमाउछौं दिदैनौ भनेर अडान राख्यौं,’ हालै एयरलाइन्स बिजनेशमा आएका ती उद्यमीले नाम नखुलाइदिने शर्तमा भने ।


पर्यटकलाई उद्धार गर्ने रेस्क्यू एजेन्सीहरुले अत्याधिक रकम बढाएर फर्जी बिल बनाई विदेशी विमा कम्पनीहरुसँग रकम दाबी गर्न विगत केही वर्ष देखी यस्तो धन्दा हुदै आएको थियो ।

एक जना पर्यटकको उद्धार गरेबापत ६३ लाख रुपैया हेलिकप्टर भाडा विमामार्फत दाबी गरिएको प्रतिवेदनमा उल्लेख छ । उद्धार जस्तो मानव सेवामा व्यापारीकरण भएको र मुलुकै बदनाम हुन थालेपछी पर्यटन मन्त्रीले कार्यदल गठन गरेका थिए ।

प्रकाशित : भाद्र ४, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?