कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मोटरबाटो कुर्दै, स्याउका बिरुवा थप्दै

विमल खतिवडा

काठमाडौँ — मुगु सदरमुकाम गमगढीमा यातायात पुगेको ६ वर्ष भयो । तर, सडक गाउँगाउँसम्म अझै पुगेको छैन । गमगढीसम्म पुगेको मोटरबाटोले विकट गाउँका स्थानीयबासीमा थोरै भए पनि आशा जगाएको छ ।

मोटरबाटो कुर्दै, स्याउका बिरुवा थप्दै

वर्षौंदेखि घर परिवारमा खानका लागि मात्र स्याउ लगाउँदै आएका किसानले गाउँमा सडक आइपुग्ने आशामा स्याउ खेतीलाई व्यावसायिक बनाउन बिरुवा थप्न थालेका छन् ।

किसानबीच स्याउ लगाउन प्रतिस्पर्धा नै चल्ने गरेको छ । ‘मोटरबाटो आइपुग्ने आशमा गाउँमा स्याउ लगाउने किसान धेरै छन्,’ छायानाथ रारा नगरपालिका १२ स्थित शोभाका सुवास बुढाले भने, ‘अहिलेसम्म मोटरबाटो नभएर समस्या छ ।’ सडक नहुँदा दु:ख गरी लगाएको स्याउ कुहिने गरेको छ । उनले पनि मोटरबाटो गाउँसम्म आइपुग्ने आशामा ४ सय बोट स्याउ लगाएका छन् । अहिले ६० वटा बोटमा लटरम्म स्याउ फलेको छ ।

‘रित्तै सदरमुकाम जान ३ घण्टा र भारी बोकेर जाँदा ५ घण्टा लाग्छ,’ उनले भने, ‘यसरी बोकेर लगेको स्याउ बिक्री हुने ग्यारेन्टी हुँदैन ।’ दु:ख गरे अनुसार आम्दानी नभएपछि बजार लग्न छाडे । कमैले मात्र यस्तो दु:ख गर्छन् । यो गाउँमा ५०/६० देखि ७ सय बोट स्याउ लगाउने किसान छन् । ‘एक न एक दिन त गाउँमा गाडी आउला, त्यो बेलासम्म त सबै स्याउका बोट फल्ने हुन्छन् ।’

उनको आफ्नै नर्सरी छ । स्याउका बिरुवा उत्पादन गरी बिक्रीसमेत गर्छन् । बिरुवा २० देखि ४० रुपैयाँसम्ममा बिक्री हुन्छ । ‘अहिले कसैले स्याउ खान्छन्, कसैले खुर्सानीसँग साट्ने गर्छन्,’ उनले भने, ‘ सरकारले दुर्गममा फलेको स्याउको ढुवानी गर्ने व्यवस्था मिलाइदिएमा किसानले स्याउसँग खुर्सानी साटेर बस्नु पर्दैन थियो ।’ यो उनको मात्र होइन, सिंगो गाउँका किसानको समस्या हो । बिक्री हुने ग्यारेन्टी नभए पनि स्याउ खेतीमा आकर्षण बढिरहेको छ ।

उत्पादित स्याउले भने बजार पाउन सकेको छैन । मुगुको शोभा, बाम, ताल्चा स्याउ उत्पादनका पकेट क्षेत्र हुन् । स्याउ उत्पादन हुने अन्य जिल्लामा पनि मोटरबाटो नपुगेकाले ढुवानीमा समस्या छ । ती ठाउँमा स्याउ कुहिएर खेर जाने गरेको छ । मोटरबाटो पुगेका जिल्लामा भने स्याउको क्षेत्रफल बर्सेनि बढ्दो छ । मुस्ताङमा स्याउ खेतीमा आकर्षित हुने नयाँ किसानको संख्या बढेको बागबानी केन्द्र मार्फाका वरिष्ठ बागबानी विकास अधिकृत बालकृष्ण अधिकारीले बताए ।

