डलरको भाउ १ सय १२ नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले निकालेको औसत दरअनुसार एक डलर किन्न एक सय १२ रुपैयाँ २० पैसा खर्चिनुपर्ने भएको छ । सोमबार बिहान भारतीय रुपैयाँ डलरसँग हालसम्मकै कमजोर अवस्थामा पुगेको थियो ।

यसको नेपालमा सीधा असर परेको हो । नेरु र भारतीय रुपैयाँ (भारु) बीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुनेबित्तिकै नेरुको अवमूल्यन भएको हो ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण यसै पनि कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो । यसले टर्कीको मुद्रा लिरा पनि ७ प्रतिशतले अवमूल्यन भएको छ ।

युरोपेली बैंकहरूमा पनि यसको असर पर्न सक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन । न्युजिल्यान्डको मुद्रा पनि अवमूल्यन भएको छ । टर्कीकै संकटका कारण धेरैजसो एसियाली सेयर बजार पनि सोमबार ओरालो लागे । धेरै लगानीकर्ता विश्व अर्थतन्त्रमा भएको उथलपुथलका कारण बलियो मुद्रातर्फ आकर्षित भएका छन् । अमेरिकी डलरसँगै जापानी येन पनि बलियो भएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

उत्पादन बढाउन चैतेधानको बिमा

एक हेक्टर क्षेत्रफलमा धान लगाएर बिमा गरे बिमा शुल्कमा ७५ प्रतिशत अनुदानबाहेक सरकारले प्रोत्साहनस्वरूप ५ हजार रुपैयाँ नगद दिने गरेको छ
विमल खतिवडा

काठमाडौँ — चैत महिनामा प्राय: खेतबारी बाँझै बस्छन् । यस्तो मौसममा बाँझो रहने खेतलाई हरियाली बनाउन सरकारले ल्याएको कार्यक्रममा किसान सहभागी हुन थालेका छन् । सिँचाइ सुविधा भएका खेतमा चैतेधान लगाए सरकारले बिमामार्फत सहयोग गर्न थालेको हो ।

कृषि विभागले बृहत्तर धान उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि ०७२ अन्तर्गत दुई वर्षअघिदेखि चैतेधानको बिमा सुरु भएको हो । विभागका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यका अनुसार अहिले मुलुकभर १ लाख २० हजार हेक्टर क्षेत्रफलमा चैतेधान हुन्छ ।

५० जिल्ला यो धान उत्पादनका सम्भावना भएका जिल्ला हुन् । ३५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम लागू भएको छ । यो कार्यक्रमअन्तर्गत धान गोड्ने मेसिन, बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराइन्छ । ‘०७३ साउनबाट बिमा लागू भई चैतबाट यसको बिमा गर्न सुरु गरिएको हो,’ उनले भने, ‘यो वर्षको रेकर्ड आइसकेको छैन, गत वर्षसम्म ५ हजार हेक्टर क्षेत्रफलको बिमा भएको थियो ।’

यो वर्षबाट स्थानीय तहमा बजेट गए पनि पहिलाका कार्यक्रम प्राथमिकतामा नपरेको उनले बताए । ‘पहिला विभागअन्तर्गतका कृषि कार्यालयबाट हुने कार्यक्रम अहिले स्थानीय तह मार्फत हुन्छ,’ उनले भने । उनका अनुसार यो धान उत्पादनको क्षेत्रफल ३ लाख हेक्टर पुर्‍याउने लक्ष्य छ । अहिले साढे ५ लाख मेट्रिक टन धान उत्पादन भइरहेको छ । स्थानीय तहमा भए पनि किसानले बिमा गर्न पाउनेछन् । बिमा शुल्कको ७५ प्रतिशत सरकारले र २५ प्रशितशत किसानले बेहोर्नुपर्ने हुन्छ ।

‘धान रोपेको २१ दिनभित्रमा बिमा गर्नुपर्ने हुन्छ,’ विभागका वरिष्ठ कृषि प्रसार अधिकृत एवं बाली बिमाका सम्पर्क व्यक्ति शिवसुन्दर घिमिरेले भने, ‘यो कार्यक्रमले किसान लाभान्वित बनेका छन् ।’ उनका अनुसार खेत बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्ने र आयात प्रतिस्थापन गर्न बिमा कार्यक्रमले सहयोग गर्नेछ ।

