कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

डलर पाँच वर्षयताकै महँगो

भारतीय अर्थतन्त्र कमजोर हँुदै गएको प्रभाव
यज्ञ बञ्जाडे

काठमाडौँ — केन्द्रीय बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय १० रुपैयाँ २८ पैसा (बिक्रीदर) तोकेको छ । यो करिब पाँच वर्षयताकै उच्च हो । ०७० साउनमा एक अमेरिकी डलरको विनिमयदर करिब १ सय १२ रुपैयाँ थियो ।

डलर पाँच वर्षयताकै महँगो

यस्तै बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ ४३ पैसा तोकेको छ । यो पनि केही वर्षयताकै उच्च हो ।

पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो बन्दै गएको छ । स्वदेशी अर्थतन्त्रका कारणले नभई भारतीय अर्थतन्त्रमा देखिएको नकारात्मक गतिविधिको प्रभावले नेपाली मुद्रा अवमूल्यन भएको हो । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेरु पनि कमजोर र बलियो हुँदा बलियो हुन्छ । अहिले पनि त्यही भएको हो ।

पछिल्लो समयमा सबै उदीयमान राष्ट्रका (इमर्जिङ कन्ट्री) अर्थतन्त्रमा समस्या देखिन थालेका छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै ती राष्ट्रको आर्थिक गतिविधि प्रभावित हुन पुगेको हो । यही असर भारतीय अर्थतन्त्रमा पनि परेकाले डलरको तुलनामा भारु कमजोर बन्दै गएको विज्ञहरू बताउँछन् ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतको चालु खाता घाटा त्यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) तुलनामा २ प्रतिशतभन्दा बढी पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । ‘पेट्रोलियम पदार्थको मूल्य अझै बढ्दो प्रवृत्तिमा रहेकाले चालु खाता घाटा अझै फराकिलो बन्ने देखिन्छ,’ पूर्व कार्यबाहक गभर्नर कृष्णबहादुर मानन्धरले भने, ‘यसो भएको अवस्थामा डलरको तुलनामा भारु झनै कमजोर हुन्छ ।’ अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याजदरमा गरेको वृद्धि पनि भारु कमजोर हुनुको अर्को एउटा कारण रहेको मानन्धरको भनाइ छ ।

फेडले अझै दुईपटक ०.२५/०.२५ प्रतिशत विन्दुका दरले ब्याज बढाउने पूर्वानुमान छ । त्यसो भएमा अमेरिका र भारतको ब्याजअन्तर साँघुरो हुने भएकाले विदेशी लगानी निरुत्साहित हुनेछ । यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले भारतबाट बाहिरिने रकम बढ्दो छ ।

विदेशी लगानी उल्लेख्य रूपमा बढ्न नसकेको र आयातबापत बाहिरिने रकम बढदै गएकाले भारु कमजोर बन्दै गएको विज्ञहरूको दाबी छ । पछिल्लोपटक ०७३ मंसिर ७ गते नेरुसँग अमेरिकी डलरको विनियम दर १ सय ९ रुपैयाँ खरिद दर थियो । उक्त अवधिमा बिक्रीदर १ सय १० रुपैयाँ नाघेको थियो ।

यसअघि सन् २००८/०९ मा अमेरिकी अर्थतन्त्र समस्यामा हुँदा त्यहाँको केन्द्रीय बैंकले मुद्रा आपूर्ति बढाएको थियो । त्यसले उदीयमान अर्थतन्त्रको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्‍यो । हाल त्यहाँको अर्थतन्त्रमा भएको सुधारसँगै फेडले मुद्रा आपूर्ति नबढाएर ब्याजदर वृद्धि गरिरहेको छ । यसकारण पछिल्ला दिनमा अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएकाले डलरको तुलनामा भारु कमजोर बनेको हो ।

भारु कमजोरसँगै नेपाली मुद्रा पनि प्रभावित भएको हो । बुधबार एक अमेरिकी डलरको विनिमय दर भारु ६८ रुपैयाँ ७३ पैसा छ । डलर महँगो हुँदा रेमिटयान्स आप्रवाह र निर्यातबाट राष्ट्रलाई फाइदा हुन्छ । पर्यटनको आम्दानी आयात उच्च रहेको हाम्रो राष्ट्रमा विदेशी वस्तु खरिदका लागि धेरै रकम खर्चिनुपर्ने भएकाले अर्थतन्त्रलाई नकारात्मक असर पर्छ ।

प्रकाशित : असार २१, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?