१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बेतन कर्णालीको डीपीआर तयार हुँदै

आयोजनाको लागत करिब ७० अर्ब
प्रकाश अधिकारी

सुर्खेत — कर्मचारी सञ्चय कोषले ६ सय ८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि बढाएको छ ।

बेतन कर्णालीको डीपीआर तयार हुँदै

प्रवर्द्धक कम्पनी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडले डीपीआर अध्ययन लगत्तै टेन्डर प्रक्रियामा जाने तयारी गरेको छ । यसका लागि कम्पनीले वित्तीय स्रोत जुटाइसकेको छ । आयोजना निर्माणमा कम्तीमा ७० अर्ब लागत खर्च हुने अनुमान छ ।

सुर्खेत–कैलाली जिल्लाको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा निर्माण हुने यो आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले बेग्लै कम्पनी दर्ता गरिसकेको छ । ‘कम्पनी दर्ता, उत्पादन लाइसेन्स पाइसकेका छौं,’ बेतन कर्णाली सञ्चय कोष हाइड्रोपावर लिमिटेडका परामर्शदाता श्रीराम शेखर अधिकारीले भने, ‘डीपीआर अध्ययन हुँदै छ छ, फाइनान्सियल क्लोजर भइसक्यो ।’ सञ्चयकोषले सेयरका साथै ऋण जुटाइसकेको छ । नबिल र एसबीआई बैंकले सहवित्तीयकरण कर्जा लगानी गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिसकेका छन् । नेपाल विद्युत् प्राधिकरणको मुख्य सेयर भएको एक इन्जिनियरिङ कम्पनीले डीपीआर अध्ययन गरिरहेको छ । ०१७ अक्टोबरदेखि उसले डीपीआर अध्ययन थालेको हो । कोषका अनुसार एक वर्षभित्र डीपीआर अध्ययन सम्पन्न हुनेछ ।

प्रारम्भिक अध्ययनअनुसार सुर्खेतको चौकुने गाउँपालिकामा पर्ने बेतान र कैलालीको सुगरखालमा रहने गरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना निर्माण हुनेछ । अर्ध जलाशययुक्त भएकाले विद्युत्को उच्चतम माग हुने समयमा धेरै उपयोग हुने देखिएको छ । प्रि–कन्स्ट्रक्सन, पहुँचमार्ग निर्माण र डीपीआरको काम सँगसँगै अघि बढाइएको छ ।

आर्थिक अभावले आयोजना निर्माणमा कुनै ढिला नहुने सञ्चय कोष र प्रवद्र्धक कम्पनी दुवैको दाबी छ । ‘पिक आवर’ मा विद्युत्को माग धान्न कठिन भएकाले दीर्घकालीन समाधानका लागि बेतन कर्णाली निर्माणको जिम्मेवारी लिएको कोषका कर्मचारीहरू बताउँछन् । सुरुका दुई वर्ष सर्वेक्षण (अब एक वर्ष बाँकी) र पाँच वर्षभित्र निर्माण सुरु गर्ने कम्पनीको तयारी छ ।

नेपाली लगानी र प्रविधि प्रयोग गरी निर्माण गर्न थालिएको आयोजनामा निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब ६ लाख सञ्चयकर्तालाई लगानी गर्न अवसर प्रदान गरिनेछ । कम्पनीमा कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको १०, सञ्चयकर्ताको ४० प्रतिशत सेयर रहनेछ । त्यस्तै प्रभावित बासिन्दाका लागि १० र सर्वसाधारणका १५ प्रतिशत छुटयाइएको छ । कोषले गत वर्ष १ अर्ब २९ करोड सेयर (इक्विटी) लगानी गर्ने निर्णय गरिसकेको छ ।

नाफाको ८० प्रतिशत आफ्ना सञ्चयकर्तालाई प्रदान गर्दै आएको सञ्चय कोषले अब नाफा वितरण नगरी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्नेछ । सञ्चयकर्ताहरूले नाफाबापत पाउने रकमको ब्याजसमेत जोडेर सो बराबरको सेयर बाँडिनेछ । सञ्चय कोषसँग हाल २ खर्ब ५६ अर्ब रुपैयाँको कोष छ । जसबाट उसले वार्षिक डेढ अर्ब कमाउने गरेको छ ।

कोषले सञ्चयकर्ता लगानीकर्ताको लगानी सुनिश्चितता गर्न मुनाफाको रकमलाई सेयरमा परिवर्तन गर्नेसम्बन्धी विनियमावली जारी गरिसकेको छ । यही रकमलाई जम्मा पार्दै सञ्चयकर्ताको तर्फबाट ४० प्रतिशतको लगानी सुनिश्चितता गरिनेछ । कोषले आव ०७२/७३ देखि नै आयोजनाका लागि ३ अर्ब बराबर रकम सुरक्षित गरिसकेको छ । स्वदेशी लगानीको माथिल्लो तामाकोसीपछि कोषले अगाडि बढाउन लागेको यो दोस्रो ठूलो आयोजना हो ।

प्रारम्भिक अध्ययनले सुर्खेतको चौकुने गाउँपालिकामा पर्ने साबिकका बेतान, छाप्रे, गुटु, बिजौरा र पञ्चपुरी नगरपालिकाको विद्यापुर तथा अछाम जिल्लाका साबिकका गाविस ढुंगेचाल्ना, नारायणपुर, तुर्माखाँद र कैलाली जिल्लाको सुगरखाल क्षेत्र प्रभावित हुने जनाएको छ ।

प्रकाशित : असार १४, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?