‘०६४/६५ मा बेनी–जोमसोम मोटरबाटो सञ्चालनमा आएपछि यहाँको स्याउले राम्रो बजार पाउन थाल्यो,’ उनले भने, ‘खेतीमा किसान थपिँदै छन्, बर्सेनि ७० हेक्टर क्षेत्रलफलका दरले खेती विस्तार भइरहेको छ ।’ उनका अनुसार खेती व्यवस्थापनमा भने किसानमा समस्या छ । मुस्ताङको स्याउ पोखरामा खपत हुन्छ । थोरै मात्रामा चितवनको नारायणगढ र काठमाडौं जाने गरेको उनले बताए । बिक्रीका लागि बजारको समस्या छैन । ५ प्रतिशत किसानले मात्र आफैंले बिक्री गर्छन् । अन्यले ठेक्का लगाउने गरेका छन् ।

‘पहिला मोटरबाटो नपुग्दा मुक्तिनाथ आउने तीर्थयात्री स्याउका ग्राहक बन्थे, बजारमा लगेर बिक्री गर्न नपाउँदा किसान निराश थिए,’ उनले भने, ‘अहिले त्यस्तो समस्या छैन, पोखरा, म्याग्दीबाट स्याउ फल्न सुरु गरेदेखि नै बोट ठेक्कामा लिन व्यापारीहरू तँछाडमछाड गर्छन् ।’ एकजना किसानले स्याउ बिक्री गरेर बढीमा वार्षिक सवा करोड सम्म बुझ्ने गरेका छन् । ३० देखि ४० लाख रुपैयाँको स्याउ बिक्री गर्ने किसान धेरै छन् । गत वर्ष ५० करोडको स्याउ बिक्री भएको थियो ।


जिल्लाभरि लगाइएको ३५ प्रतिशत बोटबाट मात्र उत्पादन हुने गरेको छ । अन्य बोट नयाँ छन् । ‘५/७ वर्ष भयो खेती गर्ने नयाँ किसान थपिँदै गएका छन्,’ उनले भने, ‘बिरुवाको माग धेरै छ, धान्न सकिएको छैन ।’ प्रत्येक वर्ष ३० देखि ३५ हजार बिरुवा उत्पादन हुन्छ । बागबानी केन्द्रमा उत्पादन हुने बिरुवा जिल्लामा समेत पठाउने गरिन्छ । पहिला किलोको ५/१० मा बिक्री हुन्थ्यो । अहिले ८०/९० रुपैयाँ पुगेको अधिकारीले बताए । त्यसो त सरकारले ०६८/६९ सालको बजेटमा स्याउ फल्ने पकेट जिल्लाको रूपमा हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, मनाङ र मुस्ताङलाई राखेको थियो । त्यस्तै पछि ०७१/०७२ बाट रुकुमलाई समावेश गरियो । कृषि विभागका वरिष्ठ फलफूल विकास अधिकृत दीपक भट्टराईका अनुसार स्याउ खेतीको क्षेत्रफल बढ्दै गएको छ ।

०७३/७४ को तथ्यांक अनुसार मनाङमा २ सय ५ हेक्टर, मुस्ताङ १ हजार १ सय १५ हेक्टर, डोल्पा ९ सय ५० हेक्टर, जुम्लामा ३ हजार २५ हेक्टर, मुगुमा १ हजार ९०, कालिकोटमा १ हजार ५ सय , हुम्लामा ४ सय ९० हेक्टर र रुकुममा ४ सय ६५ हेक्टर क्षेत्रफलमा स्याउ हुन्छ । ३३ वटा जिल्लामा स्याउ उत्पादन हुन्छ । भट्टराईका अनुसार ०७२/७३ मा मुलुकभर ११ हजार ४ सय ८७ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको थियो ।

०७३/७४ मा उक्त क्षेत्र बढेर १२ हजार १५ हेक्टर पुग्यो । ०७४/७५ को तथ्यांक भने आइनसके पनि क्षेत्रफल बढेको भट्टराईले बताए । स्याउबाट राम्रो आम्दानी हुने भएकाले यो खेतीमा किसान आकर्षित भएका हुन् । सबभन्दा बढी स्याउ जुम्लामा हुन्छ । उक्त जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपर जोन कार्यक्रम सुरु भएको छ । ०७३ मंसिर ९ देखि यो कार्यक्रम लागू भएको बरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताए । उनका अनुसार यो कार्यालयले किसानलाई स्याउको बिरुवा उत्पादन गर्नेदेखि लिएर बगैंचा विस्तार, पुरानो बगैंचाको काँटछाँट र स्याउको बजारीकरण गर्न सघाउंछ ।

