कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ढाड सेक्ने महँगी

‘मूल्य नबढेको कुनै सामान नै छैन । कुन सामानको मूल्य कति बढयो भन्ने मात्र हो ।’

बझाङ/दार्चुला — महाकाली नगरपालिका ३ दार्चुलाकी द्रोपती भट्टले वैशाखको अन्तिम साता ४० किलोग्रामको मोटा चामल १ हजार ६ सय रुपैयाँमा किनेकी थिइन् । जेठ २० तिर त्यही परिमाणको मोटा चामल किन्न जाँदा पसलेले मूल्य बढेको भन्दै १ हजार ८ सय लिए ।

ढाड सेक्ने महँगी

दैनिक ज्याला मजदुरीको भरमा परिवार चलाइरहेकी उनी एक महिनाको अवधिमा यसरी चामलको भाउ बढेको सुनेपछि छक्क परिन् । ‘एक महिनामै बोरामा २/२ सय बढाएछन् । हामीजस्ता गरिबले त बाँच्नै मुस्किल भयो,’ उनले भनिन् ।

जेठको दोस्रो सातासम्म ५० किलो मोटा चामलको बोरा २ हजारमा खरिद गरेको बताउने बझाङको जयपृथ्वी नगरपालिकाका कैलाशका भरत कामी पनि जेठ २८ को चामलको भाउ बढेर २ हजार २ सय ५० पुगेको सुन्दा चकित परे । व्यापारीहरूले मनपरी मूल्य बढाएर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै उनले आक्रोश पोखे । कामीले भने, ‘यो त अचाक्ली भयो । यत्रो मूल्य कसरी बढयो भनेर सोध्दा लिने भए लेऊ नलिने भए नलेऊ भन्छन् । भोकै बस्न पनि सकिँदैन ।’

माथि उल्लेख भएको चामलको मूल्यसूची दार्चुला सदरमुककाम खलंगा र बझाङ सरदरमुकाम चैनपुरको हो । सदरमुकामभन्दा ३/४ किलोमिटर टाढाका गाउँहरूमा मोटो चामल ५० किलोको बोराको २ हजार ८ सयदेखि ३ हजार १ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय उपभोक्ताहरू बताउँछन् । झन् यातायातको सुविधा नपुगेका दुर्गम गाउँहरूमा त यही चामल ६ देखि ८ हजारमा बिक्री भइरहेको साइपाल गाउँपालिकाका वसन्त बोहराले बताए ।

‘चामल मात्र हैन प्रत्येक सामानको मूल्य बढेको छ ।’ बझाङ सदरमुकाम चैनपुरका खुद्रा व्यापारी नवराज जोशीले भने, ‘होलसेल पसलबाट नै मूल्य बढेर आएपछि हामीले पनि बढाउनैपर्‍यो । धनगढीबाट नै मूल्य बढेर आएको छ भन्छन् ।’ उनले दैनिक उपभोग्य सामानमा सबैभन्दा बढी तेलको मूल्य बढेको बताए । बजेट भाषणअघि ८० रुपैयाँमा बिक्री हुने आधा लिटर सनफ्लावर तेलको मूल्य बजेटलगत्तै बढेर ९० रुपैयाँ पुगेको बताए ।

चाउचाउ, बिस्कुट, पिठो, मैदा, दाल, मसला आदि सबैको मूल्य बढेको बताउँदै अर्का खुद्रा व्यापारी धर्मलाल बोहराले भने, ‘मूल्य नबढेको कुनै सामान नै छैन । कुन सामानको मूल्य कति बढयो भन्ने मात्र हो । सबै सामानको मूल्य बढेकै छ ।’

बजेट भाषणलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा सामानको मूल्य अस्वाभाविक रूपमा बढेपछि उपभोक्ताहरू मारमा परेका छन् । दैनिक उपभोग्य सामानको मूल्य अकासिएपछि न्यून आए भएका सर्वसाधरणहरू चुलो बाल्न सकस भइरहेको बताउँछन् ।

व्यापारीले मनपरी ढंगले मूल्य बढाएको र नियन्त्रण गर्ने निकाय पनि मौन रहेको बताउँदै दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरका रामसिंह साउदले भने, ‘सबै मिलेरै बढाएका होलान् । नभए यसरी मनपरी मूल्य बढाउँदा किन कारबाही भएन त ?’ उनले १५ दिनको अन्तरालमा बढेको सामानको मूल्य सुनाउँदै उनले भने, ‘खानेतेल लिटरमा १५ देखि २० रुपैयाँ बढेको छ, चिनी, दाल, पिठो तरकारीलगायत अन्य सामानको बजार भाउ किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ ।’

