कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपाली अलैंचीमा चिनियाँ चासो

सम्भाव्यता बुझ्न चिनियाँ टोली आउँदै
भरपर्दो बजार पाउने आशा
आनन्द गौतम

ताप्लेजुङ — अलैंचीको मूल्य लगातार ओरालो लागिरहेका बेला नेपालको अलैंचीको अवस्था अध्ययनका लागि चिनियाँ टोली आउने भएको छ । चीनका उद्योगी, व्यापारी, प्राध्यापक र कृषिविज्ञ सम्मिलित टोलीले किसानदेखि व्यापारी र सरकारी अधिकारीसम्मलाई भेट्ने योजना बनाएका छन ।

नेपाली अलैंचीमा चिनियाँ चासो

चिनियाँ टोली ल्याउन सहजीकरण गरेको इसिमोड नेपालका जनसम्पर्क अधिकृत मीन गुरुङका अनुसार चिनियाँहरूको टोली काठमाडौंबाट भदौ १ गते ताप्लेजुङ पुग्नेछ । यहा फुङलिङ नगरपालिका ६ का किसानले उत्पादन गरेको अलैंचीं हेर्ने र उनीहरूसँग उत्पादनका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

अलैंचीको दाना लागेको र टिप्ने सिजन भएकाले चिनियाँहरू यही मौका पारेर आउन लागेका हुन् । उनीहरूले किसान र व्यापारीले गोदाम गरेर राखेको अलैंची हेर्ने प्रस्ताव पनि गरेका छन् । अलैंची उत्पादन गर्ने किसान, खरिद गर्ने स्थानिय ब्यापारी र स्थानीय तहका जनप्रतिनिधि (जिल्ला समन्वय संयोजक, नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्ष) सँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

यसको समन्वयका लागि यसअघि अलैंचीसम्बन्धी काम गरेको संस्था वातावरण संरक्षण तथा विकास मञ्चलाई अनुरोध गरिएको छ । ताप्लेजुङ नेपालमा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने जिल्ला हो ।

टोलीले अलैंची व्यवसायी महासंघका पदाधिकारीसँग झापाको विर्तामोडमा छलफल गर्नेछन् । उत्पादन तथा निर्यातबारे छलफल हुने अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताएका छन् ।

नेपालबाट चीन निर्यातसम्बन्धी व्यवस्थाबारे पनि छलफल हुनेछ । एक नम्बर प्रदेशमा सबैभन्दा बढी अलैंची उत्पादन हुने भएकाले प्रदेश सरकारसँग पनि चिनियाँ टोलीले छलफल गर्नेछ । नेपालको अलैंची अहिलेसम्म भारत मात्रै निर्यात हुँदै आएको छ । भारतबाट पाकिस्तान र खाडी मुलुकमा निर्यात हुन्छ । विश्व बजारमा पुग्दा नेपाली अलैंची भारतको भएर जाने गरेको छ । नेपालको आफ्नो ट्रेडमार्क नभएकाले भारतमा निर्भर रहनुपरेको हो ।

जसका कारण मूल्य लगातार ओरालो लागिरहेको छ । प्रतिमन (४० किलो) एक लाख १४ हजारसम्ममा बिक्री भएको अलैंचीको मूल्य अहिले झापाको बिर्तामोडमा २८ हजारमा झरेको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, संखुवासभाजस्ता उत्पादन गर्ने जिल्लाका किसानले २४/२५ हजार प्रतिमन प्राप्त गर्दै छन । त्यो पनि जिल्ला सदरमुकाम पुर्‍याएपछि मात्रै । साउनयता त कारोबार ठप्पजस्तै रहेको भट्टराई बताउँछन् ।

अलैंची नेपाल, भारत र भुटानमा उत्पादन हुन्छ । यो सबै भारतकेन्द्रित भएर बिक्री गर्नुपर्छ । पछिल्लो समय चीनले पनि अलैंची उत्पादन गर्छ तर नेपालको जस्तो राम्रो नभएर कालो छ । नेपालले भने ठूला, मझौला र साना गरी तीन किसिमको उत्पादन गर्दै आएको छ । भारतीय बजारको एकाधिकार तोडिए मूल्य बढ्न सक्ने व्यापारीको आशा छ ।

चीनले ठूलो परिमाणमा भित्र्याउन सके खपत गर्ने विषय अध्ययनको पाटो भएको मीन बताउँछन् । व्यवसायी संघका अनुसार नेपालका ४३ जिल्लामा अलैंची उत्पादन हुन्छ । मनको एक लाख रुपैयाँ कटेपछि त नेपालका पहाडी क्षेत्रका किसानले धान, कोदो, मकै फल्ने खेतबारी नै मासेर अलैंची लगाएका छन् । पछिल्ला दिन मूल्य बढेपछि किसानमा निराशा छाएको छ । मूल्य घटबढले आर्थिक रूपमा व्यापारीहरू पनि समस्यामा परेका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?