१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बिनामितिका खाद्यवस्तु बजारमा

रमेशचन्द्र अधिकारी

धनकुटा — सरकारले खाद्य वस्तुमा उत्पादन र उपभोग्य मिति अनिवार्य गरेको छ । बिनामितिको खाद्य बेचेको पाइए कारबाही गर्न सकिने कानुनी व्यवस्था पनि छ । तर, धनकुटामा भने खाद्य उत्पादक र व्यवसायीले बिनामितिकै आफ्ना उत्पादन बजारमा पठाउने गरेका छन् । पसलेहरूले पनि निर्धक्क ती खाद्य वस्तुहरूको बिक्री गरिरहेका छन् ।

बिनामितिका खाद्यवस्तु बजारमा

उत्पादन र उपभोग्य मिति उल्लेख नभएका वस्तुहरूमा बिस्कुट, खानेपानी र पेयपदार्थ लगायतका छन् । केही खाद्य वस्तुमा मिति उल्लेख गरिए पनि उपभोक्ताले नबुझिने गरी लतपतिएको अवस्था रहेका छन् ।

अधिकांश व्यापारिक केन्द्रमा त्यस्ता वस्तु बिक्री भइरहेका छन् । खासगरी यहाँ उत्पादन हुने अधिकांश बिस्कुटलगायतका वस्तुमा मिति राखिएको छैन । त्यस्तै, बाह्य जिल्लामा उत्पादन गरिएका मिनरल वाटर (पानी) मा उत्पादन र उपभोग्य मिति उपभोक्ताले नबुझिने गरी राखिएका छन् ।

सुनसरीको इटहरी २ स्थित दिव्य आक्वा नामको मिनरल वाटरको बोतलमा उत्पादन र उपभोग्य मिति लतपतिएको छ । केही दिनअघि हिलेस्थित होटल होराइजमा भएको कार्यक्रममा सहभागीले पनि उक्त पानीको बोटलमा मिति लतपतिएको अवस्थामा फेला पारेर प्रशासनलाई जानकारी गराएका थिए ।

बजारमा सबैभन्दा बढी बिक्री हुने उक्त पानीको प्राय: कुनै पनि बोतलमा मिति बुझिने गरी राखिएको छैन । रजिस्ट्रेसन नं. १०००२/७०/७१ उल्लिखित उक्त बोतलमा उत्पादन गरिएको ६ महिनासम्म उपभोग गर्न सकिने जानकारी गराइएको छ । तर, उत्पादन मिति नै स्पष्ट नभएपछि उपभोग्य मितिभन्दा बढी पनि पानी बिक्री वितरण हुने गरेको छ ।

दिव्य आक्वाका सञ्चालक दिनेश भट्टराईले मिति अस्पष्ट भएको स्वीकार गरे । उनले हातले छाप लगाउने क्रममा कमजोरी रहेको बताए । तर, सबै बोतलमा यस्तो अवस्था हुनुमा कामदारको कमजोरी रहेको जनाए । अन्य कतिपय बोटलमा पनि यसप्रकारका समस्या रहेको उपभोक्ताले जनाएका छन् । तर, मिति अस्पष्ट हुनेगरी बजारमा बिक्री गरिंदै आए पनि त्यसको नियन्त्रणका लागि प्रशासनिक तबरबाट खासै चासो दिइएको छैन ।

यसैगरी, अधिकांश बिस्कुट उद्योगले उत्पादन र उपभोग्य मिति राख्ने गरेका छैनन् । धनकुटा नगरपालिका ७ शीतलपाटीबाट उत्पादित कोकिस नामको बिस्कुटको पकेटमा उत्पादन र उपभोग्य मिति छैन । धनकुटा ५ स्थित न्यू बाबा बेकरी उद्योगले बिक्रीका लागि तयारी अवस्थामा राखिएका बिस्कुट, डुनट तथा पाउरोटीमा मिति उल्लेख नभएको सिधुवाका कल्पना
गुरुङले बताइन् ।

जिल्लाका अधिकांश व्यापारिक केन्द्रमा बिस्कुट बिक्री हुने गर्छ । म्याद गुज्रिएका औषधि तथा खाद्य वस्तु, मूल्यसूची नराखिएको, सूर्तीजन्य वस्तु र मदिरा इजाजत नलिई पनि बिक्री गरिएका छन् । बजार क्षेत्रका केही वधशाला अव्यवस्थित छन् । जिल्लास्थित सरोकारावाला निकाय यसप्रति गम्भीर नभएको गुनासो सर्वसाधारणको छ । उपभोक्ता अधिकारका सवालमा काम गर्ने संघसंस्था तथा निकायसमेत सक्रिय छैनन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?