कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मकै र फापरको उत्पादन घट्दै

मलबासे (उदयपुर) — पछिल्लो समय दुर्गम पहाडी क्षेत्रमा मकै, कोदो र फापरको खेती घट्दै गएको छ । आधुनिक खेती प्रणालीसँगै मकै, कोदो, फापर र जुनेलोको विकल्पमा लागेकाले उत्पादन घट्दै गएको हो ।

मकै र फापरको उत्पादन घट्दै

रौतामाई, लिम्चुबाङ, ताप्ली गाउँपालिकाका किसानले पछिल्लो समय परम्परागत खेती छाडेका छन् । परम्परागत खेती मकै, कोदो, फापर, जुनेलो र कागुनोले गुजारा गर्न समस्या भएपछि किसान आधुनिक खेतीमा लागेका हुन् । ५ वर्षअघिसम्म पाखो बारीमा कोदो, फापर र जुनेलो खेती किसान अहिले चिया, अलैंची, आलु, काउली र टमाटार उत्पादन गरिरहेका छन् । मकै, कोदो, फापर र जुनेलेको माग बजारमा धेरै छ ।

पहाडी क्षेत्रका किसान अहिले अन्न बालीका विकल्पमा तरकारी, फलफूल, अलैंची, अदुवा र अम्रिसो खेती गर्दै आएका छन् । ‘पहिले पहिले अन्नबाली र त्यसपछि केही समय किसानले प्रतिबन्धित लागूऔषध गाँजाको समेत खेती गरेका थिए,’ ताप्लीका किसान सार्कुमान ज्यूठकुरीले भने, ‘तर, अहिले गाँजा र अन्नबाली दुवै छोडेर नगदेबालीका रूपमा तरकारी, फलफूल र मसालाजन्य वस्तु (अलैंची, तेजपात र अदुवा) खेती गरिरहेका छन् ।’

रौतामाई ६ नामनताका किसान मानबहादुर रानामगरले भने, ‘पहिले कोदो, मकैको माग थियो, अहिले फलफूल र तरकारीको माग छ ।’ त्यसैले बजारको मागअनुसार नै किसान तरकारी र फलफूल खेती गरिरहेको उनले बताए ।

जिल्लाको उत्तरी ग्रामीण क्षेत्रका सयौं किसान ५/७ वर्षयता कोदो, फापर, जुनेलो खेती छोडेर तरकारी र फलफूलमा लागेको कृषक गंगा रानामगरले बताए । ‘किसानले मकै, कोदो, फापर र जुनेलो लगाउन त के खानसमेत छोडिसके,’ उनले भने, ‘सहरमा कोदो, फापर र जुनेलोको माग अत्यधिक छ ।’ तर, मागअनुसार उत्पादन हुँदैन ।

गत वर्ष उदयपुरमा कोदो ५ हजार ३ सय ४१, मकै ३६ हजार ९ सय ४४ र गहुँ १२ हजार ८ सय २८ र धान ५५ हजार ३ सय ८० टन उत्पादन भएको थियो । उत्पादित अन्नमा सबैभन्दा कम कोदो भएको कृषि तथ्यांकमा देखिन्छ । यो क्रमश: घट्दै गएको कृषि प्राविधिक बताउँछन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?