काठमाडौँ — पछिल्ला महिनाहरूमा लगातार तीव्र रूपमा बढिरहेको शोधनान्तर घाटा गत जेठमा साँघुरियो ।
मुलुक भित्रिने र बाहिरिने रकमको विवरण देखाउने शोधनान्तर स्थिति गत जेठमा ४ अर्ब ३४ करोड रुपैयाँले घाटामा छ ।
शोधनान्तर र चालु खातामा गत वर्षदेखि नै चाप पर्न थालेको थियो । गत आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहेको थियो । यो आर्थिक वर्षको सुरुका दुई महिनामा पनि पुरानै प्रवृत्ति दोहोरियो र शोधनान्तर ऋणात्मक बन्यो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर बचतमा देखिए पनि आकार घट्दै गएको थियो । त्यसपछिका सबै महिनामा शोधनान्तर लगातार घाटामा छ ।
अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर फराकिलो बन्दै गएकाले अवस्था चुनौतीपूर्ण बन्दै गएको अर्थविद्हरूले जनाएका छन् ।
चालु आर्थिक वर्षको ११ महिनामा ६ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिटयान्स ५.८ प्रतिशतले बढेको थियो ।
गएको ११ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २४.६ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । यस्तो परिसूचक अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
यसैगरी ०७५ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.१ प्रतिशत पुगेको छ । यस्तो मूल्यवृद्धिदर ०७४ जेठमा २.८ प्रतिशत थियो । खाद्य वस्तुको मूल्यमा आएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा समग्र मूल्य वृद्धिदर बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।