‘सिँचाइमा सहयोग गर्ने र स्याउ लगाउनेबारे तालिम पनि दिन्छौं,’ उनले भने, ‘यो कार्यक्रमले किसानलाई राम्रो सहयोग पुगिरहेको छ ।’ उनका अनुसार पहिला किसानले पाखो बारीमा स्याउ लगाउँथे । अहिले पनि पाखोमै धेरै स्याउ छ । जसले गर्दा सिँचाइमा समस्या छ । ‘यो खेतीमा किसानको आकर्षण बढ्दो छ,’ उनले भने, ‘पहिला पाखो बारीमा स्याउ लगाउने किसानले अहिले खेतमा समेत लगाउन सुरु गरेका छन् ।’ उनका अनुसार धान फल्ने खेतमा स्याउ लगाउने किसान बिस्तारै बढ्दै छन् ।

शर्माका अनुसार जुम्लामा गत बर्ष १७ करोडको स्याउ बिक्री भयो । ४ हजारभन्दा बढी किसान छन् । पहिला राम्रो स्याउ फल्ने ठाउँमा अहिले उत्पादनमा कमी हुँदै आएको कृषि विज्ञहरू बताउँछन् । नयाँ ठाउँमा खेती गर्ने क्रम तीव्र छ । ‘मनाङ र मुस्ताङमा पहिला राम्रो स्याउ फल्ने ठाउँमा अहिले घट्दै गएको कुरा आएको छ,’ कृषि विभागका वरिष्ठ फलफूल विकास अधिकृत रामजी देवकोटाले भने, ‘के कारणले ती ठाउँमा स्याउ कम फल्न थाल्यो भनेर कसैले पनि राम्रो अध्ययन तथा अनुसन्धान गरेको छैन तर समस्या पहिल्याउन आवश्यक छ ।’

उनका अनुसार २/३ वर्षयता ती जिल्लाका स्याउ उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका ठाउँमा उत्पादनमा कमी आएको हो । केहीले भने जलवायु परिवर्तनको असर हुन सक्ने औंल्याएका छन् । पहिला हिउँ पर्ने ठाउँमा अहिले पर्न छाडेको छ ।

कहिले लगाउने ?
पुस–माघमा स्याउका बिरुवा रोपिन्छ । लगाएको ५ वर्षपछि मात्र उत्पादन लिन सुरु हुन्छ । कृषि विज्ञहरूका अनुसार पश्चिमी उच्च पहाडी जिल्लामा स्याउ राम्रो उत्पादन हुने गरेको छ । स्याउको व्यावसायिक खेतीका लागि १ हजारदेखि १ हजार ५ सय घण्टा ७ डिग्री सेल्सियसभन्दा कम तापक्रम आवश्यकता पर्छ । स्याउ फल्ने समयमा कम तापक्रम, वर्षा, हिमपात र मौसम बदली भइरहेमा परागसेचन प्रक्रियालाई बाधा पुगी उत्पादन घट्छ । नेपालमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड, फुजीलगायत जातको स्याउ हुन्छ । स्याउ असोजमा टिप्ने गरिन्छ ।

समस्या धेरै
स्याउ उत्पादन हुने जिल्ला सदरमुकाममा यातायात पुगे पनि गाउँमा अझै पुग्न सकेको छैन । जसले गर्दा किसानले उत्पादन गरेको स्याउ बिक्री हुन सकेको छैन । कृषि विभागका वरिष्ठ फलफूल विकास अधिकृत रामजी देवकोटाका अनुसार डोल्पामा राम्रो स्याउ फल्छ । तर, यातायातको सुविधा नहुँदा त्यहाँको स्याउले बजार पाउन सकेको छैन । त्यहाँ यातायात पुगेपछि समस्या नहुने उनले बताए । ‘किसानलाई तालिमको ब्यवस्था गनु पर्‍यो, सहुलियत ऋण उपलब्ध गराउनु पर्‍यो,’ वरिष्ठ फलफूल विकास अधिकृत दीपक भट्टराईले, ‘बजार विस्तार गर्नुपर्‍यो, व्यवस्थापनमा किसानले ध्यान दिनुपर्‍यो ।’

प्रकाशित : श्रावण २७, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?