सरकारले बजेट भाषणमार्फत विभिन्न वस्तुहरूमा करको दर बढाउने भनेपछि व्यापारीहरूले मूल्य बढाएको बताउँछन् । मूल्य वृद्धिको असर जिल्लाको सदरमुकामभन्दा ग्रामीण क्षेत्रका बजारमा झन् चर्काे छ । दाचुर्लाको गोकुलेश्वर, शंकरपुर, ग्वानी, लटिनाथ, नौगाड, खण्डेश्वरीलगायत बजारमा दैनिक उपभोग्य र अन्य वस्तुहरूको भाउ छोइनसक्नु गरी बढेको उपभोक्ताको गुनासो छ । यस्तै बझाङको बित्थड, देउलेक, बागथला, विजगडा, झोता, झनाना, मौरीबगर, तमैल, रूपतोला, तल्कोटलगायतका ग्रामीण क्षेत्रका बजारहरूमा पनि सदरमुकामको भन्दा निकै नै चर्काे मूल्य असुल गरेर सामान बिक्री भइरहेको उपभोक्ताहरूको भनाइ छ ।

व्यापारीहरूले पहिले नै खरिद गरेको सामानमा कालोबजारी गरेर मूल्य वृद्धि गरेको गुनासो स्थानीयहरूको छ । ‘रातारात कसरी मूल्य वृद्धि हुन्छ ?’ चैनपुरका एक उपभोक्ता चक्र बोहराले भने, ‘पहिले नै ल्याएर गोदाममा राखेको सामानमा कालोबजारी भइरहेको छ । यो सरासर ठगी हो,’ उनले मदिरा र सुर्तीजन्य उत्पादनहरूमा ५० प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको बताउँदै व्यापारीहरूले बेइमानी गरिरहेको आरोप लगाए । उनले भने, ‘बजेटको कारणले बढेको भए साउनबाट बढ्नुपर्ने, भाषण हुने बित्तिकै मूल्य वृद्धि हुने भन्ने पनि हुन्छ र ?’

दाचुर्लाका ग्रामीण भेगमा मूल्य वृद्धि भए पनि सदरमुकाम खलंगा र महाकाली तटीय क्षेत्रका बजारमा नेपाली वस्तुको कम प्रयोग गरिने हुँदा थोरै वस्तुको मात्र मूल्य बढेको खलंगाका व्यापारी देवदत्त भट्टले बताए । उनले भने, ‘महाकाली वेल्टमा भारतीय बजारबाट दैनिक उपभोग्यलगायत सामग्रीहरू आयात गरिने हुँदा यहाँ खासै प्रभाव परेको छैन ।’ यो क्षेत्रमा नेपाली वस्तुहरूमा बिलासिताका सामग्री प्रयोग गरिने हुँदा ती वस्तुको भने मूल्य बढेको नै छ । महाकाली तटीय क्षेत्रका व्यापारीहरू पनि दैनिक उपभोग्य र बढी किनमेल हुने सामानहरू भारतीय बजारबाट ल्याएर बिक्री गर्ने गर्छन् ।

बजेट भाषण भएलगत्तै सबै सामानको मूल्य वृद्धि भएर आएकाले आफूहरूले बढेको मूल्यमा सामान बिक्री गरेको थोक व्यापारीहरू बताउँछन् । ‘बजेट भाषण हुनुपूर्व आएका वस्तुमा मूल्य बढाएका छैनौं,’ दाचुर्ला गोकुलेश्वरका व्यापारी रमेश भण्डारीले भने, ‘बजेट भाषणपछि आएको मालमा उतैबाट मूल्य बढाएर पठाएको छ । हामी आफैं मूल्य बढाउँदैनौ, उताबाट बढेर आएपछि के गर्नु ?’ बझाङका थोक बिक्रेताहरूको पनि तर्क यस्तै छ । तलबाट बढेर आएका कारण आफूहरूले सोही मूल्यमा सामान बिक्री गरेको बझाङका बिक्रेता जगत मल्लले बताए ।

यहाँका बजारमा धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगन्जबाट सामान आउने गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि ढुवानी भाडा पनि बढेका कारण सामानको मूल्य वृद्धि भएको व्यापारीहरूको तर्क छ ।

बजार मूल्यले आकाश छुन थाले पनि यसको नियन्त्रणको जिम्मा लिएका निकायहरू भने आफूहरूकहाँ गुनासो नै नआएको बताउँछन् । ‘अहिलेसम्म लिखित रूपमा बजारमा वस्तुको मूल्य बढयो भनेर उजुरी आएको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले भने, ‘दुई दिनअघि मदिरा र सुर्तीजन्य सामानको मूल्य बढेको गुनासो मौखिक रूपमा आएको थियो ।’ कसैले मूल्य बढेको लिखित उजुरी गरे आकस्मिक बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्ने उनको भनाइ छ । ‘सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रशासनले बजार अनुगमन गरेको एक महिना नपुगेको हुनाले तत्काल बजार अनुगमनमा जाने कुरा भएन,’ उनले भने, ‘उजुरी आए प्रशासनले आकस्मिक रूपमा भए पनि बजार अनुगमन गर्न सक्छ ।’

यता बझाङका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले महँगी बढेको विषयमा निकै नै गुनासो आएको बताउँदै तत्काल अनुगमन गर्ने तयारी भइरहेको बताए । ‘सबैतिर मूल्य बढेको खबर आएकाले केन्द्रबाट कुनै निर्देशन आउँछ कि भनेर पर्खेका थियौं,’ उनले भने, ‘आइतबारबाट अनुगमन गरेर मनपरी गर्नेलाई कारबाही गर्छाैं ।’

प्रकाशित : असार २, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?