१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नेपाल–भारत ऊर्जा वार्ता: विद्युत् मूल्य नबढाउन आग्रह गरिने

काठमाडौँ — नेपाल–भारत ऊर्जा व्यापार समितिको यो साता बस्ने बैठकमा नेपाली पक्षले विद्युत् मूल्य नबढाउन भारतीय पक्षसँग आग्रह गर्ने भएको छ । समितिको बैठक यही बिहीबार र शुक्रबार नयाँदिल्लीमा बस्ने तय भएको छ ।

नेपाल–भारत ऊर्जा वार्ता: विद्युत् मूल्य नबढाउन आग्रह गरिने

बैठकमा भाग लिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली बुधबार नयाँदिल्ली जाँदै छ ।


भारतको केन्द्रीय विद्युत् प्राधिकरणका अधिकारीसँग विभिन्न विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । बैठकमा विद्युत् खरिद दर, विद्युत् परिणाम र व्यापारका मोडालिटीबारे छलफल हुने अधिकारीले जानकारी दिए ।


बैठकमा नेपालले भारतबाट खरिद हुने विद्युत्को महसुल नबढाउन आग्रह गर्ने तयारी गरेको छ । नेपालले विभिन्न अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् खरिद गर्दै आएको छ । अहिले प्राधिकरणले १३२, २२ र ११ केभी क्षमताका प्रसारण लाइनमार्फत भारतबाट विद्युत् आयात गरिरहेको छ । नेपालले १३२ केभीको प्रसारण लाइनमार्फत आयात गर्ने विद्युत्को औसत मूल्य प्रतियुनिट ५ दशमलव ५५ भारु पर्छ । तर, ३३ केभी र ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात गर्ने विद्युत्को औसत मूल्य क्रमश: ६ भारु र ६ दशमलव ४५ भारु पर्छ ।


नेपाल विद्युत् प्राधिकरणले भारतबाट खरिद गर्ने विद्युत्को मूल्य यही समितिले निर्धारण गर्नेछ ।


अहिले भारतीय बजारमा विद्युत् महसुल बढेको छ । यसैलाई आधार मानेर भारतीय पक्षले नेपाल आयात हुने विद्युत्को महसुल दर पनि बढाउने सम्भावना छ । तर, प्राधिकरणको टोलीले विद्युत्को दर महँगो नबनाउन आग्रह गर्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।


समितिको बैठक सकिएपछि प्राधिकरण टोलीले भारतीय केन्द्रीय विद्युत् प्राधिकरणका अधिकारीसँग प्रस्तावित इनर्जी बैंकिङको विषयमा पनि छलफल गर्ने कार्यक्रम तय छ । नेपालले भारतसमक्ष एक अर्काको देशलाई बढी भएको विद्युत् आदानप्रदान गर्ने र आवश्यक पर्दा लिने इनर्जी बैंकिङको प्रस्ताव राखेको छ । जसले नेपालमा वर्षायाममा बढी भएको विद्युत् भारत लैजाने र आवश्यक पर्दा नेपाल ल्याउने विकल्प दिनेछ । इनर्जी बैंकिङको विषय प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेलामा पनि उठेको थियो । प्राधिकरणले भारतीय निकायलाई यसअघि नै इनर्जी बैंकिङबारे आफ्नो लिखित प्रस्ताव पठाइसकेको छ । तर, भारतीय निकायबाट त्यसबारे कुनै जवाफ नआएको प्राधिकरणले जनाएको छ ।


नेपाल विद्युत् प्राधिकरणले भारतीय केन्द्रीय विद्युत् प्राधिकरणलाई पठाएको प्रस्तावमा नेपाल र भारत इनर्जी बैंकिङका लागि उपयुक्त मोडल भएको उल्लेख छ । नेपालमा वर्षायाममा विद्युत् बढी हुने र भारतमा वर्षायाममा कृषिजन्य कार्यका लागि विद्युत् माग उच्च हुने भएकाले दुवै देशले एक अर्कालाई आवश्यक परेको बेलामा विद्युत् आदानप्रदान गर्न सक्ने प्रस्तावमा उल्लेख छ । ‘बैठकमा भारतीय अधिकारीसँग इनर्जी बैंकको प्रस्तावबारे छलफल गर्छौं,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने ।


यस्तै उक्त बैठकमा प्रस्तावित बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनका विषयमा पनि छलफल हुने भएको छ । वैशाखमा बसेको नेपाल–भारतबीचको ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त बैठकले ४०० केभीको उक्त प्रसारण लाइन निर्माणको मोडालिटीबारे संयुक्त रूपमा सुझाव दिन नेपाल र भारतका विद्युत् प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

प्रकाशित : असार २०, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?