१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बजेटले नाग्चेनाग्ला नाकालाई छोएन

राजबहादुर शाही

मुगु — तिब्बत जोड्ने नाक्चेनाग्ला नाकाका लागि आगामी वर्षको बजेटमा रकम विनियोजन नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । सरकारले नाका खोल्ने विषयमा प्रतिबद्धता जनाए पनि बजेट नछुट्याएको उनीहरूको भनाइ छ ।

बजेटले नाग्चेनाग्ला नाकालाई छोएन

नाक्चेनाग्ला नाकालाई राष्ट्रिय गौरवको आयोजनामा समेटेर पर्याप्त बजेट विनियोजन गर्न माग गर्दै कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनको क्रममा रारा आएका प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाइएको थियो । प्रधानमन्त्रीले समेत सम्बोधनका क्रममा पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

मुगुको नाका सबैभन्दा छोटो भएकाले पर्याप्त बजेट विनियोजनका लागि सरकारलाई पटक–पटक आग्रह गरिएको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले बताए । ‘जिल्लावासीको पटक–पटकको मागलाई सुनुवाइ नगरी उत्तरी नाकालाई ओझेलमा पार्न खोजियो,’ उनले भने, ‘बजेट सार्वजनिक हुनुभन्दा एक साताअघि मात्रै मुगुका सबै सांसदलाई यसबारे ध्यानाकर्षण गराइएको थियो ।’

पर्याप्त बजेट विनियोजन नभएकाले तिब्बत जोड्ने नाका ओझेलमा परेको स्थानीय सञ्चारकर्मी नृपेन्द्रबहादुर मल्लले बताए । उनले हरेक वर्ष डेढ/दुई मात्र बजेट विनियोजन हुने गरेकाले निर्माणमा समस्या भएको जनाए । रकम बर्सेनि विनियोजन हुने गरे पनि ठेकेदारले समयमै काम नगर्दा सडक निर्माणले गति लिन नसकेको उनको भनाइ छ ।

२०६८ सालदेखि निर्माण सुरु गरिएको ८५ किलोमिटर लामो सडकको अहिलेसम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । कार्यालयका अनुसार अझै ६८ किलोमिटर बाँकी रहेको छ ।मुगुको उत्तरी नाका सञ्चालनका लागि पटक–पटक माग गरिए पनि बेवास्ता गरिएको प्रतिनिधिसभा सदस्य गोपाल बमले बताए । उत्तरी नाकाको सडक निर्माणलाई गति दिन नाक्चेनाग्ला सडक निर्माण परियोजना स्थापना गरिए पनि कार्यान्वयन हुन सकेको छैन । गत वर्ष स्थापना गरिएको उक्त परियोजनाको कार्यालयसमेत स्थापना हुन सकेको छैन । परियोजनाले सरकारलाई सडक निर्माणका लागि २६ करोड बजेट माग गरेको थियो ।

प्रकाशित : जेष्ठ २०, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?