सरकारले चैतेधान हुने जिल्लाहरूमा छुट्टै बिमा कम्पनी तोकिदिनुका साथै कृषि प्रािवधिक पनि उपलब्ध गराउँदै आएको छ । चैतमा लगाएको धान असारमा पाक्छ । बाली भित्र्याउने बेला बढी वर्षा हुने र बालीमा क्षति हुने हुँदा किसानलाई राहत दिने उद्देश्यका साथ सरकारले बिमा कार्यक्रम सुरु गरेको हो । त्यसमा पनि एक हेक्टर क्षेत्रफलमा धान लगाएर बिमा गरे सरकारले प्रोत्साहनस्वरूप ५ हजार रुपैयाँ नगद दिने गरेको छ ।

यो कार्यक्रम प्रचारप्रसारको कमीले गर्दा सबै किसानसामु पुग्न सकेको छैन । जो किसानले बिमाबारे थाहा पाए । उनीहरूले खेतीलाई बढाउँदै लगेका छन् ।

कृषि विभागका अनुसार नुवाकोट, रूपन्देही जिल्लामा बिमा गर्ने किसान बढी छन् । जहाँ चैतेधानको राम्रो उत्पादन हुन्छ । ‘पहिला असिना र कीराले धान नष्ट गर्दा लगाउन खासै मन लाग्दैन थियो,’ नुवाकोटको सूर्यगढी गाउँपालिका ५ स्थित फेदी बेंसीका जुनिल श्रेष्ठले भने, ‘अहिले खेतीको बिमा गर्न पाउँदा खुसी लागेको छ, यो वर्ष १० रोपनीमा धान लगाएँ, सबैको बिमा गरें ।’

उनका अनुसार गत वर्ष गाउँकै २ जना किसानको कीराले ५० प्रतिशत बाली नष्ट गरेको थियो । दुवैले बिमा गरेकाले क्षतिबापतको रकम पाए । ‘बिमा अभियान सुरु भएपछि धान लगाउन हामी प्रोत्साहित भएका छौं,’ उनले भने, ‘सरकारले ल्याएको यो नीति किसानमैत्री छ, बिमाकै कारण यो ठाउँमा चैतेधान लगाउने किसान बढेका छन् ।’ उनका अनुसार गत वर्ष रोपनीको ६६ रुपैयाँका दरले बिमा गरिएको थियो । बाली भित्र्याएपछि कृषि कार्यालयमार्फत प्रतिरोपनी २ सय ५० का दरले रकम पाएको उनले सुनाए ।

के चाहिन्छ बिमा गर्न ?
बाली लगाएको ठाउँमा सिँचाइ सुविधा हुनुपर्छ । धान न्यूनतम आधा हेक्टर (१० रोपनी वा १५ कठ्ठा) मा लगाउनुपर्छ ।

धान लगाइएको ब्लक एकै कृषक वा सामूहिक पनि हुन सक्छ । एकभन्दा बढी एकै ठाउँमा लगाउने किसान भए सबैको नाम र कित्ता नम्बर प्रस्ताव फारममा उल्लेख गर्नुपर्ने हुन्छ ।

धान बालीका लागि प्रयोग गरिने बीउको स्रोत सरकारबाट स्वीकृति प्राप्त सरकारी, अर्धसरकारी निकाय वा निजी क्षेत्र, कृषक समूह, कृषि सहकारीको हुनुपर्छ । धानको जात राष्ट्रिय बीउबिजन समितिबाट उन्मोचन भई सरकारबाट क्षेत्रगत सिफारिस गरिएको जात हुनुपर्नेछ ।

कसरी गर्ने बिमा ?
बिमा अभिकर्ताले बाली हेरेर किसानको विवरण भर्छन् । त्यसपछि कृषि प्राविधिकले खेतमा सिँचाइ भए नभएको, मापदण्डअनुसार धान लगाए, नलगाएको हेरेर विवरण तयार पार्छन् । जिल्लाहरूमा बिमा गराउने टोली खटिएको हुन्छ । उनीहरूसँग समन्वय गरेर बिमा गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा रकम पाइन्छ
आगलागी, चट्याङ, बाढी, डुबान, खडेरी, असिना, कीरा तथा रोगबाट हानिनोक्सानी भएमा बिमा रकम पाइन्छ । चैतेधान बाली कटान समयावधि पछि थप सात दिनभित्र आँधीबेहरी, असिना, बाढी डुबान, पहिरो, पानीको कारणबाट खेतमा राखेको समयमा क्षति भएमा रकम पाइनेछ ।

यो अवस्थामा पाइने छैन
बाली चोरी भएमा, बिमितले जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा कानुनबमोजिम जग्गाको स्वामित्व स्वत: परिवर्तन हुने अवस्थामा यो लागू हुने छैन । बिउको कारणबाट क्षति भएमा, सरकारबाट सिफारिस वा उन्मोचन नगरिएको बीउ प्रयोग गरिएमा क्षति रकम पाइनेछैन ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्