कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोलभेंडा नबिकेपछि फाल्दै किसान

आनन्द गौतम

हिलिहाङ (पाँचथर) — लागतअनुसार मूल्य नपाएपछि चितवनका किसानले सडकमै दूध पोखिदिएका थिए । आज पाँचथरका किसानहरू गोलभेंडा नबिकेपछि सडकमै फालेका छन् । यी दुई प्रतिनिधि घटना मात्रै हुन् । सरकारको प्राथमिकतामा किसान कहिले नपरेको पुष्टि गर्न यी घटना पर्याप्त हुन सक्छन् । गुनासो गर्दा पनि उनीहरूको आवाज सुनिन्न ।

गोलभेंडा नबिकेपछि फाल्दै किसान

हिलिहाङ गाउँपालिका २ की आइतरानी योङहाङले गत वर्ष यही सिजनमा प्रतिकिलो २० रुपैयाँले गोलभेंडा बेचेकी थिइन् । २२ रोपनीमा लगाएको गोलभेंडाले राम्रो आम्दानी दिएपछि यो वर्ष थप विस्तार गरिन् । त्यहीअनुरूप लगानी पनि गरेकी थिइन् । अहिले भने गोलभेंडा बिक्री हुनै छाडेको छ । बारीमा कुहिन थालेपछि उनी निराश छिन् । उनले उत्पादन गरेको गोलभेंडा झापाको बिर्तामोडबाट आउने ठेकेदारहरूले खरिद गर्थे । तिनीहरू आउनै छाडेपछि गोलभेंडा बारीमा कुहिन थालेको छ । फेरि त्यतिका क्षेत्रफलमा लगाएको गोलभेंडा स्थानीयस्तरमा खपत हुने कुरै भएन ।

श्रम र लगानी खेर गएको भन्दै उनी चिन्तित छिन् । योङहाङ मात्रै हैन हिलिहाङ र याङपकका धेरै कृषकको समस्या उस्तै छ । यी दुई गाउँपालिका गोलभेंडाका लागि पाँचथरका पकेट क्षेत्र हुन् । तत्कालीन कृषि विकास कार्यालयले पकेट क्षेत्र घोषणा गरेसँगै पछिल्लो समय यहाँका अधिकांश किसानले गोलभेंडा लगाएका छन् । कतिपयले टनेल लगाएर र केहीले खुला आकाशमुनि खेती गरेका छन् ।

यहाँ उत्पादित गोलभेंडा गत वर्षसम्म झापाको चारआली, बिर्तामोड, काँकरभिट्टा हुँदै भारतको पानीटयांकी, सिलिगुडी निर्यात भएको थियो । यो वर्षको सुरुको सिजनमा पनि केही व्यापारी आएका थिए । तर, अहिले बिक्री नै ठप्प भएको छ । आइतरानीजस्ता किसानलाई किन बिक्री भएन पत्तो छैन । सरकारी अधिकारीले यसरी रोकियो, यसरी जोगाउनुहोस् भनेर सिकाउन आएका पनि छैनन् । तर, बारीको कमाइ भने दिनानुदिन कुहिरहेको छ ।


गोलभेंडा कुहिन थालेपछि र बिक्रीको विकल्प कसैले नदिएपछि किसान भने आन्दोलित भएका छन् । उनीहरूले आफ्ना उत्पादनहरू नजिकैको मेची राजमार्गमा लगेर फालिदिएका छन् । किसानको पीडा सरकारले सुनोस् भनेर सडकमा मिल्काएको हिलिहाङ १ का किसान प्रकाश उप्रेतीले बताए । हिलिहाङ १ को भालुचोक, मुकुबुङ, याङवरकको सुनुवारघुम्ती, गणेशचोक र हिलिहाङ चोकमा गोलभेंडा फालेका हुन् । उनीहरूले क्यारेट, डोको र डालोमा ल्याएको गोलभेंडा सडकमा फालिदिँदा सडक राताम्मे भएको छ । लाखौंका कृषि उपज खेर जाँदा सरकार मौन भएपछि र कूटनीतिक पहल नगरेपछि सडकमा मिल्काउनुको विकल्प नभएको उनीहरू बताउँछन् । उनीहरूले गोलभेंडा बिग्रने वस्तु भएकाले तत्काल समाधानका लागि पहल गरिदिन सरकारसँग अनुरोध गरेका छन् ।

अर्का किसान लीला ढकालले भने, ‘खाइनखाई गरेर झरीबादल नभनी खेती गरियो अहिले विषादी छर्ने आम्दानीसम्म नहुँदा सरकार मुकदर्शक भएर बस्छ भने हामी पनि चुप लागेर कसरी बस्ने ?’ निर्यात ठप्प भएको महिनादिनसम्म स्थानीय प्रदेश र केन्द्र कुनै तहका सरकारले पनि विकल्पका विषयमा ध्यान नदिएको गुनासो किसानको छ । विगतमा लगानी उठ्ने गरी निर्यात हुन थालेपछि यहाँका किसानले धान, कोदो, मकैलगायतका अन्नबाली छाडेर गोलभेंडा खेतीमा लागेका थिए । यहाँ उत्पादित गोलभेंडाले २० देखि ६० रुपैयाँ प्रतिकिलो घरमै आम्दानी गरेको थियो ।

कतिपयले गोलभेंडा खेतीका लागि बैंक, वित्तीय संस्था र सहकारीबाट ऋणसमेत लिएको नागीका तारा भारती बताउँछन् । सबै खेर गए किसानका थाप्लामा थप ऋण थुप्रिने गुनासो पनि किसानहरूको छ । असार तेस्रो सातादेखि यहाँको गोलभेंडा निर्यात ठप्प छ ।

भारतले नेपालबाट आयात गर्ने सामग्रीको सूचीमा गोलभेंडाको सूची नरहेको भन्दै भन्सारबाटै फकाइदिनेगरेको छ ।तत्कालीन जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्यांकअनुसार गत वर्ष यी दुईवटा गाउँपालिकाबाट मात्रै ३ करोड २८ लाख रुपैयाँ बराबरको गोलभेंडा बाहिरिएको थियो । यो वर्ष भने गोलभेंडाको मुख्य सिजनमै बिक्री नहुँदा जिल्लामा भित्रिने रकम प्रभावित भएको छ ।

प्रकाशित : श्रावण ८, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?